१६ बैशाख २०८१, आइतबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संस्कृत भाषाको महत्त्व



संस्कृत ‘सम्’ उपसर्गपूर्वक ‘कृ’ धातुदेखि क्त प्रत्यय लागरे निष्पन्नभएको शब्द हो । संस्कृतलाई विश्वको सबैभन्दा प्राचीन र समृद्ध भाषा मानिन्छ । पश्चिमाहरू प्राचीन गीक र ल्याटिन भाषालाई गर्वका साथ आफ्नो इतिहाससँग जोड्ने गर्छन् । तर उनीहरू नै ल्याटिन र ग्रीक भाषाभन्दा पनि संस्कृत भाषालाई सुसंस्कृत भाषा मान्छन् । पश्चिमा  र विश्वविद्यालयमा संस्कृत भाषाको अध्ययन बढ्दै गइरहेको छ । हाम्रा पौरस्त्य वाङ्मय ज्ञान विज्ञानका अभूतपूर्व स्रोत हुन् । अङ्ग्रेजहरूले संस्कृत भाषा र पौरस्त्य दर्शनको महत्त्व बुझेर नै संस्कृत पाङ्मय चोरेर लण्डन पुर्याए । संस्कृत भाषाको महत्त्वलाई पाश्चात्य संसारले उच्चस्थान दिन थालेको छ । त्यसैले होला विश्वमा संस्कृत भाषाको अध्यापन गराउने विश्वविद्यालयको सङ्ख्या २५० पुगेको छ । जर्मनी, अमेरिका र लण्डनका केही स्कूलहरुमा संस्कृत विषय अनिवार्य गराइएको छ ।

संस्कृतलाई सबै भाषाको जननी मान्न सकिन्छ । संस्कृत भारतीय उपमहाद्वीपको मात्रै होइन यो संसारको सबै भाषाको जननी हो । किनकि यो भाषाको उत्पत्ति हुनुअघि संसारमा भाषाको विकास भएकै थिएन । दक्षिण एसियामा मुगल साम्राज्य स्थापना हुनुभन्दा अघिसम्म संस्कृत समस्त आर्यवर्तको राजभाषा थियो । संस्कृत विश्वको सबैभन्दा बढी शब्द भएको भाषा हो । संस्कृत भाषाका १०२ अर्ब ७५ करोड ५० लाख शब्दहरू रहेको बताइन्छ । एउटै वस्तुका लागि सयौं पर्यायवाची शब्द हुनु संस्कृत भाषाको विशेषता हो । संस्कृत बोल्दा जिब्रोका सबै मांसपेशीहरूको उपयोग हुन्छ, जसले मानव स्वास्थ्यमा मद्दत पुर्याउँछ । विशाल शब्दकोष भएर पनि सबैभन्दा थोरै शब्दका वाक्य गठन गर्न संस्कृत संसारको एकमात्र भाषा हो । हामीले समृद्ध मान्ने अङ्ग्रेजी भाषाको तुलनामा संस्कृत भाषा बृहत, श्रेष्ठ र वैज्ञानिक छ । उदाहरणका लागि अङ्ग्रेजीमा Uncle को अर्थ काका मात्रै हुँदैन । काका, मामा, फूपाजु, ठुलो बुवा, माहिलो बुवा, साहिलो बुवा आदि सबैलाई बुझाउँछ । तँ, तिमी, तपाईं, हजुर सबैको लागि अङ्ग्रजीमा एउटै नाथे शब्द You प्रयोग हुन्छ ।  Put लाई पुट् भनिन्छ तर Cut लाई कुट् भनिँदैन कट् भनिन्छ । यसो हुनुको अर्थ अङ्ग्रेजीमा शब्दको अभाव दरिद्रता हुनु हो । अङ्ग्रेजीमा शब्द अभाव र व्याकरणीय समस्या धेरै पाइन्छन् । संस्कृत भाषामा त्यस्तो कुनै संकीर्णताको सामना गर्नुपर्दैन । आजभन्दा २५ सय वर्ष पहिले रचना भएको पाणिनीको अष्टाध्यायी व्याकरणजस्तो व्यवस्थित र वैज्ञानिक व्याकरण दुनियाँमा कुनै छैन । संस्कृतको ज्ञानविना नेपाली भाषा शुद्ध लेख्न र बोल्न सकिँदैन । संस्कृतविना नेपाली साहित्यको विकास र प्रतिष्ठा स्थापित हुनै सक्दैन । नेपाली भाषाको आत्मा संस्कृत भाषामै निवृत्त छ । नेपाली भाषामा आएका विसङ्गति र विकृति समाधान गर्ने एउटै औजार संस्कृत हो ।

हाम्रा समाजिक सांस्कृतिक मूल्य मान्यताहरू पौरस्त्य दर्शनबाट मार्गनिर्देशित छन । पौरस्त्य षडदर्शनका सम्पूर्ण ग्रन्थ र वाङमय संस्कृत भाषामा छन् । साङ्ख्य, वैशेषिक, योग, मीमांसा, न्याय र वेदान्त दर्शनले हाम्रो जीवनमा प्रभाव पारेका छन् । आधुनिक विज्ञानको परमाणु सिद्धान्त आजभन्दा पच्चिस सय वर्षअघि हाम्रा आचार्य कणादले वैशेषिक दर्शनको नामबाट प्रतिपादन गर्नुभएको हो । साङ्ख्य दर्शनका प्रणेता कपिलले पश्चिममा द्वन्द्वात्मक भौतिकवाद आविष्कार गर्नुभन्दा दुई हजार वर्षअघि पदार्थ र चेतनाको द्वन्द्ववादी नियमको व्याख्या गरिसकेका थिए । संस्कृत भाषालाई फैलाउन नसक्दा दार्शनिक मान्यतालाई व्यवहारसिद्ध गर्न हामी पछाडि पर्यौ । बौद्ध, चार्वाक र जैन आदि नास्तिक दर्शनका ग्रन्थहरूको भाषा पनि संस्कृत हो । आफ्नो सभ्यता, संस्कृति र मूल्य मान्यता जन्माउने दर्शनको भाषालाई आत्मसात् नगर्नु आफूले आफैलाई नचिन्नु हो । आफ्नो भाषा संस्कृति तोडमोड गर्ने, अवहेलना गर्ने तर अरूको भाषामा गर्व गर्नुको अर्थ ऐना हेरेर आफ्नो अनुहारमा मोसो दल्नु र अरुको अनुहारमा क्रिम पाउडरले सिंगार्नुजस्तै हो ।

पौरस्त्य वाङ्ममयहरूमा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, उपनिषद, महाभारत, रामायण, १८ पुराण सबै संस्कृतमा छन् । संसारमा सबैभन्दा वैज्ञानिक व्याकरण लेख्ने पाणिनीको जन्म नेपालको अर्घाखाँची जिल्लाको हाल पणेना गाउँपालिकामा ई.पू. ५०० मा भएको मानिन्छ । यसमा हामीले गर्व गर्न सक्नुपर्छ । वैदिक परम्परामा गरिने सम्पूर्ण धार्मिक कृत्यहरू संस्कृत भाषामा सम्पन्न गरिन्छन् । प्रातःजागरणदेखि शयनबेलासम्म संस्कृत भाषाद्वारा नै वैदिक कर्म गरिन्छन् । वैदिक सनातन धर्ममा गर्भाधानदेखि अन्त्येष्टि र अन्त्येष्टिदेखि षोडश संस्कारको माध्यम संस्कृत भाषा नै हो । संस्कृत एउटा भाषा मात्रै होइन, यो सुसंस्कृत विचार र संस्कारसमेत हो । भाषा विचार र भावनाको सञ्चार हो । संसारमा विचार र भावनाको सबैभन्दा पहिले सञ्चार गराउने भाषा संस्कृत हो । संस्कृत भाषा आचरण हो । संस्कृत भाषाले भेदभाव, असमानता र नराम्रो मानसिकताबाट मान्छेलाई माथि उठ्न सिकाउँछ । पश्चिमाहरू संस्कृतबाट यति प्रभावित भइसकेका छन् कि उनीहरू भन्ने गर्छन्- ‘जानाति विविधाःभाषाः जानाति विविधाः कला । आत्मानं नैव जानाति यो न जानाति संस्कृतम्’ अर्थात् अनेक भाषा, कला आदिमा निपूर्ण हुँदा पनि आफूले आफूलाई जान्न सकिँदैन तर संस्कृत जसले जान्यो उसले स्वयंलाई चिन्छ ।

संस्कृत जस्तो सुस्पष्ट र वैज्ञानिक व्याकरण संसारको कुनै पनि भाषाको छैन । संस्कृत भाषाको श्रेष्ठतामा कुनै विवाद छैन । पश्चिमा विद्वानहरूले समेत संस्कृतको श्रेष्ठतालाई स्वीकार गरेका छन् । भनिन्छ, अन्तरिक्ष विज्ञान, कम्प्युटर, रोबट र रकेटजस्ता सूचना सूचीकृत गर्ने प्रविधिमा संस्कृत भाषाको मात्रै अपरिहार्यता सिद्धभएको छ । तर, यो सत्यतालाई उद्घाटित हुन नदिएर अङ्ग्रेजीलाई नै सिद्ध गराउने धाउन्नमा पश्चिमाहरू लागिपरेका छन् ।

हाम्रो छिमेकी देश चीनमा क्रान्ति भयो तर चिनियाँहरूले आफ्नो भाषालाई सबैभन्दा उच्चस्थानमा राखे । अमेरिकी आक्रमणमा जापानको हिरोसिमा र नाकासाकी सहर ध्वस्त भयो । जापान आफैं विश्वयुद्धमा सामेल भएर धेरै मूल्य चुकायो तर उसले आफ्नो भाषालाई सबैभन्दा महत्त्व दियो । जापान, कोरिया, चीन, भियतनाम र थाइल्याण्डजस्ता एसियाली देशहरू चमत्कारिक विकासको बाटोमा छन् । आज उनीहरूको भाषा सिकेर धेरै देशबाट कामदारहरू त्यहाँ काम गर्न जान्छन्, यो उनीहरूले आफ्नो भाषालाई गरेको सम्मानको परिणाम हो ।

राजनीतिक क्रान्तिले भाषा, साहित्य, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासमा गति प्रधान गर्छ । नेपालमा २००७ सालमा भएको राजनीतिक परिवर्तनलाई क्रान्तिको नाम दिइयो । त्यसपछि २०३६ साल, २०४६ साल र २०६२-०६३ मा भएको राजनीतिक परिवर्तनलाई पनि क्रान्ति भनियो । तर हामीले भन्ने गरेका क्रान्तिबाट भाषा, साहित्य, सामाजिक सांस्कृतिक मूल्य र मान्यताहरूको संरक्षण सम्बर्द्धन भएको पाइँदैन । भौतिक तथा पूर्वाधार विकासमा पनि क्रान्तिको परिणाम देखिँदैन । बरू यी सबै क्षेत्र समस्याले आक्रान्त भएका देखिन्छन् । क्रान्तिको नाममा दाङ्स्थित नेपाल संस्कृत विश्वविद्यालयमा आगजनी गरियो । संस्कृत भाषाका पुस्तकहरू जलाएर नष्ट पारियो । सन् ११०० तिर भारतीय उपमहाद्वीपमा अरबीहरू र अङ्ग्रेजहरू प्रवेश गरी थुप्रै संस्कृत वाङ्मय जलाएर ध्वस्त गरेका थिए । त्यतिबेला भारतीय उपमहाद्वीपका सम्पूर्ण देशको भाषाको लिपि देवनागरी थियो र संस्कृत चलन चल्तीको भाषा थियो । विदेशीहरूले आफ्नो प्रभुत्व स्थापित गर्न हाम्रो सामाजिक संस्कृति धरोहर ध्वस्त गरे । तर नेपालीहरूले नै नेपालको संस्कृत विश्वविद्यालयमा आगजनी गरेर संस्कृत वाङ्मय ध्वस्त गरेर कसलाई खुसी बनाउन खोजेका हुन् ? उत्तर दिन सम्बन्धित पक्ष तयार छैन ।

नेपालमा संस्कृत भाषाप्रतिको अनास्था २०४६ को जनआन्दोलनपछि बढेको देखिन्छ । २०४६ सालको राजनीतिक परिवर्तनअघि नेपालको विद्यालयस्तरदेखि संस्कृत भाषाको अध्ययन गराइन्थ्यो । संस्कृत भाषासहित नैतिक शिक्षाको पनि अध्ययन अध्यापन गराइन्थ्यो । आजकाल नेपालको विद्यालयस्तरमा संस्कृत भाषाको सट्टा अङ्ग्रेजी भाषाको अध्ययनमा जोड दिइन्छ । कुनै-कुनै विद्यालयमा भने संस्कृत भाषा अध्ययन गराइन्छ तर यस्ता शैक्षिक संस्थाहरू औंलामा गन्न सकिन्छन् । कलेज र विश्वविद्यालयस्तरमा पनि संस्कृत भाषामा उदासीनता उत्तिकै देखिन्छ । नेपाल संस्कृत विश्वविद्यालय र सो अन्तर्गतका कलेजहरूमा संस्कृत भाषा अध्यापन गराइन्छ तर यसको क्षेत्र सानो छ । नेपालमा शिक्षामा निजीकरण भएसँगै नेपाली भाषामाथिको आक्रमणमा बढोत्तरी भएको पाइन्छ ।

