२१ कार्तिक २०८१, बुधबार | Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाँउपालिकाले रैथाने बाली जोगाउन पकेट क्षेत्र तोक्ने



चौरपाटी (अछाम) । अछामको चौरपाटी गाँउपालिकामा सञ्चालित रैथाने बाली प्रवर्द्धन र संरक्षण अभियान सम्पन्न भएको छ । गाँउपालिकामा आज एक समारोहका बिच अभियानको समापन गरिएको हो ।

समापन समारोहमा बोल्दै गाँउपालिकाका अध्यक्ष भीमबहादुर साँउदले रैथाने बालीको बिकासका लागि पहिलो चरणमा कुनै एउटा वडाको निश्चित क्षेत्रलाई छनौट गरिने बताउनु भएको छ । उक्त ठाँउ लाई नमूनाका रुपमा विकास गरेर आगामी वर्षहरुमा सातै वडामा बिस्तार गर्नेगरी रैथाने बाली प्रवर्द्धन र संरक्षण गरिने उहाँको भनाई छ । अध्यक्ष साँउदले वडास्तरमा जाँदा गाँउका किसानहरु सँग दुर्लभ जातका अन्नबालीका बिउहरु भेटिएकाले त्यस्ता बिउ संकलन गरेर छनौट गरिने क्षेत्रमा उत्पादनका लागि पठाइने उल्लेख गर्नुभयो ।

उहाँले यस बारे कार्यपालिकामा छलफल गरेर कुन ठाँउलाई छनौट गरेर नमूनाका रुपमा बिकास गर्न सकिन्छ भन्ने बारे निर्णय लिइने र त्यसको कार्यान्वयनका लागि सबै क्षेत्र सँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाउनु भएको छ । अभियानका क्रममा सबै वडाहरुमा पुगेर त्यहाँका किसानले उठाएका समस्या, माग र सम्भावनाका कुराहरु समेत टिपोट गरेर राखिएको भन्दै उनीहरुका समस्या बारे गाँउपालिका गम्भीर रहेको बताउनुभयो ।

रैथाने बालीको बिकासका लागि आगामी वर्षहरुमा पनि यो अभियानलाई निरन्तरता दिइने भन्दै उहाँले केवल गफ र नारामा मात्र सिमित नहुने भएकाले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै चौरपाटी गाँउपालिकाका निवर्तमान अध्यक्ष हर्क बहादुर साँउदले रैथाने बालीको प्रवर्द्धन र संरक्षणका लागि आफु प्रतिवद्ध रहेको भन्दै यसमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता पवित्र अभियानलाई राजनीतिक रंग दिन नहुने भन्दै उहाँले गाँउपालिकाले निकै महत्वको कामको थालनि गरेकाले यसलाई सफल पार्न दलहरुको पनि एकता आवश्यक रहेको बताउनुभयो । अन्य विषय जस्तो यसमा कुनै पनि बिमति नहुने उल्लेख गर्दै उहाँले गाँउ ठाँउको विकासका लागि यस्ता काममा दलगत स्वार्थ देखिन नहुने बताउनुभयो ।

समापन समारोहको सुरुवातमा बोल्दै चौरपाटी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले बिगत वर्षहरुको समीक्षा गरेर यो पटक रैथाने बाली प्रवर्द्धन गर्न बृहत रुपमा यो अभियान सुरु गरिएको बताउनु भएको छ । अन्य वर्षहरुमा रैथाने बालीका क्षेत्रमा बजेट खर्च हुने गरेको भएपनि खास उपलब्धी नदेखिएकाले यो पटक अभियानकै रुपमा प्रत्येक वडामा पुगेर रैथाने बालीको अवस्था अध्ययन गरी विशेष पकेट क्षेत्र निर्धारणको योजना निर्माण गरिएको उहाँको भनाई छ ।

अब रैथाने बालीका क्षेत्रमा हुने काम उपलब्धीमुलक हुने विस्वास ब्यक्त गर्दै उहाँले त्यसका लागि कार्यपालिकामा बिशेष छलफल गरेर निर्णय लिइने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै विभिन्न वडाका वडाध्यक्षहरुले आफुहरु वडास्तरबाट यो अभियान सफल पार्न लागिपर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा चौरपाटी गाँउपालिकाका कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु र पूर्व जनप्रतिनिधिहरुले समेत आफ्नो धारणा राखेका थिए ।

गाँउपालिकाको कृषि शाखाकी अधिकृत पुजा जोशीले वडा स्तरमा देखिएका समस्या, सम्भावना र सुझाब सहितको प्रस्तुतती गरेको कार्यक्रममा रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक ध्रुव बीसीले गाँउ गाँउमा पुगेर तयार पारिएको भिडियो सामग्रीको प्रस्तुती सहित सहजीकरण गर्नु भएको थियो ।

बैशाख २८ गते गाँउपालिकाको वडा नम्बर ६ दुनी बाट सुरु भएको अभियान विभिन्न वडा हुँदै सातै वडाका सरोकारवालाहरुको सहभागितामा गाँउपालिकामा बृहत छलफल सहित सम्पन्न भएको हो । चौरपाटी गाँउपालिकाको आर्थिक सहयोग तथा कृषि ज्ञान केन्द्र सँगको समन्वयमा रेडियो सोसाइटी एफएमले अभियानको आयोजना गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *