अछाम । ‘मेयरसाब, म अगुवा किशोरी हुँ । महिनावारी हुँदा म नै छाउगोठमा बस्न बाध्य छु । यो कुराले यहाँका अरु किशोरी र महिलाहरुको अवस्था पनि बुझिहाल्नुभयो होला ।
अहिलेपनि हाम्रो गाउँमा कडा रुपमा छाउबार्ने चलन छ । यसको कारण देवताको डर र घरका ज्येष्ठ नागरिकहरु हुन् ।’ अछामको कमलबजार नगरपालिका–३ बयाला स्थित वडा बाल सञ्जालकी अध्यक्ष १४ वर्षीया मनिषा बडुवालले नगर प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदा बिष्ट समक्ष गुनासाको पोको फुकाउँदै भनिन्,‘ज्येष्ठ नागरिकलाई सचेत गराई देवता व्यवस्थापन गरिदिनुस् ।’
बालबालिकाका गुनासा सुन्न बयालाको नेपाल राष्ट्रिय माविमा आयोजित बाल कचहरीमा रामताल, बिष्टवाडा, विद्यानगर, रातीमाटे गणेशदेब लगायत ११ वढी टोलका किशोरीहरु सहित आएकी उनले स्थानिय महिला जनप्रतिनिधि र शिक्षिकाहरु पनि छाउबार्न गोठमा बस्ने गरेको आशय पोखिन् । बाल कचहरीमा सहभागी स्वस्तिका विष्ट, रबिना बिष्ट, प्रियङ्का ढकाल, शान्ति कुवँर, अस्मिता बिष्ट, निलम नचेल लगायतका किशोरीहरुले समेत महिनावारी हुँदा छाउ बार्नेगरेको स्विकार गरे ।
छाउपडी कुप्रथा हटाउन अग्रसर भएर लाग्नुपर्ने मुख्य दायित्व बोकेका बाल सञ्जालका किशोरीहरु, महिला जनप्रतिनिधि र शिक्षिकाले नै छाउबार्ने गरेको सुनेपछि कमलबजार नगरपालिकाका प्रमुख ढकाल वडाध्यक्ष लगायतका जनप्रतिनिधिसँग आक्रोषित बने । ‘यो कुरामा तपाइहरु गम्भीर हुनुस्,’उनले भने,‘सासूससुराले मान्दै मान्नु भएन, देवता रिसाए भनेर अपराध ढाकछोक गर्न पाइदैन ।’ बयाला लगायत नगरका धेरै ठाउँमा फेरि छाउगोठ निर्माण भइरहेका र अधिकांस गाउँमा छाउबार्ने गरेको सुचना आइरहेकाले अब यस बिरुद्ध कडा रुपमा लाग्ने ढकालले बताए ।
यस्तो कुप्रथा विरुद्ध महिला र किशोरीहरु एकजुट हुनुको साटो उनीहरु नै बाधक बन्न थालेकाले अब कानुन बमोजिम कारबाही गर्नु परेपनि पछि नहट्ने भन्दै उपप्रमुख शारदा बिष्टले छाउगोठमा बसेको भेटाए पक्राउ गरिने चेतावनी दिइन् ।
वडाध्यक्ष नन्दसिंह कुँवरका अनुसार बयालामा देवताकै डरले महिला र किशोरीहरुले छाउबार्ने गरेका छन् । यहाँका सबै घरमा महिनावारी भएको बेला दूध, दही खान नपाउने र छाउगोठमा बस्नुपर्ने चलन रहेको उनले बताए । अब यसका बिरुद्ध कानुनी रुपमै नलागेसम्म आफुहरुले सम्झाएर छाउबार्ने चलन रोक्न सम्भव नरहेको कुँवरले बताए ।
नगर प्रमुख ढकाल समक्ष आफ्नो वडाका समस्या सुनाउदै उनले छाउबार्ने चलन मात्र नभएर बालविवाह, अभिभावक गुमाएका, पढ्न नपाएका र पांगता भएका बालबालिकाका समस्या पनि उस्तै रहेकाले यी कुरामा ध्यान दिन आग्रह गरे । उनले वल्डभिजन र आस्था नेपालको सहयोगमा यस्ता समस्या विरुद्ध काम भइरहेको भएपनि नगरले थप बजेट सहित कार्ययोजना निर्माण गरे जिल्लाकै पुछारमा रहेको बयालामा समृद्धिको ढोका खुल्ने बताए ।
यस्ता समस्या विरुद्ध अभियानकै रुपमा लागे विकास साझेदारका तर्फ स्थानिय सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै आस्था नेपालका सचिव कृष्णप्रसाद देवकोटाले रुपान्तरण कक्षा, अभिभावक शिक्षा, र प्रजनन शिक्षा सुधारमा जोड दिए ।
मुलुकी अपराध संहिताले महिनावारी भएका बेला गरिने विभेदलाई अपराध मानेपनि अछाममा अगुवाहरु नै बाधक बनेको भन्दै अधिवक्ता पुष्पराज शर्माले अगुवा किशोरी, जनप्रतिनिधि, अधिकारकर्मी र शिक्षिकाले नै छाउबार्दा कानुन कार्यान्वयनमा समस्या उत्पन्न भएको बताए । अछाम जिल्लामा अहिलेसम्म १४ किशोरी तथा महिलाको छाउगोठमा मृत्यु भएको तथ्यांक छ । यसमरी मृत्यु हुनेमा अधिकांस किशोरी छन् ।
प्रतिक्रिया