१७ कार्तिक २०८१, शनिबार | Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई कालोझन्डा देखाउने क्रममा झडप, दुई प्रहरी घाइते, दुई आन्दोलनकारी नियन्त्रणमा



झापा । कोसी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झापामा झडप भएको छ। झडपको क्रममा इन्स्पेक्टरसहित दुई प्रहरी र केही आन्दोलनकर्मी घाइते भएका छन्। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो गृह जिल्ला झापा आएका थिए। एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रमस्थल नजिकै पहिचानवादीहरूले उनलाई कालोझन्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए। उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए। 

सोही क्रममा सशस्त्र र नेपाल प्रहरीले पहिचानवादीहरूलाई मेची राजमार्गमै छेक्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो। 

पहिचानवादीहरूले प्रहार गरेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर अनिल मावोहाङ् र सहायक हवल्दार सुमित राजवंशी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

घाइते दुवै प्रहरीको टाउको चोट लागेकोले बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। यता प्रहरीले दुई जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ। 

बुलेट किराँती र मित्र लिम्बुलाई नियन्त्रणमा लिएको डीएसपी रिजालले बताए। ‘आन्दोलनकारीहरूमाथि प्रहरीले बल प्रयोग गरेको थिएन, उनीहरूलाई छेक्नमात्र खोजेको थियो,’ उनले भने, ‘त्यही बेला भीडबाट एक्कासि प्रहरीमाथि ढुंगा प्रहार भयो, अनि प्रहरीले लाठीचार्ज गर्नुपर्‍यो।’ कार्यक्रमस्थल बाहिर तनावग्रस्त बनेपनि एमाले अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गरी इलामतर्फ लागिसकेको बताइएको छ। 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *