१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिर्गौला फेल हुने कारण, लक्षण र उपचार



नेपालमा वार्षिक ३ हजार बढी व्यक्तिको मिर्गौला फेल हुने गरेको तथ्यांक छ । सन् २००० मा संसदबाट कानून पारित भएपछि सन् २००८ मा पहिलो पटक देशमै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सरकारले सन् २०१३ र २०१७ मा क्रमशः डायलासिस र मिर्गौला प्रत्यारोपण निःशुल्क गरेको थियो । हाल नेपालका विभिन्न ठुला अस्पतालहरुमा मिर्गौला प्रत्यारोपण गरिँदै आएको छ जुन आफैंमा एउटा सराहनीय प्रगति हो ।

प्रत्यारोण केन्द्रहरुको नाम लिदा भक्तपुरमा रहेको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र मिर्गौलाका बिरामीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । जसको नेतृत्व डा. पुकारचन्द्र श्रेष्ठले गर्दै आएका छन् ।

त्यसो त नेपालमा मिर्गौला र कलोजो प्रत्यारोपणको जग बसाउने पनि डा. पुकार नै हुन् । उनी अहिले शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्दमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । यो अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख भने डा. कल्पना श्रेष्ठ हुन् ।

यो केन्द्रमा पहिलो पटक सन् २०१३ मा नवलपरासीका ३२ वर्षीय रतन श्रेष्ठको मिर्गौला प्रत्यारोपण गरिएपछि अहिले दैनिक ५/६ वटासम्म मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।
यो कार्यलाई ठुलो सफलता मान्न सकिन्छ । यहाँ कार्यरत मिर्गौला रोग विशेषज्ञहरुको परामर्शबाट बिरामीहरु प्रभावित हुने गरेका छन् ।

यिनै विषयको सेरोफेरोमा रहेर मिर्गौला फेल हुने कारण, लक्षण र उपचार बारे नेपाली अक्षरले केन्द्रमा मृगौला रोग विषयमा सुपर स्पेसलाईजेसन (डि. एम –नेफ्रोलोजी) सकेर मिर्गौला प्रत्यारोपणमा Special training लिईरहनु भएका मिर्गौला रोग विशेषज्ञ डा. जुजुराज श्रेष्ठ सँग गरेको कुराकानीको सम्पादित अंश :

१. मानिसको शरीरमा मिर्गौलाको भुमिका के हो ?

मिर्गौलाको धेरै महत्वपूर्ण कामहरू छन्, जस मघ्ये निम्न कुराहरू प्रमुख हुन्।

-शरीरको पानी र electrolytes लाई नियमन गर्ने।

-शरीरमा metabolism बाट निस्कने बिकार कुरालाई पिसाबको माध्यमबाट फाल्ने ।

-खास खास किसिमका औषधीहरूको overdose भएको खण्डमा वा बिषादी कुराहरूलाई (Toxins) शरीरबाट निकाल्ने र तिनीहरूका नकरात्मक असरहरूलाई कम गराउने।

-बिभिन्न प्रोटिन तथा हर्मोनहरूको (Erythropoietin/Renin/Prostaglandins) उत्पादन गर्ने तथा Vitamin D लाई activate गराउने।

-रक्तचापलाई (Arterial Blood Pressure) नियमन गर्ने।

-शरीरमा acid-base लाई सन्तुलनमा राख्ने।

-लामो समय उपवास वा भोकै रहेको अवस्थामा glucose उत्पादन (Gluconeogenesis) गरी शरीरमा glucose को मात्रालाई कम हुन नदिन विशेष भुमिका निर्वाह गर्ने।

२. मिर्गौलामा समस्या आउदा देखिने लक्ष्यणहरु केके हुन ?

मिर्गौलामा समस्या आउदा कुनै पनि समस्या नदेखिन पनि सक्छ। कुनै नियमित जांच गर्दा वा अन्य समस्या हुदा गरिएका जांचहरूबाट मात्रै मिर्गौला रोग भएको पत्ता लाग्न सक्छ।

यदि लक्षण देखिएमा वाक-वाकी लाग्ने, पटक पटक वान्ता हुने, खाना नरूच्ने, चाडो थाक्नेरगल्ने, अनुहार तथा खुट्टा सुन्निने, पिसावमा फिज देखिने वा पिसाव रातो (रगत मिसिएको) देखिने, पिसाबको मात्रामा कमि आउने वा पिसाब हुदै नहुने पनि हुन सक्छ।
सास फेर्न गार्हो हुने, ओछ्यानमा पल्टदा सुख्खा खोकी लाग्ने, सुत्नै नसक्ने वा अलि अग्लो र धेरै वटा सिरानीहरू राख्न पर्ने हुन्छ।
रक्त चाप नभएकाहरूमा उच्च रक्त चाप देखिन्छ। कहिले काहि त मधुमेह भएकाहरूको पटक पटक रगतमा Sugar को मात्रा घट्ने (hypoglycemia) वा hypoglycemia को लक्षण देखिन्छ।

३. यसको उपचार प्रक्रियाहरु केके हुन् ?

सकेसम्म त मिर्गौला के को कारणले खराब भएको पत्ता लगाएर त्यसै अनुसार संभव हुदा सम्म उपचार गर्नु पर्ने हुन्छ।
यदि संभवै नभए दिर्घकालिन मिर्गौला रोगको (Chronic Kidney Disease; CKD) supportive treatment तथा CKD मै हुने Complications आउन नदिने वा आईसकेको भए सोको उपचार गर्न पर्ने हुन्छ।

Renal replacement therapy (डायलाईसिस वा मिर्गौला प्रत्यारोपण) को बारेमा जानकारी दिने तथा त्यसको तयारी गराउनुको साथै आवश्यक खोपहरूको (निमोनिया, हेपाटाईटिस बि तथा आवश्यकता अनुसार अन्य) लागि सल्लाह सुझाव दिन पर्ने हुन्छ।

खानपिनमा परेज, अनावश्यक वा आफु खुसी औषधी वा चिजको सेवनमा रोक लगाउन पर्ने पनि हुन्छ।

उचित परामर्षको पनि उतिकै महत्व हुन्छ। रोग लाग्यो, निको हुदैन भन्दैमा हतास नहुन, हेलचेक्याई नगर्न उत्प्रेरित गराउन पर्ने हुन्छ।

त्यसैगरी मिर्गौलाले अचानक काम नगर्ने अवस्थाको (Acute Kidney Injury; AKI) हकमा पुर्णरूपमा प्रायको मिर्गौला रोग निको हुन सक्ने भएकोले उचित समयमै के कारणले मिर्गौलामा समस्या आएको हो पत्ता लगाई सोहि अनुसार उपचार गर्न पर्ने हुन्छ।

AKI वा CKD दुबैको हकमा कुनै नियमित वा भर्खरै सुरू गरिएको औषधीलाई मिर्गौलाको काम गर्ने क्षमताको (Kidney function) आधारमा मात्रा मिलाउने वा कुनै बेलामा त बन्दै पनि गर्नु पर्ने हुन्छ।

४. मिर्गौलामा आउने जटिल समस्याहरु के-के हुन ? त्यो के कारणले आउछ ?
-उच्च रक्तचाप (Systemic Hypertension)

-Metabolic Acidosis

-Hyperkalemia (रगतमा पोटासियमको मात्रा बढ्नु)

-Dyslipidemia

-Uremic gastropathy

-Uremic encephalopathy

-Uremic pericarditis

-Uremic bleeding

-Mineral bone disease
यी जटिल समस्याहरू जब मिर्गौलाले कम काम गर्न थाल्छ, शरीरबाट फालिनु पर्ने बिकार कुराहरू शरीर भित्रै रहन गई नकरात्मक असरहरू देखिने गर्दछ।

५. मिर्गौला प्रत्यारोपाणको प्रक्रिया के हो ?

यसको लागि अंग दान गर्ने ब्यक्ति नेपाल सरकारको प्रत्यारोपण ऐन २०७२ अनुसार मानव अंग प्रत्यारेपण संबन्धि व्यवस्थामा उल्लेखित नाताहरू भित्र पर्नै पर्ने हुन्छ।
यस प्रक्रियाको लागि दाताको साथै मिर्गौला रोगीको आवश्यक चेक जांच गराईन्छ, बिभिन्न विभाग/युनिटहरूसंग consult गराई clearance लिईन्छ।
त्यस्तै गरी प्रत्यारोपणलाई कानुनी वैधानिक्ता दिनलाई मिर्गौला लिने दिने दुबैको नाता प्रमाणित गराएर legal clearance लिन अत्यन्तै जरूरी हुन्छ।

मिर्गौला प्रत्यारोपण गराउन अघिका जांचहरू (Pre Kidney Transplant Workup) गर्न लाग्ने खर्च बिरामी वा निजको परिवारले नै जुटाउन पर्ने हुन्छ।
नेपाल सरकारले नि:शुल्क प्रत्यारोपणको लागि दिने अनुदान रकममा ४ लाख सम्मको सुविधा प्रत्यारोपणको बेला र थप १ लाख ५० हजार भने प्रत्यारोपण पछि मात्रै आजिवन खानु पर्ने औषधी खर्च र crossmatch को लागि दिने गरेको छ।

६. मिर्गौलामा के समस्या आयो भने प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आइलाग्छ ?

मिर्गौलाले कति काम गरिरहेको छ भन्नको लागि बिरामीको उमेर, तौल र रगतमा Creatinine को मात्रा हेरिन्छ, जुन मात्रा स्थिर रहेको बेलाको आधारमा CKD को staging गरिन्छ।
मिर्गौलाको कार्य क्षमता CKD stage 1 देखि 5 तिर पुग्नु भनेको मिर्गौलाको कार्य क्षमता घट्दै गरेको भन्ने जनाउछ।
Stage 4 मा पुगे पछि प्रत्यारोपणको प्रक्रिया थालिएपनि Stage 5 मा पुगेपछि मात्रै प्रत्यारोपण गर्नु पर्ने अवस्था आइलाग्छ।

७. मिर्गौला दान गर्दा दातालाई केहि समस्या हुदैन ?

सामन्यतया दातालाई हामीले कुनै समस्या तत्कालै वा भविष्यमा पनि नओस भनेरै विस्तृत रूपमा चेक जांच गराएर मात्रै अन्य पछिल्ला प्रत्यारोपणको प्रक्रिया अगाडि बढाईने भएको हुनाले खासै समस्या हुदैन र आउनु ठिक पनि मानिन्न।
मिर्गौला दाताले मिर्गौला दान गरे पश्चात भने सधै ध्यान दिन पर्ने कुरा के हो भने अनावश्यक आफु खुशी कुनै पनि औषधीको सेवन गर्न हुदैन र समय समयमा चिकित्सकको सल्लाह अनुसार फलो-अप र चेक जांच गराउन जरूरी हुन्छ।

८. प्रत्यारोणपछि विरामीको सरदर मिर्गौलाको आयु कति हुन्छ ?

जिवित मिर्गौला दाताबाट लिईएको मिर्गौलाको आयु (१५-२० वर्ष) भन्दा मस्तिष्क मृत्यु भएकोबाट प्राप्त मिर्गौलाको आयु (८-१२ वर्ष) कम हुन्छ।

९. मिर्गौला प्रत्यारोणपछि पनि केहि व्यक्तिमा समस्या आउनु को कारण के हो ?

मिर्गौला प्रत्यारोपण गरे लगत्तैबाट कुनै पनि बेलामा प्रत्यारोपण गरिएको मिर्गौला बिग्रन सक्ने संभावना हुने भएकोले नियमित खानै पर्ने औषधीहरू (Immunosuppressions) तथा अन्य औषधीहरूको सेवन गर्नै पर्ने हुन्छ।
नियमित चेक जांच र फलो-अप पनि जरूरी हुन्छ। समस्या मिर्गौलामा मात्रै आउने भन्ने हुन्न, मिर्गौला बाहेक शरीरका अन्य अंगहरूमा समेत विविध समस्या आउने संभावना हुन्छ र त्यहि समस्याकै कारणले मिर्गौलामा समस्याहरू आउछ।

१०. नेपालमा अहिलेसम्म कति जतिले मिर्गौला प्रत्यारोण गरे होलान् ? प्रत्यारोपण पछि नियमित चेक जांचमा उनीहरुको अवस्था के पाउनुभयो ?

२०७९/६/२६ गते सम्मको तथ्यांक अनुसार नेपालमा २०५४ जनाले मिर्गौला प्रत्यारोण गराईसकेका छन्। यस केन्द्रमा भएका प्रत्यारोपित व्यक्तिहरूको नियमित फलो-अप र चेकजांचहरूमा उनीहरुको अवस्था संतोष जनक नै देखिएको छ।

११. मिर्गौला दान गर्नेमा श्रीमान, श्रीमती, छोराछोरी वा अन्य कसको संख्या धेरै छ ? किन सबैले मिर्गौला दान गर्ने आंट नगरेका होलान् ?

अहिले सम्मको तथ्यांक हेर्दा त मिर्गौला दान दिनेहरूमा श्रीमतीहरू नै धेरै देखिएका छन्। जनचेतनामा कमी तथा अनावश्यक डरले गर्दा नै सबैले मिर्गौला दान गर्ने आंट नगरेका होलान्।

१२. नेपालमा प्रत्यारोपणका लागि उपकरणको अवस्था के छ ?

प्रयाप्त नै छ भन्न पर्छ।

१३. मिर्गौला प्रत्यारोपणका लागि त एनेसथेसिया, शल्यचिकित्सा, रेडियोलोजी, प्याथोलोजी, नर्सिगं र प्रशासनिक सहितको ठूलो टिम चाहिन्छ। यो हेर्दा यहांहरु संग जनशक्तिको प्रयाप्तता र दक्ष टिमको स्थिती कस्तो छ ?

नढाटी भन्ने हो भने जनशक्ति चै अझै पनि प्रयाप्त छैन।अझै बढि दक्ष जनशक्ति थप्न सके थप बढि संख्यामा प्रत्यारोपण संभव हुने थियो र राजधानीमा मात्रै सिमित प्राय रहेको यो सेवा राजधानी बाहिर पनि अझै बिस्तार गराउन सकिन्थ्यो होला।

१४. मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको मात्रै कुरा गर्दा यहांको प्रत्यारोपणको अवस्था के छ ? किन यो केन्द्रलाई विस्वास गर्ने ?

यो केन्द्र भनेको प्रत्यारोपणकै सेवाको लागि बनाईएको सरकारी संस्था हो जहां सरदर हप्तामै ५/६ वटा मिर्गौला प्रत्यारोपण हुन्छ। हाल सम्म यहां ९५० जनाको प्रत्यारोपण भईसकेको छ।

यहां जिवित मिर्गौलादाता (Living Donor Kidney Transplant) बाहेक मस्तिष्क मृत्युबाट (Deceased Donor Kidney Transplant) प्राप्त भएको मिर्गौला प्रत्यारोपण हुन्छ। त्यस्तै गरी यहां Pair Exchange Kidney Transplant हुने गर्दछ।

जब मिर्गौलादाता र मिर्गौला रोगीको रक्त समुह (Blood Group) प्रत्यारोपण गर्नलाई उनुपयुक्त (incompatible) हुन्छ, प्रत्यारोपणको waiting list मा बसेका मध्यकै रोगी तथा दातासंग blood group compatible भएको खण्डमा मात्रै Pair Exchange Kidney Transplant गर्न सन्भव हुन्छ।
स्मरण रहोस् कि Blood group A र B भएकाहरूको बाहेक अन्यलाई यस program मा समावेश गरिंदा कानुनी मान्यता पाउदैन।

अब निकट भविष्यमा नै यस केन्द्रले blood group नमिल्नेहरू बिचको मिर्गौला प्रत्यारोपण (ABO Incompatible Kidney Transplant) पनि गराउन लागेको छ। हुन त यस प्रकारको प्रत्यारोपण राजधानीकै विभिन्न अस्पतालहरुमा धेरै पहिला देखिनै गरिदै आएको छ।

सरकारी सेवा सुविधा लिएर चांडो र सुलभ ढंगमा धेरै लामो waiting list मा नबसी मिर्गौला प्रत्यारोपण गराउनको लागि र अहिले सम्म यस केन्द्रले गरेको काम र कमाएको नाम नै काफी हुन पर्ने हो जस्तो लाग्छ यो केन्द्रलाई विश्वास गर्नको लागि।

१५. नेपालमै पहिलो पटक २०६४ साल साउन १४ गते मिर्गौला प्रत्यारोपण भएको थियो। सुरुको बेला र अहिले के फरक छ ?

धेरै नै फरक छ। सुरूवातका दिनहरूमा बिदेशी चिकित्शकहरूको सहयोगमा प्रत्यारोपण हुने गर्थ्यो र त्यो पनि १/२ वटा अस्पतालहरूमा मात्रै। अहिले त राजधानीका सरकारीमा मात्रै नभई प्राईभेट अस्पतालहरूमा समेत प्रत्यारोपण हुन थालेको छ।
महत्वपुर्ण कुरा त के छ भने उ बेला प्रत्यारोपण गर्दा लाग्ने खर्चमा २ लाख मात्रै नेपाल सरकारले बेहोर्थ्यो भने २०७४/०१/०१ देखि भने निस्शुल्क प्रत्यारोपणको लागि अनुदान रकम (५.५ लाख) नेपाल सरकारले दिन थालेको छ ।

पहिला पहिला मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले नियमित खान पर्ने औषधीको रगतमा मात्रा (Tacrolimus/Cyclosporine level) र प्रत्यारोपण गर्न वा कहिले काहि प्रत्यारोपण पछि पनि गर्न पर्ने महत्वपुर्ण blood test हरू (CDC crossmatch, DSA, PRA) गराउन India नै Sample पठाउन पर्ने बाध्यता हिजो आज छैन।
यी जांचहरू हिजो आज हाम्रै देशमा गराउन सकिने भएकोले पहिला पहिला जस्तो ३/४ दिन नै कुर्न पर्दैन, सोहि दिन मै report उपलब्ध हुने गरेको छ।

आहिले प्राय सबै किसिमको मिर्गौला प्रत्यारोपण नेपालमै संभव छ र हाम्रो देशपनि यसको लागि आत्मनिर्भर बनिसकेको छ। यसमा लाग्ने खर्च पनि तुलनात्मक रूपमा विदेशमा भन्दा कमै छ।

१६. अहिले पनि प्रत्यारोपणका लागि धेरैजसो देश बाहिर किन जान्छन् खासगरी नेताहरू ?

अरूको त थाहा भएन, नेताज्यूहरूको खर्च नेपाल सरकारले गर्ने भएकोले होला।

१७. नेपाली चिकित्सक माथी विश्वास नगरेको हो कि चिकित्सकहरूमा दक्षताको कमी छ भन्न मिल्छ ?

नजिकको देवता हेला हुने भएकोले होला नि।

१८. मिर्गौला स्वस्थ राख्न के-के कुरामा ध्यान दिनु पर्ने हुन्छ ? यो रोगबाट कसरी बच्ने ?

दिनमा ४/५ गिलास पानी पिउने, मध्य पान धुमपानबाट परै बस्ने बाहेक नियमित चेकजाच गराउने, मिर्गौलालाई हानी पुर्‍याउने खाल्का चिज, औषधी, जडिबुडी आदिको सेवन आफु खुसी नगर्ने।
मिर्गौलाको समस्या नभएकाहरूले समेतले सुरूमा मिर्गौलाको अल्ट्रासाउण र पिसाबको जांच, रगतको creatinine अनि BP जांच गराउन पर्छ र यदि सबै Normal छ भने त्यस पछि वर्षमा १ पटक पिसाबको जांच, रगतको creatinine अनि नियमित BP जांच गराउदा राम्रो हुन्छ।

मिर्गौला रोग लाग्ने risk मा पर्ने भनेका व्यक्तिहरूमा निम्न रोगीहरू पर्दछन्।

-मधुमेह, उक्त रक्तचाप, मिर्गौला वा मुत्र नली वा पिसाब थैलीमा पथ्थर संवन्धी समस्या भएकाहरू, प्रोष्टेटका रोगीहरू, पाठेघरको वा पाढेघरको मुखको cancer नै अन्य भागमा फैलिएको रोगीहरू

-वंशानुगत रूपमै मिर्गौलामा पानी फोकाहरू हुने रोग (Polycystic Kidney Disease)

-पहिला देखिनै वा भर्खरै मात्रै थाहा भएको बाथ रोगी, मुटु रोगी वा अन्य दिर्धकालिन रोगीहरू।

-त्यस्तै गरी पहिला कुनै समयमा मिर्गौला खराब भई अहिले ठिक भएकाहरूले समेत ढुक्क भई बस्न मिल्दैन र नियमित रूपमै मिर्गौला सम्बन्धी चेक जाच गराई राख्न पर्ने हुन्छ।

१९. तपाई त हरेक दिन कयौं बिरामी संग फेस गर्नु हुन्छ। उहांहरुको मनस्थीति कस्तो देख्नु हुन्छ। प्रत्यारोपणपछि पनि निराशा देखिन्छ कि उत्साह ?

प्राय जसो त उत्साहित नै देखिन्छन्। त्यसो त हाम्रो सामाजिक तथा भौगोलिक बिकट्ताले गर्दा आफ्नो स्थाई बसोबास छाडेर आफ्ना परिवार तथा प्रियजनहरूबाट पर बस्न परेको छ ।
अझ भनौ नियमित फलो-अप र स्वास्थ्य सेवाको सहजता वा निकट्ताकै लागि भनि राजधानीको वरीपरी बस्न पर्ने बाघ्यताले थप आर्थिक बोझले निराश भएकाहरू पनि नभेटिने त होईनन्।

२०. अत्यमा हामीले सोध्न छुटाएका केहि कुराहरु भन्न मन छ ?

समेट्न पर्ने कुराहरू त अझै धेरै नै थिए तै पनि छुटाउन मन नलागेको निम्न कुराहरू छन्।

-नेपाल सरकारले निस्शुल्क प्रत्यारोपणको लागि दिने अनुदान पहिलो प्रत्यारोपणको लागि मात्रै हो।

-प्रत्यारोपणको पहिलो ६ महिना सम्म Tacrolimus/Cyclosporine/Mycophenolate Mofetil औषधीहरूको भर्सक आफु खुसी brand change गर्न हुन्न।

-कतिले त बीमा रकम सक्किए पछि नियमित गर्नु पर्ने जांच नै नगराई आफुलाई ठिकै छ भनेर औषधीको मात्रा आफु खुसी घटाउने गरिरहेको हुन्छ। यसो गर्दा प्रत्यारोपित मिर्गौला चांडै बिग्रिने risk हुन्छ।
अन्त्यमा निकै महत्वपूर्ण विषयमा आफ्नो अनुभव राख्ने अवसर दिनु भएकोमा नेपाली अक्षर परिवारलाई धेरै-धेरै धन्यवाद । सम्पूर्ण मिर्गौला विरामीको स्वस्थ जीवनको शुभकामना !!

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *