काठमाडौं । जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे,सिंचाई आयोजना (सीआईपी) का इन्जिनियर महेश सिंह कठायत, वडानम्बर ९ का वडाध्यक्ष परुनाथ योगीसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साविकको कालै गाउँपालिका-४ हाल सोरु गाउँपालिका-९ स्थित तन्दवाडा-छड सिंचाई आयोजनामा आयोजनाको अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाइ इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट कम प्रयोग गरी गुणस्तरहीन काम गरी २६ लाख ८२ हजार १४ रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ।
तत्कालीन कार्यालय प्रमुख इन्जिनियर पाण्डे,जिल्ला प्राविधिक कार्यालय मुगु सामुदायिक सिंचाई आयोजनाका इन्जिनियर कठायत,साविकको कालै गाउँविकास समितिमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिंचाई आयोजनामा खटिएका सर्जनबहादुर शाहीले नभए नगरेको कामको समेत भए गरेको भन्ने गलत प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेकाले सोही दफाको १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय मागदावी गर्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले जानकारी दिए।
उनीहरूविरुद्ध २६ लाख ८२ हजार १४ रुपैयाँ बिगो माग गरिएको छ। तन्दवाडा सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर शाही, सचिव वैदेवी शाही र कोषाध्यक्ष रुपा शाहीविरुद्ध २६ लाख ८२ हजार १४ रुपैयाँ बिगो ,कैद र सजाय माग गरिएको छ।
यसैगरी सामुदायिक सिंचाई आयोजना अन्तरगत परामर्शदातृ संस्थामार्फत् खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढाथापालाई २६ लाख ८२ हजार १४ रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ।







प्रतिक्रिया