११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुलापत्र



सम्माननीय प्रधानमन्त्री कमरेड प्रचण्ड (कम्युनिष्ट पार्टीको अध्यक्ष प्रधानमन्त्रि हुनु भएकोले कमरेड पनि भनिएको हो) अत्यन्तै प्रतिकुल अवस्थालाइ अनुकुलतामा बदलेर प्रधानमन्त्री चयन हुनु भएर अभुतपूर्व रुपमा विश्वासको मत प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

तपाई प्रधानमन्त्रि भइरहदा देशमा एक प्रकारको सकारात्मक कम्पन पैदा भएको छ । अत्यन्तै कम ब्यक्तिले जीवनमा मुश्किलले एकपटक पाउने अवसर तपाइले तेश्रो पटक पाउनु भएकोछ र विश्वासको मत प्राप्त गर्ने बेला सम्म यो एक सकारात्मक ऐतिहासिक राजनीतिक घटना बनेकोछ ।

यो अवसरलाइ नेपाली राजनेताको रुपमा स्थापित हुने गरी प्रयोग गर्न तपाइलाइ शक्ति र सामथ्र्य प्राप्त होस र देश र जनताले तपाइ प्रति गौरव गर्न सक्ने काम गर्ने सफलता तपाइलाइ मिलोस भन्ने शुभकामना ब्यक्त गर्न चाहान्छु ।

तपाइले केही गर्न चाहना राख्नु भयो भने सारा देशले तपाइलाई साथ दिने छ ।

कमरेड तपाइका पार्टीका घोषणा पत्र र तपाइले सचिवहरुलाइ जारी गरेका निर्देशन हेर्दा र अनुगमनका नाममा तपाइका मन्त्रिमण्डलका सदस्यहरुको चौकीदारको जस्तो हर्कत देख्दा यो कार्यकाल सामन्य भन्दा माथी हुन्छ भनेर अनुमान गर्न त मिल्दैन तर तपाई स्वयम नेपाली समाजको उत्पादन सम्वन्ध वदल्ने अठोटका साथ क्रान्तिमा होमिएर देशको नेतृत्वमा आउनु भएको र तपाइको सहयात्री नेकपा एमाले र स्वयम् कमरेड केपी बली सत्तिस साल झै तपाइको पक्षमा उभिएर परिवर्तनको संदेश दिन खोजेको देख्दा केही आस लागेको छ ।

यो असाधारण अवस्था हो र यसले तपाइको असाधारण सोच, काम र ब्यवहारको अपेक्षा गरेकोछ ।

नेपालको संविधानले समाजवाद उन्मुखको परिकल्पना गरेको भए पनि स्वयम तपाइको पार्टी भित्र, स्थानीय सरकार, प्रदेस सरकार, विश्वविद्यलाय र नागरीक समाजमा समाजवाद भनेको के हो, यसको आर्थिक सामाजिक बिकासको मोडेल के हो र कस्तो हुन्छ ?

समाजवादको आधार कसरी निर्धाराण गर्ने ? हाम्रा ऐन नियम कानुनहरुले समाजवादको प्रवर्धन गर्दैछन की घाटी निमोठेका छन ? भन्ने कुराको जानाकारी राख्ने जनसमुदाय न्यून छ । मिडिया, राजनीतिक पार्टीहरु र बौद्धिक सभाहरुमा विगत दश पन्ध्र वर्षदखी नै समाजवाद सम्वन्धि बहसहरु भएका छैनन ।

तपाइको सहयोगीका रुपमा रहेका अधिकाँश कमरेडहरु जानेर होस वा नजानेरहोस नवउदावादको वकालत गर्दछन ।

तपाइ स्वयमकै पार्टीले जितेका कुनै पनि स्थानीय तह समाजवादीबाटोमा हिडेका छैनन । न त तपाइको पार्टीले नेतृत्व गरेका प्रदेस सरकारले कुनै पदचिन्ह छोडेका छन ।

रिइन्भेन्टीगं गभरमेन्ट इन टवन्टीवान सेन्चुरी पढेर विज्ञ भएका नेपालका कर्मचारीहरु समाजवादको वारेमा तपाईका भन्दै पक्कै फरक धारणा राख्दछन । देश भरी नै नवउदारवादीहरुको हालीमुहाली छ ।

तपाइको सचिवालय र विज्ञ समुहले समाजवाद बुझेका छन की शब्द उचरण मात्रै हो ? विगतका अभ्यास हेर्दा आस गर्ने ठाउँ छैन । परिस्थिती हेर्दा तपाईको कार्यकाल एक प्रशासनिक प्रधानमन्त्रीमै सिमित रहने हो की भन्ने जस्तो देखिन्छ तर तपाईमा भएको असाधरण निर्णय क्षमताको सहि प्रष्फुटन हुन सक्यो तपाइको कार्यकाल राजनीतिक प्रधानमन्त्रिको रुपमा हुन सक्ने पनि देखिन्छ ।

यदि तपाइ प्रधानमन्त्री भइसकेपछिको मात्रै कार्यशैलीलाइ विश्लेषण गर्ने हो भने तपाई समाजवाद भन्दा नवउदारवाद तिर ढल्केको आभास भएको छ ध्यान दिनु होला । समाजवादी शक्ति र समाजवाद निकै कमजोर छ खाली ओठे भक्तिले यो उठन सक्दैन यसको लागि सोच, काम र ब्यवहारमा आमुल परिवर्तन आवश्यक छ जुन कुरा स्वयम् तपाइमा भर पर्दछ ।

कमरेड सिद्धान्त विहिनको नेतृत्वले यो दुनियामा कहि कतै परिवर्तन गर्न सकेको छैन । तपाईको सरकार पनि सिद्धान्त भन्दा स्वार्थको परिणाम हो भन्ने आम जनमानसको बुझाइ हो तर जित्न चाहने खेलाडीलाइ मैदान भए हुन्छ बल जुन सुकै ब्राण्डको भए पनि हुन्छ ।

तपाइले मैदान पाउनु भएको छ त्यसकारण जसरी हुन्छ गोल गर्न नचुक्नुहोस । खेलाडीको रुपमा अधिकार र दक्षता दुबै तपाइसँग छ त्यसकारण तपाइले चाहानु भयो भने तपाईको कार्यकालमा यो देशको मुहार फेरिने दह्रो आधार निर्माण गर्न सक्नु हुन्छ ।

मलाइ लाग्दछ केही गर्ने की नगर्ने तपाइको शक्ति र सामथ्र्यमा होइन चाहनामा भर पर्दछ । प्रधानमन्त्रिको कुर्सीमा बसेर तपाइ के चाहानु हुन्छ त्यही नै तापइको ब्यक्तित्वको पहिचान हुनेछ ।

तपाइको ब्यक्तित्व प्रयोग गरेर देश र समाजमा नाजायज लाभलिने तह र तप्कालाइ तपाईले यो कार्यकालमा कसरी ब्यवहार गर्नु हुन्छ यहीवाट तपाइको यो कार्यकालको मुल्याँकन शुरु हुन्छ ।

यस्तै झिना मसिना तर जन जनमा गडेर बसेका गुनासा र वेथितीलाइ कसरी सम्वोधन गर्नु हुन्छ भनेर जनताहरुले हेरेर बसेका छन । स साना बेथितीले गर्दा सरकार भनेको विषालु सर्प हो यसले नागरीकलाइ डस्ने मात्रै काम गर्छ भन्ने सोचले नागरीकलाइ सताएको छ ।

रणनीतिक रुपमा नागरीक प्रशासनलाई थिलो थिलो बनाइएको छ र सरकार नागरीकको दुरी निकै बढाईएकोे छ । राम्रो काम गर्न नसक्ने तपाइका नजिकका वा अपराधीहरुका लागी तपाइ कसरी प्रस्तुत हुनुहुन्छ भन्ने कुराले नै तपाइ र तपाइको सरकार राजनीतिक हो कि प्रशासनिक हो भन्ने निर्धारण गर्दछ ।
तपाइले केही नगरे पनि हामी नागरीकले शुसासन र क्रान्तिकारी सरकारको नाममा यतिक वर्ष त कुसासन सह्रयौ तपाइको कार्यकाल झेल्न गाह्रो मान्ने छैनौ । यदि शुसासन दिनु भयो भने त्यो सुन्दर उपाहरको रुपमा ग्रहण गर्नेछौ ।

कमरेड किमार्थ संझौता नगर्नुहोस । बामपन्थीहरु(विशेषतः तपाई माओवादीहरु)को लागि यो अन्तिम अवसर वा लडाई हो । सवालहरु धेरै छन म केही जनसरोकारका सवाल इशारा गर्दै विचार राख्दैछु ।

गरिव गाउँलेहरुको भाग्य र भविष्यको केन्द्रको रुपमा रहेको तर शदियौ देखी राजनीति क्रिडास्थल बनाइएको त्रिभुवन विश्वविद्यालयको आमुल रुपान्तरण चाहानुहुन्छ की यथास्थितीको निरन्तरता ?

खुला प्रतिस्पर्धावाट विदेशी शैक्षिक व्यवस्थापन विज्ञलाइ आगामी ५ वर्षको लागि उपकुलपति ल्याउने ईच्छा शक्ति छ कमरेड ? कमरेड व्यवस्थित शिक्षा ऐन ल्याएर सरकारी शिक्षालाइ भरोसायोग्य र साम्राज्यवादीहरुलाइ दनक दिनेगरी शिक्षालयहरुको पुर्नस्थापना गर्ने चाहना छ ?

के वर्षेनी लाखौ विद्यार्थीहरु नेपाली शिक्षालयहरुमा अध्ययन गर्न आउन भन्ने चाहना छ कमरेड ?

कमरेड कार्यकाल सफल, आर्थिक समृद्धि र परिवर्तनको आभास दिलाउन चाहानु हुन्छ भने योजना तर्जुमा र कार्यान्वयनमा आमुल रुपान्तरण र हस्तक्षेप गर्न जरुरी छ ।

अहिले योजना आयोग, मन्त्रालयहरु, प्रदेश र स्थानीय तहहरुले आफ्नै तरिकाले योजना तर्जुमा गर्ने गरेका छन । एक निकायले बनाएको योजना अर्कोलाइ थाहा छैन वा भनौ एउटै कार्यक्रममा तीन चारवटा निकायले आफ्नै तरिकाले योजना बनाउने प्रचलन छ ।

यो प्रचलन अन्त्य नभइन्जेल सम्म परिवर्तनको अनुभुति हुन सक्दैन । योजना तर्जुमा वा नीति कार्यक्रम बनाउदा राजनीतिक प्रतिवद्धता भन्दा पनि प्राविधीक पक्षलाइ मात्रै ध्यान दिईन्छ । खुला बजार र नवउदारवादको अवधारणामा योजनाहरु तर्जुमा गर्ने गरिन्छ ।

तपाइहरुले भन्ने गरेको समाजवादको सिद्धान्त र देशका सबै निकायको योजना तर्जुमा पद्धतीमा कुनै तालमेल छैन यस्तो अवस्था तपाई स्वयम र तपाइको सरकार मन्त्रीहरुको दौडधुप र निर्देशनले परिस्थितीमा कुनै परिवर्तन ल्याउदैन ।

कमरेड गतवर्ष लक डाउनमा सामन्य अक्सिजन नपाएर गण्डकी अस्पताल, वीर अस्पताल, नारायणी अस्पताल जस्ता सरकारी अस्पतालहरुमा धेरैको ज्यान गयो ।

के ती अस्पतालहरुलाइ सुविधा सम्पन्न बनाउने र स्वास्थ्य र शिक्षा मुनाफाको लागि होइन भन्ने कुरा स्थापित गर्न चाहानु हुन्छ ? कमरेड तपाइहरुले परिभाषित गर्नु भएको सामन्ती उत्पादन सम्वन्धका कारण अहिले पनि भान्सा छोइयो भनेर दलित समुदायमाथि वित्सभ हत्याका घटनाहरु सुन्नु पर्दछ, छाउ गोठमा अवोध चेलीहरुले प्राण गुमाएको कुरा सुन्न पर्दछ, देशको उत्पादनशिल युवा जनशक्ति जीविकापार्जनको लागि जोखिमपुर्ण काममा विदेशमा छन र दैनिक चार, पाँच जना बाकसमा आउने तथ्य शायद तपाइलाइ पनि थाहा होला के तपाइ यो रोकेर नयाँ अवस्था सिर्जना गर्न चाहानु हुन्छ ?

कमरेड अत्यन्तै उत्साह र जीत भनेर भनिएको संघिय संरचना र त्यो सफलताको लागि तपाइहरुले तयार गर्नु भएको स्थानीय सरकार सञ्चालन ऐन तथा निर्देशीका (प्रतिगामी ऐन) त्यो बदलेर सक्षम स्वायत्त र अधिकार सम्पन्न स्थानीय तह बनाउन चाहानु हुन्छ ?

कमरेड यस्ता धेरै कुराहरु छन जुन यो समाजले वदल्न चाहन्छ तर यस्तै अव्यवस्थावाट लाभ लिनेहरुले शक्ति र परिवर्तनका मुहानहरु कब्जा गरेका छन तपाईहरुलाई प्रभावमा पारेर निरन्तर आफनो स्वार्थ सिद्ध गरेका छन ।

जानेर होस वा नजानेर होस तपाइहरु त्यो वर्गको भरिया बनेर निरन्तर काम गरी रहनु भएको छ । कम्युनिष्ट पार्टीहरु पनि आज तिनीहरुकै मतिहार भएका छन । कमरेड यो आरोप होइन यथार्थता हो ।

त्यसकारण फेरी एक पटक कमरेड वली र तपाइवाट यस पटक यी सबै बेथितीलाइ तोडेर नयाँ समाजको आधार निर्माण गर्न तपाइको नेतृत्वको सरकारबाट अपेक्षा गरिएको छ र देशको प्रधान मन्त्रिको रुपमा यो अभिभारा तपाइको काधमा आएको छ ।

कमरेड तपाइले चाहानु भयो भने यो परिवर्तनको शुरुवातको आभास नागरीकले १५ दिनवाट नै गर्न थाल्दछन र प्रत्येक दिन तपाइप्रति अपार विश्वास र भरोसा वढदै जान्छ ।

स्मरण रहोस दुनियाँमा कहि पनि विकास सरकारले गर्दैन । विकास गर्ने नागरीकले हो र नागरीकलाइ परिचालन गर्ने गरि प्रस्तुत हुने काम सरकारको हो । यदि तपाइले ३ करोड नेपालीलाइ कुनै न कुनै रुपमा आवद्ध गराउने गरी काम गर्ने तरिका अपनाउनु भयो भने काखे बच्चा देखी वृद्ध बा आमा तपाइको अभियानमा सहभागी हुनेछन ।

धेरै पहिला एक जना जर्मनीले जर्मनमा किन कसैले भ्रष्टचार सोच्न पनि सक्दैन भन्ने कथा सुनाउदै भनेका थिए यदि कुनै श्रीमानले भ्रष्टचार गरेको शंका गरेमा श्रीमतिले पारपाचुके गर्छिन र बाले भ्रष्टचार गरेको थाहा पाए छोरा छोरीले बहिष्कार गर्दछन, छिमेकी बोल्दैनन र ब्यापारीले समान बेच्दैन यसरी बहिस्करणको चंगुलमा परेपछि त्यहाँ बाँचन सकिदैन त्यसकारण जर्मनीमा कसैले भ्रष्टचारको बारेमा सोच्न पनि सक्दैन भनेर भनेका थिए ।

कमरेड अख्तियारले होइन भ्रष्टचार नियन्त्रण गर्ने त्यो नेकपा माओवादी, एमाले, नेपाली काँग्रेस, समाजवादी जस्ता स्थापीत पार्टीहरुले होे । तपाइका संगठीत सदस्यहरुले अगुवाइ गर्ने हो र आम नागरीकले त्यसमा साथ दिने हो । के तपाई यो प्रचलनको शुरुवात गर्न चाहानु हुन्छ ?

के तपाई पार्टी र सरकारको शक्ति र सामथ्र्यलाई सँग सगै परिचालन गर्न सक्नु हुन्छ ? तपाईलाइ थाहा नै होला कमरेड नयाँ सँविधान आइसकेपछि पनि देश आज पनि प्रतिगामी ऐन कानुनहरुले चलिरहेको छ । देशलाई समाजवाद उन्मुख नयाँ ऐन कानुनहरु आवश्यक छन ।
तपाइले चाहेमा एक हप्ता भित्र सबै कानुनहरु वदल्न सक्नु हुन्छ तर के तपाइ त्यो गर्न चाहानु हुन्छ ?

यदि तपाइ यो कार्यकाललाइ अविस्मरणीय बनाउन चाहानु हुन्छ भने अरुमा होइन आफुमा परिवर्तन गर्नुहोस कामरेड । यो देश विकास गर्न तपाइले देश दौडाह गर्न पर्दैन ।

अनुगमनको नाममा मन्त्रालय वा अड्डा चाहर्न पर्दैन सिहदरवारमा बसेर दैनिक प्रयोगमा आउने सबै ऐन कानुन र नियमावलीहरुमा परिवर्तन गर्ने पहल गर्नुहोस । समाजवादी नीति ऐन, कानुनहरु बनाउनुहोस । दण्डहिनता अक्षम्य छ भन्ने सन्देस दिनुहोस ।

दैनिक रुपमा अनियमितता गर्नेहरु सरकारी कठघरामा उभिएका छन भन्ने दृश्यहरुको प्रत्यक्ष प्रसारण गर्ने ब्यवस्था मिलाउनुहोस । गति वदल्नुहोस कमरेड यो परिकल्पनाको गतिमा परिवर्तन ल्याउने युग हो । कानुनले रोकेको छ भने अध्यादेश ल्याउनुहोस ।

सहकर्मी दलहरुसँग सहकार्य गरेर नयाँ कानुन बनाउनुहोस । अनुत्पादक उद्घाटन, बधाई शुभकामना, बैठक, छलफल बन्द गर्नुहोस ।

स्थानीय सरकार, प्रदेस सरकारका गाह्रा, अप्ठयाराहरुलाइ सहजीकरण गर्नुहोस, स्थानीय पार्टी कमीटी, समुदायमा आधारीत सामुदायिक संगठनहरु (आमा समुह, सामुदायिक बन उपभोक्ता समुह, टोल विकास समिती, विद्यालय व्यवस्थापन समिती) लाई परिचालन गरी समाजवादका आधार निर्माण गर्न उत्प्रेरीत गर्नुहोस ।

कमरेड तपाईको पार्टी सानो भए पनि देशले तपाई प्रति भरोसा गरेको थियो । बारम्वार हुने सत्ता स्वार्थको कारण भरोसा टुटेको भए पनि फेरी एकपटक विश्वास दिलाउने ठाउँमा पुग्नु भएको छ ।

अवसरको सदुपयोग गर्नुहोस र दुनियालाई भन्नुहोस १७ हजारको त्याग र वलिदानको सदुपयोग गरेर बलिदानीहरुको आत्मको शान्ति र बाँचेकाहरुको मुहारमा क्रान्ति ल्याउने अठोट पुरा गर्नेछु । तपाईलाइ शुभकामना !

-डा. आर. सी.लामिछाने

प्रमुख कार्यकारी, ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १० : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *