१६ कार्तिक २०८१, शुक्रबार | Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन्यालका ५ जना स्वास्थ्य स्वयमसेविका सम्मानित



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । झण्डै तीन दशक लामो समयसम्म स्वास्थ्य क्षेत्रमा सेवारत ५ जना महिला स्वास्थ्य स्वयमसेविकालाई एक कार्यक्रमका अवसरमा सम्मान तथा बिदाई गरिएको हो ।

आइतबार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँद, प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्द र वडा नं. २ का वडाध्यक्ष जयप्रकाश मल्लले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । वि.सं.२०५१ सालदेखि समुदायमा स्वास्थ्य सेवा र सुरक्षा पुर्‍याउँदै आएकी गौरी देवकोटा, देविकलादेवी साउँद, गोमादेवी जैसी, हरिकला थापा, मंगलीदेवी सेनीमगरलाई सम्मान गरिएको हो ।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँदले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा पुगेर वर्षाैंसम्म स्वास्थ्य सेवा दिएको भन्दै प्रशंसा गरे । उपाध्यक्ष साउदले भने, ‘‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो, नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ, आधारभूत स्वास्थ्य सेवा दिन होस् या स्वास्थ्य सेवा र सुरक्षा सम्बन्धी अभियान लिएर होस्, तपाईँहरु स्वस्थ समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरुको योगदान अतुलनीय छ ।’’

उपाध्यक्ष साउँदले गाउँघर, समुदायमा स्वास्थ्यको पहुँच पुर्‍याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका ठूलो रहेको बताए । उपाध्यक्ष साउँदले भने, ‘‘मोहन्याल गाउँपालिकाबाट तपाईंहरुलाई धेरै ठूलो सेवा र सहयोग दिन सकिएन तथापि, तपाईंहरुले हरेक कठिन समयमा पनि जनताको घरदैलोमा पुगेर दिनु भएको सेवा अतुलनीय छ । आगामी दिनमा तपाईंहरुलाई केही पारिश्रमिक सेवामा वृद्धि गरी खुशी पार्ने प्रयास गरिनेछ ।’’

गाउँपालिकाले वार्षिक २ हजार ५ सय र सञ्चार खर्च एक सय रुपैयाँ दिँदै आएको र उक्त रकम पर्याप्त नभएको बताउँदै उपाध्यक्ष साउँदले आगामी समयमा थप प्रोत्साहनका कार्यक्रम ल्याइने बताए ।

कार्यक्रममा स्वास्थ्य स्वयमसेविका देविकलादेवी साउँदले मोहन्याल गाउँपालिकाले आफूहरुको सेवाको कदर गरेको भन्दै खुशी भएको बताइन् । उनले धेरै लामो समयसम्म काम गर्दा पनि राज्यले दिएको न्यून सेवासुविधाले अपहेलित हुनु परेको र दुःखको महसुस भएको समेत बताइन् । ‘‘हामीले वि.सं.२०५२ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएका थियौं । तरपनि, हामीलाई राज्यले न्यून सेवासुविधा दिँदै आयो । महिला दिदीबहिनीहरुले धेरै दुःख गरेर सेवा दिनुभयो । केही दुःखको महसुस भएको छ ।’’

उनले आगामी दिनमा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला दिदीबहिनीहरुलाई प्रोत्साहनको अपेक्षा रहेको बताइन् । कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ८ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *