२९ भाद्र २०८१, शनिबार | Sep 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरापछि ‘धोडी’ र देउडाको रौनक



दार्चुला । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ भएको सुदूरपश्चिमेलीहरूको मौलिक पर्व गौरा अष्ठमी भदौ १० गते सकियो । तर गौरा सकिएकै दोस्रो दिनदेखि लेकम क्षेत्रका मठमन्दिर तथा शक्ति पीठहरुमा खेडी, धोडी, लमधोडीको कारण देउडाको रौनकता छाएको छ ।

यस क्षेत्रका अधिकांश गाउँबस्तीमा खेल देउडा रौनकले साथिभाई इष्टमित्र भेटघाटको रुपमा रहेको छ । गौराको मुख्य दिन अठ्यावाली पछि गाउँमा ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत र देउडाको रौनक छाएको शैल्यशिखर नगरपालिका–७ का दुर्गादत्त जोशीले बताए । 

‘अहिले गाउँघरमा निकै रमाइलो वातावरण छ । परदेशीहरु पनि घरमा पुगेका छन् । चेलीबेटी माइत घर आएर भेटघाट गर्छन् । देउडाका कारण गाउँबस्तीहरु गुञ्जायमान छन्,’ उनले भने। 

विभिन्न राजारजौटा र देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी र चैतहरु गौराको समयमा गाउने र खेल्ने गरिएको भराणे घनश्याम जोशीले बताए । यो आफन्त इस्टमित्रसँग देउडाका माध्यमबाट सुखदुःख साट्ने परम्परा जस्तै हो ।
ठाडो खेल, ढुस्को, धमारी र चैतहरुमा देवीदेवताहरुको उत्पत्ति, रामायण, महाभारतका कथाहरु भन्ने गरिएको छ । ‘गौराका समयमा खेलिने खेलहरु हाम्रा संस्कृति हुन् । यस्ता खेलहरुमा इतिहास समेटिएको हुन्छ ।’ तर पछिल्लो समय गाउँमा मदिरा लगायतका कारण संस्कृतिमाथि विकृति बढेको बताउँछिन्, स्थानीय हेमन्ती जोशी । मान्छेको भीड बढ्नु त राम्रो हो तर विकृति पनि सँगै बढेको छ । 

गौराको समयमा गाउँका सबैजना एकैठाउँमा जम्मा भएर देउडा खेल्ने गरिएको छ। १०/१२ वर्षयता यस क्षेत्रमा मान्छे बढि आउन थालेका छन् । बुढापाकाले गर्दा पुराना भाकाहरु अहिले पनि सुन्न पाइन्छ । मादल, मिजरा, दमाहाको तालमा ठाडी भाका देउडा, खेणी लगायतका पुराना भाकाहरु यस क्षेत्रमा अहिले पनि गुञ्जयमान हुने गर्छ । 

देउडा खेल्दा गोलो घेरामा एकआपसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको स्थानीय जानकार बताउँछन् ।

देउडा विभिन्न समयमा खेल्ने गरिएको भएपनि ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका विधाहरु भने गौराको समयमा मात्रै खेल्ने गरिएको छ । देवीदेवताहरुको देउखलामा बाजागाजासहित पुगेर पूजाअर्चना गर्नाले रोगव्यथा नलाग्ने, जंगली जनावरले अन्न सखाप नपार्ने जस्ता किम्बदन्ती रहेको हेमन्ती जोशी बताउँछिन् । 

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *