३ आश्विन २०८१, बिहिबार | Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घोडासैनमा वडा कार्यालयको भवन माग



अछाम । ढकारी गाउँपालिकाको वडा नम्बर ८ घोडासैनका स्थानियले वडा कार्यालय भवनको माग गरेका छन् । वडामा आइतबार आयोजित सार्वजनिक सुनुवाइमा उनीहरुले यस्तो माग गरेका हुन् ।

वडा नम्बर ८ का कार्यबहाक वडाध्यक्ष नन्दा खड्काको अध्यक्षता तथा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदको प्रमुख आतिथ्यतामा सम्पन्न आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइमा सहभागि स्थानिय सुरेश देवकोटाले वडा कार्यालयको भवन नहुदा व्यवस्थित रुपमा सेवा प्रवाह हुन नसकेको गुनासो गरे ।

उनले वडा कार्यालय निर्माणका लागि तत्काल पहल गर्न पनि जनप्रतिनिधि समक्ष माग गरेका छन् । घोडासैनमा वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने बिषयमा आन्तरीक विवाद छ । तर यो बिबाद खुलेर बाहिर भने आएको छैन् । त्यहाँ लम्चु स्थित त्रिपुरा सुन्दरी माध्यामिक बिद्यालय नजिक वडा कार्यालयको भवन बनाउनुपर्ने एक थरीको माग छ भने त्यो भन्दा अर्कै ठाउँमा भवन निर्माण गर्नुपर्ने अर्को थरीको माग छ । जसका कारण वडा कार्यालयको भवन निर्माणको टुंगो लाग्न नसकेको हो ।

तर सार्वजनिक सुनुवाइमा सहभागिहरुले भने सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय बनाउनुपर्ने माग गरेका छन् । सार्वजनिक सुनुवाइमा सहभागि अर्का स्थानिय भरत भण्डारीले कार्यालय व्यवस्थापनका लागि वडा कार्यालयले खर्च गर्ने तीन लाख रुपैयाँ पारदर्शी रुपमा खर्च नभएको आरोप लगाए । उनले त्यो तीन लाख केके शिर्षकमा खर्च भएको भन्ने कुरा प्रस्ट नभएको भन्दै जिज्ञासा राखेका थिए ।

बिगतको घोडासैन गाबिसका पुरानै कुर्सी, टेबुल र अन्य सामग्री मात्रै वडा कार्यालयमा देखिने गरेको तर नयाँ खरिदका नाममा रकम खर्च गरिएको भन्दै उनले त्यो तीन लाखमा अनियमितताको शंका रहेको बताए । त्यसबारे छानबिन गरिनुपर्ने भण्डारीको माग छ । प्रश्न राख्ने क्रममा स्थानिय उज्जली देबी देवकोटा, कला भुल, खन्टी भुल लगायतले टोलटोलमा खाने पानीको व्यवस्था गरिदिन माग गरेका छन् ।

चुनावको बेला खोसेर आफ्नो भोट हालेर पनि नेताहरुले जितेको भन्दै उनले चुनाव जितेसकेपछि जनप्रतिनिधिले वास्ता नगरेको आरोप लगाउदै योजना निर्माणका बेला समेत टोल भेलाका क्रममा सबै सँग समन्वय नभएको गुनासो गरिन् । साथै वडाध्यक्ष सहितका केहि जनप्रतिनिधिलेहरुले आफ्नो इच्छा अनुसारका योजना मात्रै छनौट गर्ने प्रबृति देखिएले अब आउने चुनावमा कुनैपनि पार्टीलाई मतदान नै नगर्ने भन्दै महिलाहरुले आक्रोस समेत पोखेका छन् ।
सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिदै ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले सेवा प्रवाहमा कुनै प्रकारको विभेद नगर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले वडा कार्यालयमा आउने सबै सेवाग्रहीलाई समान व्यवहार नगरेको गुनासो सुने त्यस्ता कर्मचारीलाई कारबाही गरिने भन्दै स्थानियको आवश्यकताका आधारमा सेवा प्रवाह गर्न आग्रह समेत गरे ।

खानेपानी लगायतका अन्य आवश्यकताहरु बारे जानकारी गराउन अनुरोध गर्दै सबै ठाउँमा सुविधा पुग्नेगरी पहल गरिने प्रतिवद्धता सहित अध्यक्ष साउँदले समृद्धिका लागि सबैले सहकार्य गरेर अघि बढे मात्र गाउँपालिकाका सबै ठाउँको मुहार फेरिने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति अछामका सदस्य द्धारीका प्रसाद उपाध्यायले वडा नम्बर ८ मा विभिन्न समस्या रहेको भन्दै त्यसको निकासका लागि सबैको साथ आवश्यक रहेको बताए ।

उनले वडा कार्यालयले सन्तुलित रुपमा काम गरे नगरेको बारे अध्ययन गर्न जरुरी रहेको उल्लेख गरेका छन् । सहभागिहरुबाट उठेका प्रश्नको जवाफ दिदै ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले वडा कार्यालयको दैनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन वडाका जनप्रतिनिधि र कर्मचारीकै बढी भुमिका हुने बताए ।

वडाबाट हुने खरिदहरु उपलब्ध बिल, निर्णय र सिफारिसका आधारमा हुने गरेको भन्दै यदि कुनैपनि खरिदमा बदमासि भएको भेटिए त्यस्तो अवस्थामा तत्काल असुलउपर गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत साहले वडा नम्बर ८ बाट यो आर्थिक वर्षका लागि अहिलेसम्म कुनैपनि योजनाको सम्झौता नभएको भन्दै समयमै योजना सम्झौताका लागि आग्रह समेत गरे । उनले समयमा सम्झौता नगरे वडाको बिकास प्रभावित हुनसक्ने समेत बताए ।

वडा सचिव सर्जन बडुवालले आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति, कार्यक्रम र सेवा प्रवाहको अवस्था बारेको विवरण पेश गरेको सार्वजनिक सुनुवाइमा ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देबी शाही लगायत ढकारी गाउँपालिकाका प्रशासन सहायक नविन रिमाल, कृषि विकास शाखाका प्रमुख दिपेन्द्र कुँवर, पशु सेवा शाखाका प्रमुख नृप प्रसाद भण्डारी, बहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता हरिभक्त उपाध्याय, उद्यम विकास सहजकर्ता नविन बुढा र सहास नेपालका परियोजना अधिकृत अस्मिता घिमिरे लगायत ६४ जना बढीको उपस्थिति रहेको थियो ।

सार्वजकि सुनुवाइको सहजीकरण पत्रकार ध्रुव बीसी, पबित्रा खड्का र कर्ण बुढाले गरेका थिए । ढकारी गाउँपालिकाका ७ वटा वडामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । अब सोमबार वडा नम्बर १ सहित गाउँपालिका स्तरको आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ ढकारीमा हुँदैछ । त्यसका लागि सबै तयारी पुरा भएको ढकारी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ५ : ४७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *