६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँडा खोलामा पुल निर्माणले लियो गति, निर्धारित समय अगावै सक्ने लक्ष्य

अहिलेसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आगामी मंसिरभित्रै सक्ने तयारी



कैलाली । वर्षातको समय, सिमसिमे झरी । आ–आफ्नै काममा व्यस्त छन् आयोजना निर्माण स्थलमा सबै श्रमिक । ढुंगा र ग्राबेल बोकेर कुदिरहेका ट्रयाक्टर र टिप्पर । धमाधम फिजाउँने काम गरिरहेको जेसीबी। यो काँडा खोलाका बनिरहेको पुलको एक परिदृश्य हो ।

कैलाली, डोटी र अछाम तीन जिल्ला जोड्ने एउटै मार्ग सेती राजमार्ग सडकखण्ड अन्तर्गतको काँडा खोलामा पक्की पुल निर्माणको कामले तीव्र गति लिइरहेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ काँडा खोलामा मोटरेबल पुल निर्माणको कामले तीव्रता पाएको हो ।

कतिपय निर्माण कम्पनी र ठेकेदारको लापरबाही र ढिलासुस्तीले वर्षाैंसम्म निर्माणकार्य अलपत्र छोड्ने प्रवृत्तिका खबर बाहिर आइरहेका बेला यहाँ भने निर्धारित समयअगावै काम सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको छ । पुल नहुँदा तराईको कैलाली हुँदै सुर्खेत, डोटी, अछामका जिल्लामा पैदलमार्ग भएर आवतजावत गर्ने नागरिकलाई असहज हुने गरेको थियो यसपछि भने आवतजावतमा सहज हुने भएको छ ।

सडक विभाग मार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायी अनक कन्सट्रक्शन कम्पनी प्रालिले निर्धारित समय भन्दा अगावै योजना सम्पन्न गर्नेगरी निर्माण कार्यलाई गति दिएका हुन् । उक्त कम्पनीले बुधबार निर्माण स्थलमा संक्षिप्त वातावरणीय अध्ययनको सार्वजनिक सुनुवाइ गरेको छ ।

पुल निर्माणका क्रममा र निर्माण सम्पन्न भइसकेपछि पर्न जाने सकारात्मक र नकारात्मक प्रभावका बारेमा स्थानीयसँग राय, सुझाव तथा परामर्श लिएको हो । कार्यक्रममा निर्माण कम्पनीसँगै स्थानीय सरकारका प्रमुखसहित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागि थिए । उनीहरुले छिटोछरितो रुपमा सम्झौता मितिअगावै निर्माण गर्न लागेको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले राष्ट्रिय गौरवको आयोजनासँग जोडिएको त्रिदेशीय मार्ग सेतीलोकमार्ग निर्माण भए यहाँका नागरिकलाई आवतजावतमा धेरै सहज हुने बताए । उनले पुल निर्माण कम्पनीले काममा तदारुकता देखाएको भन्दै धन्यवाद दिए ।

‘राम्रो काम गर्ने निर्माण कम्पनीलाई हामीले सम्मान गर्ने सोच बनाएका छौँ, उनले भने, ‘यो सेती लोकमार्गको पुल हो । यसले बर्दगोरियाको भाग्य कोरेको जस्तो मलाई लाग्छ । विशाल ईन्डिया र चाइनाको बीचको पुलको काम गर्ने बाटोमा पनि यो पुल बनेको छ । यसमा बर्दगोरिया गाउँपालिकाका जनता र हामी जनप्रतिनिधि धेरै खुसी भएका छौँ ।’

स्थानीय रानीजरुवा सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माले यहाँका बासिन्दालाई जिल्लाका पहाडी भुभाग सडक पहुँच जोडिने, बजार, अस्पताल, उच्च शिक्षा अध्ययनलगायतका सन्दर्भमा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए । उनले पुल निर्माण स्थल नजिकैको बस्तीमा हुने नदी कटान रोक्न तटबन्धको आवश्यकता रहेको औंल्याए । वातावरणीय रुपमा बस्तीमा खेतीयोग्य जमिन कटानले पर्ने असरलाई नियन्त्रण तथा न्युनिकरण गर्न आवश्यता रहेको उनले सुझाबसमेत दिए ।

२०७९ असार १० गतेको काँडा खोलामा पक्की पुल निर्माणको सम्झौता गरिएको थियो । खोलामा पक्की पुल नहुँदा मोहन्याल गाउँपालिकाको उत्तरी चुरे पहाडी भेगका स्थानीय र सुर्खेत पश्चिम चौकुने गाउँपालिका र डोटी सँगको सीमा जोडिएका क्षेत्रबाट आउने–जाने पर्यटक, तिर्थयात्री र सर्वसाधारणले विगतदेखि सास्ती भोग्दै आएका थिए ।

काँडा खोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा ललितपुर काठमाडौंले ८५ मिटर लामो र ११ मिटर चौडाई र जमिनबाट ९ मिटर उचाई भएको डबल स्पामको पुल निर्माण गर्न लागेको हो । विभागसँग पुल निर्माण कम्पनीले भ्याटसहित करिब १२ करोड रुपैयाँ बजेट लागतमा २०८१ फागुन १० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको उक्त कम्पनीका सबईन्जिनियर केबी जिरेलले नेपाली अक्षरसँग बताए ।

उनले आगामी मंसिरभित्र पुल निर्माण सम्पन्न गरिसक्ने दाबी गरे । ठेक्का सम्झौता लगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो । पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तीव्रता दिएको छ ।

योजनाको अनुगमन र सुपरीवेक्षणको जिम्मा पाएको पुल सेक्टर ईन्जिनियर केशव मिश्रले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमित रुपमा निर्माण कम्पनीले काम गरिरहेको बताए । निर्माण कम्पनीले उपकरणसहित मजदुर जुटाएर पुल निर्माणलाई गति दिएको पाइएको उनले जानकारी दिए ।

वर्षात्को समयमा काँडा खोलामा पुल नहुँदा सर्वसाधारणहरुले निकै सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उनको भनाइ छ । अहिलेसम्म आयोजनाको करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ भने, दायाँबायाँतिर पाँच–पाँच सय मिटर तटबन्धको काम भइरहेको ईन्जिनियर मिश्रले जानकारी दिए ।

पुलको ७५ प्रतिशत भुक्तानीसमेत भइसकेको उनले जानकारी दिए । उनका अनुसार अब रिभर्भ टेनिङ (पुलको सुरक्षा कार्य) र एब्रोज रोड कालोपत्रेको काममात्रै बाँकी छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर महिनाभित्रै पुल निर्माण कार्य सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको ईन्जिनियर मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *