२९ भाद्र २०८१, शनिबार | Sep 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा र आरजुमाथि फेसबुकमा टिप्पणी गर्ने पक्राउ, कागज गराएर रिहा 



धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि फेसबुकमा टिप्पणी गरेको आरोपमा कैलाली प्रहरीले धनगढीका दुई युवालाई नियन्त्रणमा लिएर छाडेको छ । जिल्ला प्रहरी कार्यालयले फेसबुकमा ‘स्टाटस’ लेखेको आरोपमा धनगढीका प्रतीक जोशी र रचित शाहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिई राति छाडेको हो । 

पक्राउ गर्नुको कारण खुलाएको छैन । तर, शान्तिसुरक्षामा खलल नपुर्‍याउने कागज गराएर उनीहरूलाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले मौखिक उजुरीका आधारमा दुईजनालाई केहीबेर नियन्त्रणमा लिइएको बताए । उनले कस्तो खालको उजुरी भन्नेबारे खुलाएनन् । ‘शान्तिसुरक्षाको सवालमा केही चुनौती आउन सक्ने भन्ने थियो, ल्याएर हिजै छोडेका छौँ,’ उनले भने, ‘यसबारे योभन्दा धेरै नबोलौँ ।’ 

फेसबुकमा आफूले कुनै आपत्तिजनक विषय नलेखे पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएको प्रतीकले बताए । ‘मुलुक अहिले वास्तवमा संकटै संकटमा छ, आमजनता संकटको अवस्थामा छन्,’ प्रतीकले लेखेका थिए, ‘संस्कार नभएका भनेर बोलेको लोकलाजको विषय बनेको छ । तपाईंहरूको प्रजातन्त्रमा यस्तै हुन्छ ?’ शान्तिसुरक्षामा खलल नपुर्‍याउने कागज गराएर प्रहरीले राति रिहा गरेको उनले बताए ।

रचितले पाँचपटक प्रधानमन्त्री हुँदा पनि पनि देउवाले केही काम गर्न नसकेको, भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीलाई पार्टीबाट कारबाही नगरेको र गिरीबन्धु घोटालाका आरोपितलाई प्रधानमन्त्री बनाएको आशयले स्टाटस लेखेका थिए ।

प्रतीकका अनुसार अपराह्न चार बजेतिर बोराडाँडीमा खाजा खाने क्रममा आएका प्रहरीले सोधपुछ गर्नु छ भनेर दुवैजनालाई नजिकैको प्रहरी बिटमा लगेका थिए । ‘त्यहाँबाट जिल्ला प्रहरी कार्यालय जानुपर्‍यो भनेपछि आफ्नै गाडीमा जिल्ला प्रहरीमा गयौँ,’ प्रतीकले भने, ‘डेढ घण्टासम्म परिसरमा राख्यो । पछि प्रहरीले फेसबुक प्रोफाइलमा के छ, पढाइ, राजनीतिक आस्था के हो भनेर सोधे ।’

सामान्य सोधपुछपछि गार्डसेलमा लगेर राखेको उनले बताए । प्रतीकका अनुसार करिब डेढ घण्टा गार्डसेलमा राखेपछि दुवैजनालाई थुनुवा कक्षभित्र राखिएको थियो । थुनुवा कक्षबाट हतकडी लगाएर स्वास्थ्य जाँचका लागि सेती प्रादेशिक अस्पताल लगिएको उनले बताए । ‘शान्तिसुरक्षामा खलल नपुर्‍याउने कागज गराएर राति रिहा गर्‍यो,’ उनले भने, ‘सोधपुछका क्रममा प्रहरीले शान्तिसुरक्षामा चुनौती भयो भने, तर हामीलाई किन पक्राउ गरेको स्पष्ट बताएनन् ।’ 

पक्राउ गरेर हतकडी लगाउनुपर्ने गरी अपराध नगरेको उनले बताए । ‘हामीले वाक् स्वतन्त्रताको प्रयोग गरेका हौँ, शान्तिसुरक्षा बिथोल्ने योजना थिएन,’ उनले भने, ‘नियन्त्रणमा लिनुपर्ने कारण थिएन ।’ करिब डेढ घण्टा थुनुवा कक्षमा बस्नुपरेको उनले बताए । 

परराष्ट्रमन्त्री देउवा बुधबार धनगढी आउने पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बुधबार बिहान धनगढी आएकी छिन् । शान्तिसुरक्षाका लागि भन्दै प्रहरीले कांग्रेसकै नेताहरूको दबाबमा दुईजनालाई पक्राउ गरेको बताएको छ । 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ९ : ५३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *