२९ चैत्र २०८१, शनिबार | Apr 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हराउँदै माटो जोगाउने खेती



टीकापुर । कैलालीको टीकापुर नगरपालिका—५ की ८२ वर्षीया उदासिया थारू चैत्र पहिलो साता गाउँमा मसुरोको खोजी गर्दै थिइन्। उनको १५ जनाको ठूलो परिवार, झन्डै ९ बिघा खेतीयोग्य जमिन भएकी उदासियालाई वर्षभरिका लागि चाहिने मसुरो खोज्न गाउँ पस्नु पर्दा दिक्क लागेको छ। छोरा, बुहारी कोही जागिरतिर त कोही विदेशतिर हुँदा उनको खेतबारीमा गहुँमात्रै फल्यो। खानका लागि चाहिने गहुँ फले पनि मसुरो भने फलेन। 

‘यी चलन ठीक नाइ लागल, आजकल्के किसान हुक्रे सस्तामे गहुँ बेच्ठै, ओ महँगामे मसरी किन्ठै (यो चलन ठीक भएन, आजकलका किसानहरू सस्तोमा गहुँ बेच्छन् र महँगोमा मसुरो किन्छन्),’ उदासियाले ऊ बेलाको खेती सम्झिन्, ‘हामी ऊ बेला गहुँमै मसुरो, लाह (तोरी), केराउ लगाउथ्यौं, गहुँ पनि हुने, दाल, तेल सबै प्रशस्त हुन्थ्यो।’

उदासियाले सम्झेजस्तो खेती भेट्न अचेल मुस्किल छ। एउटै खेतबाट एउटै समयमा तीन बालीसम्म उब्जनी हुने मिश्रित खेती प्रणालीले वर्षभरि चाहिने अन्न, दाल, तेल उत्पादन हुन्थ्यो। ‘हाम्रो समयमा किनेर खाने चलन थिएन, घरकै उब्जनीले वर्षभरि पुर्‍याउनु पथ्र्यो,’ उदासियाले भनिन्, ‘वर्षभरिका लागि चाहिने दाल, तेल, गहुँ, धान, सबै फल्थ्यो।’ 

जानी—नजानी ऊ बेला पुर्खाले गर्दै आएको मिश्रित खेतीले माटोको संरक्षण, जैविक विधिको प्रवद्र्धन गर्दै आएका थिए। व्यावसायिकताका नाममा रासायनिक मलखाद तथा विषादीको उच्च प्रयोगले मात्र नभई परम्परागत रूपमा गरिँदै आएको मिश्रित खेती प्रणाली हराउँदासमेत माटोको गुणस्तर ह्रास हुँदै गइरहेको छ। 

जोशीपुर गाउँपालिका— १ की ३७ वर्षीया टीकादेवी बोहोराले गहुँमै काउली रायो (तोरी) छर्दै आएकी छन्। उनको बारीमा गहुँसँगै केराउ फलिरहेको छ। घरका लागि चाहिने गहुँ, तेल र दाल एउटै खेतबाट एकै सिजनमा फल्ने भएपछि बोहोराको परिवार लामो समयदेखि मिश्रित खेती गर्दै आइरहेको छ। ‘एकपटक जोते पुग्यो, सिँचाइ, मल, खनजोतले तीनथरी बाली उब्जनी हुन्छ’ बोहोराले भनिन्, ‘एउटै बाली लगाउँदा धेरै फले पनि तीनथरी बालीको हिसाब गर्दा फाइदा नै हुन्छ तर अचेल यो मिश्रित खेती गर्ने चलन भने हट्दै गइरहेको छ, कहीँकतै मात्रै यस्तो खेती देख्न पाइन्छ।’  कतिपय किसानले थोरै जमिनमा मिश्रित खेती गरिरहे पनि कृषिमा भइरहेको प्रविधिको प्रयोग, उत्पादन बढाउने होडबाजीका कारण माटोको उर्वरा शक्ति जोगाउने मिश्रित खेती प्रणाली हराउँदै गएको हो। 

के हो मिश्रित खेती प्रणाली ? 

एउटै बारीमा दुई वा सोभन्दा बढी बालीनाली हुर्काउनु नै मिश्रित खेती प्रणाली हो। बहुभन्ने बित्तिकै धेरै बालीनाली जसमा अन्नबाली, तरकारी, दाल अथवा नगदे बाली पनि हुन सक्छन्।  मिश्रित खेती प्रणालीमा लगाइने बालीको उचाइ, बनावट र जातीयतामा फरक हुने हुनाले यी बालीहरू एकै स्थानमा लगाए तापनि यिनले हावा, तापक्रम, स्थान र प्रकाश संश्लेषण फरक–फरक किसिमले गर्छन्। मिश्रित खेती लगाएको क्षेत्रमा प्रकाश, कार्वनडाईअक्साइड र जमिनजस्ता वातावरणीय स्रोतहरूको बढी प्रभावकारी उपयोग हुन्छ। फलस्वरूप उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने, रोग किरा कम लाग्ने, माटोको वातावरण सुधारिने हुँदा नेपालमा परम्परागत रूपमा मिश्रित खेती प्रणाली प्रभावकारी बन्दै आएको छ। 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुरका डिन डा. विष्णुविलास अधिकारी माटोको उर्वरा शक्ति बढाएर प्रोटिनजन्य खाद्यान्न उत्पादन गर्न मिश्रित खेती प्रणाली प्रभावकारी रहेको बताउँछन्। ‘विशेषगरी कोसेबालीको जरामा माटो मलिलो बनाउने सानासाना गिर्खाहरू हुन्छन्। ती गिर्खाभित्र ब्याक्टेरिया हुन्छ, ती ब्याक्टेरियाले वायुमण्डलमा रहेको नाइट्रोजन सोसेर लिन्छन्, जसले गर्दा त्यो बालीको पनि उत्पादन बढ्ने र माटो पनि मलिलो बन्दै जान्छ,’ डा. अधिकारीले भने, ‘हामीले मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै, कोदो, फापरबाट कार्बोहाइडे«ट बढी प्राप्त हुन्छ भने कोसेबालीबाट प्रोटिन प्राप्त हुन्छ अर्थात् एउटै बालीबाट हामीलाई चाहिने कार्बोहाइडे«ट र प्रोटिन एकै समयमा प्राप्त गर्न सकिने हुनाले पनि मिश्रित बाली महत्वपूर्ण जैविक प्रणाली हो।’

अन्नबाली, तरकारी, नगदेबालीको खेतीमा मिश्रित बालीका रूपमा कोसेबाली समावेश गरिएमा माटोको उर्वरा शक्तिमा वृद्धि भएर र प्रोटिनजन्य खाद्य पदार्थको प्राप्ति भई वातावरणमा समेत सकारात्मक प्रभाव पर्दछ।  पछिल्लो समय किसानले खाद्यान्न बालीलाई मात्रै बढी प्राथमिकता दिएको पाइन्छ। उब्जाउ जमिनमा विस्तारै माटोको मलिलोपन कम हुँदै जाँदा माटो बिग्रिएर मरुभूमीकरण बन्ने खतरा बढिरहेको छ। किसानले लगाउने अन्नबालीसँगै कोसेबाली पनि मिलाउँदा माटो संरक्षणमा मद्दत पुग्छ। ‘अन्नबालीमा कार्बोहाइडेट बढी भएको अनाज उत्पादन हुन्छ भने कोसेबालीबाट दाल अथवा तरकारीका रूपमा प्रयोग प्रोटिन प्राप्त गर्न सकिन्छ,’ डा. अधिकारीले भने, ‘मिश्रित बाली प्रणालीमा थरीथरीका बालीहरूबाट हाम्रो शरीरलाई चाहिने कार्बोहाइडेट, प्रोटिन, खनिज पदार्थ, चिल्लोपदार्थ यी सबै कुराहरू सन्तुलित रूपमा पाउन सकिन्छ भने अर्कोतर्फ तरकारी बाली र फलफूल बाली पनि सँगैसँगै हुर्काएर 
जैविक विविधता पनि संरक्षणमा टेवा पुगिरहेको हुन्छ।’ 

एक खेती प्रणालीमा सुक्खा, बाढी, रोग किराबाट बाली सखाप हुन सक्ने भए पनि बहुखेती प्रणालीमा एक खेती नोक्सान भए पनि अन्य खेती बाँकी रहने हुँदा कृषकका लागि यो प्रणाली लाभदायक छ। विषादीको उच्चतम् प्रयोगबाट उत्पादन भइरहेका खाद्यान्न बालीका लागि मधुमेह, रक्तचाप, क्यान्सरजस्ता घातक रोगहरू बढिरहेका बेला रैथाने बालीबाट उत्पादित खाद्यान्न लाभदायक रहेको स्वास्थ्यकर्मीको धारणा छ। मिश्रित खेती प्रणालीले माटोमात्र नभई मानव स्वास्थ्यमा समेत टेवा पुर्‍याउँदै आएको छ। 

जलवायु परिवर्तनको नकारात्मक असरबाट नेपालको सीमान्तकृत कृषक समुदाय बढी प्रभावित हुने भएकाले बहुखेती प्रणालीलाई यी कृषक समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याइरहेको छ। जलवायु परिवर्तनको बढी असर परेका चुरे, पहाड, हिमाल, र तराई क्षेत्रमा प्रकोप न्यूनीकरण गर्न बहुखेती प्रणाली प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने विज्ञहरूको सुझाव छ। ‘जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै दिगो कृषि प्रणाली विकास गरेर कृषकको आयआर्जनमा वृद्धि हुने बहुखेती प्रणाली निकै उपयोगी छ,’ डा. अधिकारीले भने। 

माटो जोगाउन, जैविक विविधता संरक्षण गर्न तथा रैथाने बाली तथा प्रविधिको प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सन् २०२३ लाई सरकारले कोदो वर्षका रूपमा मनाएर लोपोन्मुख बाली संरक्षणमा अग्रसरता देखाएको छ। ‘आजभन्दा झन्डै ३० वर्ष अगाडिदेखि नै नेपालमा भएका १५ सय धानका जात अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र फिलिपिन्सको जिन बैंकमा संरक्षण गरिएको छ।  
 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ७ : ०७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *