१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्धिको सपना



निधारमा टीका टाँसेर । घरकालाई रुवाउँदै । हातमा पासपोर्ट बोकेर ।  झोलाभरी सपना बोकेर युवाहरु जहाजमा उडिरहेका छन् । परिस्थिति अनुकुल नभएको भए इस्मा गाउँपालिका–३ दर्लामचौर गहतेका २४ वर्षीय गोकर्ण नेपाली पनि उड्नेहरुकै लाइनमा हुन्थे । तर, नेपालीले घाँस र फूल मार्फत समृद्धिका सपना देखिरहेका छन् । उनले तीन बर्षदेखि ग्यालेक्सी कृषि फार्म संचालन गरेका छन् । गाउँका अर्गेला खेत र बारी गरेर एक सय २० रोपनीमा एक सय २० प्रकारको घाँसको खेति गरेका छन् । युवा पुस्ताका आदर्श पात्र गोकर्णले गत बर्ष मात्रै ४० लाख बढिको घाँसका बिरुवा बिक्री गरेको बताउँछन् । अहिले गाउँमा मान्छे बस्नेभन्दा नबस्ने घरहरु धेरै हुँदै गए । युवाहरुको भिड विमानस्थलमा मात्रै छ । धान झुल्ने खेत र तोरी फुल्ने बारी जंगल बनेका छन् । बुढो घर र बुढा बा–आमाले सन्तान दसैंमा मात्रै देख्छन् । तर, युवा नेपालीले उदाहरणीय कृषि कर्म मार्फत गाउँको संभावना देखाएका छन् ।

कृषि पढाइ अधुरो कर्म सफल

गोकर्ण नेपाली सानै उमेरदेखि कृषिकर्ममा विश्वास गर्थे । एसइईपछि ०७४ मा कृषि विज्ञान अध्ययनका लागि चितवन पुगे । केही महिना अध्ययन पनि गरे । तर, आर्थिक अभावले पूरै पढ्न सकेनन् । कात्तिक ०७५ मा युएईको होटेल हिल्टन गार्डेन पुगे । वेटरमा गएको भए पनि उनलाई त्यहाँ सुरुमा तीन महिना सरसफाइको काममा लगाइयो । त्यसको केही समयपछि उनले महिनाको ६० हजार कमाइ हुने गरी राम्रो जागिर पाएका थिए । तर, कोभिड सुरु भएपछि काम बन्द भयो । उनले झन्डै तीन लाखजति जोगाएका थिए । त्यही पैसा बोकेर नेपाल फर्किए ।

 गोकर्ण परदेशबाट फर्किँदा घरमा बुबा क्यान्सरले थलिएका थिए । उनले परदेशमा कमाएको सबै धन उपचारमा सके पनि बुबालाई बचाउन सकेनन् । आइसियूको पैसा तिर्न नसकेर अस्पतालले शव दिएन । आमाको गणेशमाला बेचेर शव घर ल्याएर अन्त्येष्टि गरे । घरमा शव ल्याउने एम्बुलेन्सलाई दिने पैसासमेत गोकर्णसँग थिएन । बुबाको उपचार र काजक्रियाको ऋणले गोकर्ण अत्तालिए । आमासहित चारजनाको परिवार । गोकर्ण परिवारका जेठो छोरा । ऋण बोकेको काँध फेर्ने विकल्प थिएन परिवारमा । कोभिडले परदेश पस्ने अवस्था पनि थिएन । उनले गाउँमै उद्यमको बाटो खोजे ।

मोटरसाइकल बेचेर घाँसको बिरुवा ल्याए । गाउँमा पानी थिएन । टाढाबाट बोकेको पानीले बिरुवा हुर्काउनुपर्ने बाध्यताका बीच काम गर्न थाले । गोकर्णले आफ्नो ८० रोपनी र छिमेकीको एक सय २० रोपनी लिजमा लिएर घाँसका एक सय २० प्रकारका घाँस रोपेका छन् । त्यसमध्ये ११ प्रकारका घाँस जिल्लामा आफूले मात्रै व्यावासायिक खेती गरेको नेपालीले दाबी गरे । उनी बिउ, बेर्ना र घाँस उत्पादन गर्छन् । घाँसको प्रतिबिरुवा पाँचदेखि ५० रुपैयाँसम्म पर्छ । उनले गत वर्ष करिब ४० लाखको घाँसको बिउ तथा बिरुवा बिक्री गरे । विशेष गरेर राइखन्नु, निमारो, इन्दु, नेपियरका १३ प्रजाति, इपिलइपिल, मुलाटो, भटमासे, ग्वाटेमाला, किम्बु, कान्भाटुलगायतका उन्नत जातका घाँस नेपालीको फार्ममा छन् ।

गत वर्ष गुल्मीसहित ५२ जिल्लामा घाँसका बिरुवा निर्यात गरेको उनले बताए । ‘घाँसको बिरुवा बिक्रीबाट राम्रो सफलता कमाएँ । ५२ जिल्लामा ४० लाखभन्दा बढीका बिरुवा पुर्‍याएँ,’ उनले भने । आमा र भाइले गोकर्णको काममा साथ दिएका छन् । उनले व्यावसायिक बाख्रापालन पनि गरेका छन् । उनको खोरमा ५४ वटा बाख्रा छन् । चार लाखभन्दा बढीको आधुनिक खोर बनाएका छन् । फर्ममा आफूसहित, भाइ र तीनजना कामदार दैनिक काम गरिरहेका छन् । उनले घाँसको बिउ रोप्ने र बिक्री गर्ने वेला झन्डै दुई दर्जनलाई जागिर पनि दिने गरेका छन् ।

फूलको रहरले पनि राम्रो आम्दानी

नेपालीले गत जेठबाट फूलको व्यावसायिक खेती पनि सुरु गरे । गाउँपालिकाले फूलखेतीलाई ५० हजार सहयोग गर्‍यो । त्यसैमा कृषि ज्ञानकेन्द्रले पुष्प नर्सरी स्थापनामा सहयोग गरेपछि गोकर्णमा फूलखेतीको ऊर्जा भरियो । उनले आठ रोपनीमा फुलखेती गरेका छन् । मुख्यतया जग्गा, बिउ, मल्चिङ प्लास्टिक, गमला र सिँचाइ फूलखेतीका लागि आवश्यक पर्छ । उनले भदौबाटै फूल  बिक्री सुरु गरेका छन् । व्यापारिक शैली जानेका नेपालीले जिल्लाका मुख्य कार्यक्रममा माला पुर्‍याउने गरेका छन् । नेपालीका अनुसार फूलको प्रतिकिलो पाँच सय र एउटा मालाको एक सय ५० रुपैयाँ बजारमूल्य पर्छ । उनले अहिलेसम्म ६५ हजारको फूल बिक्री गरेको बताए । उनले बाह्रैमास फूलखेतीको योजना बनाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *