कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नं. १ स्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सो सामुदायिक वनले आर्थिक वर्ष २०८०/२०८१ को कुल ६२ लाख ४७ हजार १९७ रुपैयाँ आयव्यय सार्वजनिक गरेको हो ।
वनकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष पिरम बुढा रहेका थिए । कार्यक्रममा सबडिभिजन वन कार्यालय फलेबिसौनाका वन प्राविधिक पुर्णप्रसाद शर्मा र राउन्ने सामुदायिक वनका अध्यक्ष हिरासिंह सापकोटा विशिष्ट अतिथि रहेका थिए । सो अवसरमा वडाध्यक्ष बुढाले सामुदायिक वनले नियमित साधारण सभा तथा सार्वजनिक सुनुवाई गर्दै आएको बताउँदै धन्यवाद दिए ।
उनले वनको संरक्षण गर्दै दीगो विकास तथा उपभोक्ता लाभान्वित हुने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औंल्याए । सामुदायिक वनका पदाधिकारी, उपभोक्ता तथा वन कर्मचारीको विधानले नै जिम्मेवारी दिएको बताउँदै उनले शिक्षा, स्वास्थ्य, सिचाइँ, वन विकास र उपभोक्ताको आयआर्जन तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्न सो सामुदायिक वन सक्षम भएको बताए ।
प्रत्येक वर्ष गरिएका काम अभिलेखिकरण गर्दै, संस्थागत नेतृत्व विकास, सामाजिक तथा सामुदायिक कार्य आम्दानी खर्चको पारदर्शीता र सही सदुपयोग हुनुपर्नेका उनले जोड दिए । कतिपय सामुदायिक वनले आर्थिक पारदर्शीता नगर्ने, नियमित साधारण सभा नराख्ने र उपभोक्ताको हितमा काम नगरेको जनगुनासो आइरहेको भन्दै वडाले सामुदायिक वनको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको बताए ।
‘हरियो वन नेपालको धन’ भन्ने भनाइलाई मनन गर्दै तपाईंहरु वन संरक्षण र उपभोक्ताको हितमा काम गर्नुहोस् । उनले भने–‘आर्थिक पारदर्शीता नराख्ने सामुदायिक वनको गतिविधिलाई वडा सरकारले निगरानी गरिरहेको छ । वनको कार्ययोजना अनुसार कार्य गर्दै आगामी दिनमा सुधार गर्दै जानुहोस् ।’ उनले सो सामुदायिक वनको वार्षिक आम्दानीबाट गरीबी न्यूनीकरण, सामुदायिक वन सरक्षण, सम्बर्द्धन गरेको बताए । वनको संरक्षणले स्थानीयलाई घाँस, राउरा, स्याउला पाउन सहज भएको वडाध्यक्ष बुढाले बताए ।
उनले सामुदायिक वनले उपभोक्ताको जीविकोपार्जन, चोरी सिकारी नियन्त्रण, वन्यजन्तु संरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि पहल गर्नुपर्ने बताए । दानवीर सामुदायिक वनकी अध्यक्ष कल्पना थापाले सामुदायिक वनले कार्ययोजना अनुरुप नै आर्थिक कारोबार गर्दै आएको बताइन् । उनले वन विकास, गरीबी न्यूनिकरण, प्रशासनिक खर्च, सार्वजनिक हितमा खर्च गरिएको बताइन् ।
सो सामुदायिक वनका कार्यालय सचिव देवबहादुर बोहराले आर्थिक वर्ष २०८०/२०८१ को ६२ लाख ४७ हजार १९७ रुपैयाँ आयव्यय प्रस्तुत गरेका थिए । सामुदायिक वनले प्रशासनिक खर्चतर्फ १२ लाख १३ हजार ६६१, वन सदुपयोग खर्च ८ लाख ११ हजार २८७, वन विकास खर्च १ लाख ४७ हजार १०, सामाजिक तथा सामुदायिक विकासतर्फ १५ लाख १९ हजार ९८५ र वन संरक्षणमा ७ लाख १५ हजार ६४० रुपैयाँ खर्च गरेको प्रतिवेदनमा सार्वजनिक गरिएको थियो । वनकी सहसचिव सम्झना बुढाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव नैसरा पुसनमगरले गरेकी थिइन् ।
प्रतिक्रिया