आजकाल आधुनिकताको नाममा संस्कृत भाषालाई ऋषिमुनि र पुरोहितहरूको भाषा भनेर नाक खुम्याउनेहरूको सङ्ख्या अधिक छ । उनीहरू संस्कृतलाई मरेका मान्छेको भाषा भनेर खिसी गर्छन् । संस्कृतलाई पुजापाठ, यज्ञ र कर्मकाण्डमा मात्रै सीमित भाषाको रूपमा बुझिँदै छ । त्यति मात्रै होइन, संस्कृत भाषालाई ब्राह्मणवादी, सामन्तवादी र राजतन्त्रवादी राज्यप्रणालीको पक्षपोषण गर्ने अस्त्रको रूपमा विरोध गर्ने ठुलो तप्का छ । जुन, अबुझपना हो । भाषाको सम्बन्ध संस्कृतिसँग छ । राजनीतिले संस्कृतिको जगेर्ना गर्नुपर्दछ, त्यसको माध्यम भाषा हो । संस्कृत भाषालाई होच्याएर त्यस्ता मान्छेले खिसी गरिरहेका छन् जसले नेपाली भाषामा एउटा वाक्य शुद्ध लेख्न जान्दैनन् । उच्चशैक्षिक उपाधिवाला नेपाली भएर नेपाली नै शुद्ध लेख्न नसक्ने हाम्रो नियति बनेको छ । सूर्य उदाएर पश्चिममा अस्ताइसक्दा पनि सूर्यको उज्यालो पत्ता नपाउनेहरूले सूर्यलाई दोष दिनु मूर्खता मात्र हो ।

नेपालमा विद्यालयस्तर र उच्चशिक्षामा संस्कृत भाषालाई अनिवार्य बनाउन अपरिहार्य भइसकेको छ ।  विज्ञान प्रविधिको विकासमा जति फड्को मारे पनि पनि हामी आफ्नो धरातल बिर्सिन सक्दैनौ । हामी को हौ ? हाम्रो सामाजिक सांस्कृतिक धरहोरको पहिचान के हो ? उत्तरका लागि संस्कृत भाषाको शरणमा पर्नैपर्ने हुन्छ । आफ्नो अपूर्ण पहिचानबाट हामीले विश्वको असीमित ज्ञान प्राप्त गर्न सक्दैनौं । आफ्नो पहिचान थाह नपाउँदा हामी अधुरो, एकाङ्की र सारहीन हुनेछौं । पाश्चात्य जगतमा संस्कृत भाषाको महत्त्व दिन प्रतिदिन बढिरहेको बेला नेपालमा अङ्ग्रेजी भाषाको महत्त्व बढ्नु आश्चर्यजनक छ । यसो हुनुको कारण आफूले टेकेको संस्कृति र भाषिक धरातल चिन्न नसक्नु हो ।

पश्चिमा देशहरूको संस्कृत भाषाप्रति मोह बढ्दै गएको समयमा संस्कृतको उदभवस्थल नेपाल र भारतमा भने अङ्ग्रेजी भाषाप्रति मोह बढ्नु चिन्ताको विषय हो । अङ्ग्रेजीलाई वैज्ञानिक र सभ्यभाषा मान्ने तर संस्कृतलाई परम्परागत कर्मकाण्डी भाषा मान्ने प्रवृत्ति जुन बढिरहेको छ, त्यो खतरनाक मनोवृत्ति हो । हाम्रा पौरस्त्य ऋषिमुनिहरूले संस्कृत भाषाबाटै ज्ञान प्राप्त गरे । वादरायण, गौतम बुद्ध, आचार्य कपिल, अक्षपात गौतम, आचार्य कणाद, महर्षि पतञ्जलि, याज्ञवल्क्य, पाणिनी आदि विद्वानहरूले संस्कृत भाषाबाट नै विराट ज्ञान आर्जन गरे । हाम्रा पुर्खाहरूले दार्शनिक ज्ञान प्राप्त गरेका वाङ्मय र संस्कृत भाषाबाट हामी मात्रै कसरी ज्ञान प्राप्त गर्न सक्दैनौं ?

संस्कृतका हरेक श्लोक ज्ञानमुलक र चरित्रवान् हुन्छन् । संस्कृत पढ्दा मान्छेको स्मरण शक्ति बढ्छ । संस्कृत दार्शनिक भाषा हो । हाम्रा ऋषिमुनिले संस्कृतलाई वेदवाणी मानेका थिए । देववाणी मान्नुको अर्थ संस्कृत अपौरुषेय भाषा हो । संस्कृतको विराट शब्दकोष, सुगठित तथा व्यवस्थित व्याकरण प्रणाली, दार्शनिक चिन्तन प्रणालीको आधारमा यसलाई देववाणी मान्न अत्युक्ति हुँदैन । साथै विश्वको सबैभन्दा सशक्त वैज्ञानिक संस्था मानिने अमेरिकी संस्था नासाले अन्तरिक्ष, कम्प्युटर, रोबोटका लागि संस्कृत निर्विकल्प भाषा मान्नु कतै यो देवभाषा नै त होइन भन्ने शङ्का जन्माउँछ ।

हामीले आफ्नो भाषिक र दार्शनिक धरातल बिर्सेको कारण आयातित राजनीतिक प्रणाली अङ्गीकार गर्यौं । ब्रिटिश राजतन्त्र निकै पुरानो हो । ब्रिटिशहरू भारत प्रवेश गर्ने समयमा वर्तमान भारतको भूगोलमा सयौं राज्यहरू थिए । ब्रिटिशहरूले भारतलाई एकीकरण गर्दा बेलायतको जस्तै शासनप्रणाली स्थापना गर्न चाहन्थे । त्यसैले बेलायती महारानी भारतको पनि महारानी हुने व्यवस्था गरियो । सन् १९४७ मा ब्रिटिशहरू फर्किने समयमा सयौं राज्य जोडेर बनाएको भारतमा राजतन्त्र जन्माउन सम्भव थिएन । दोस्रो विश्वयुद्धले बेलायतको अर्थतन्त्र जर्जर अवस्थामा भएको कारण ब्रिटिशहरू भौतिकरूपले भारतमा बस्न असम्भव थियो । तर उनीहरू सांस्कृतिक उपनिवेशको चङ्गुलबाट भारतलाई मुक्त गर्न चाहँदैनन् थिए । त्यसैले बेलायतको आलङ्कारिक राजतन्त्रको झल्को दिने गरी भारतमा आलङ्कारिक राष्ट्रपतिसहित वेस्ट मिनिस्टर संसदीय प्रणालीको व्यवस्था गरेर फर्किए । अङ्ग्रेजले भारतलाई छोडेर गएको राजनीतिक प्रणाली, भाषिक, सामाजिक, शैक्षिक र न्यायिक प्रणाली जस्ताको तस्तै नेपालमा सङ्क्रमित गराइयो । तर पनि राजतन्त्रको कारण नेपालको मौलिक पहिचान जीवितै थियो । वि. सं. २०४६ सालमा पश्चिमा र भारतको योजनामा संवैधानिक राजतन्त्रको रूपमा नेपाललाई भारतीय प्रणालीको करिब नजिक पुर्याइयो । वि. सं. २०६२ मा नेपाली नेताहरू दिल्लीले आयोजना गरेको बैठकमा बसेर नेपालमा हुबहु भारतीय राजनीतिक मोडेल लागूगर्ने योजनामा सही गरे । सो योजनाअनुरूप भारतीय राजनीतिक प्रणालीजस्तै नेपाललाई बनाउन २०६२ को आन्दोलन आयोजना गरियो ।

नेपालमा राजनीतिक प्रणाली आफ्नो छैन । यहाँका नेताहरूले सोच्ने विकास र योजनाको मोडेल आफ्नो छैन । हुँदाहुँदा शिक्षा प्रणाली आफ्नो लागि होइन, अरुका लागि जागरुक छ । नेपाली भाषाको मौलिकता माथि यति आक्रमण भइसक्यो कि विदेशी भाषा जान्न सके मात्र रोजगार बन्न सकिने दिन आइसके । न्याय व्यवस्थाको हालत त्यस्तै छ । देश हेर्दा नेपाल सङ्कटासन्न अवस्थामा छ । यस्तो जटिल अवस्थामा पुगेको देशलाई जोगाउन सबैभन्दा पहिले सामाजिक सांस्कृतिक धरातलको संरक्षण गर्नुपर्छ । नेपालको सामाजिक सांस्कृतिक धरालतको जग नेपाली भाषा हो । नेपाली भाषाको आमा संस्कृत हो । अतः नेपालको मौलिकताको रक्षाको लागि संस्कृत भाषालाई विद्यालयस्तरदेखि उच्चशिक्षाको पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *