कैलाली । सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ पुस ९ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुन लागेको हो । ‘कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने सोमबार बौनियामा आयोजित पत्रकार सम्मेलनमा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वारले जानकारी दिए ।
उनले बौनिया बजार बसपार्क स्थलमा हुने महोत्सवको तयारी तीव्र भइरहेको जानकारी दिए । महोत्सवको सञ्चालनका लागि प्रचारप्रचार तीव्र पारिएको, मैदान सरसफाइ तथा मर्मतको कार्य भइरहेको उनले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजना सेती लोकमार्गको निर्माणमा ढिलासुस्ती भइरहेकाले द्रुत गतिमा निर्माण अघि बढाउन, संघीय सरकारको ध्यान केन्द्रित गरी दबाब सिर्जना गर्ने र स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, परैना ताल, पिरुवा, घोडाघोडी ताल, कर्णाली चिसापानी, राजकाँडा लगायतको विकास, संरक्षण र प्रचारप्रसारलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउन महोत्सवले विशेष भूमिका खेल्ने उनले बताए ।
आयोजकका अनुसार महोत्सवलाई भव्यताका साथ सफल पार्न महोत्सव मूल समिति र उपसमिति गठन गरी जिम्मेवारी बाडफाँट गरिएको गरिएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने सो महोत्सवमा विभिन्न कला र संस्कृति झल्कने झाँकीहरुसमेत प्रस्तुत गरिनेछ । महोत्सवमा खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामग्रीहरुका साथै बालबालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था पनि गरिने आयोजकले बताएका छन् ।
विगत ६ वर्षदेखि निरन्तर आयोजना गर्दै आइरहेको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ मा यसपटक ५ सय स्टलहरु राखिने बौनिया बजार व्यवस्थापन समितिका महासचिव राजेश गौतमले जानकारी दिए । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि लगायतका स्टल रहने छन् । महोत्सव आयोजना गर्न ५० लाख लागत हुने अनुमान गरिएको छ ।
महोत्सव अवलोकनको लागि विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई रु ७०, अन्यलाई एक सय र सिजनल रु ८ सय टिकट दर निर्धारण गरिएको छ । महोत्सव परिसरमा नेपाल सरकारबाट प्रतिबन्धित कार्यहरु गर्न नपाइने आयोजकले जनाएको छ । महोत्सवमा डेढ लाखदेखि २ लाखसम्म अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, बर्दिया, बाँके, सुर्खेत, अछाम लगायत भारतको उत्तरप्रदेश र उत्तराञ्चल राज्यका व्यावसायी र आम जनमासले प्रत्यक्ष रुपले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया