काठमाडौं । नवगठित राष्ट्रिय एकता अभियानको संयोजक पदबाट निष्काशन गरिएका वामदेव गौतमले गरेको कारबाही अराजनीतिक, पूर्वाग्रही, अव्यवाहारिक र गैरकानूनी भएको पार्टीका संयोजक युवराज सफलले दाबी गरेका छन्।
कारबाही भोगेर निष्काशनमा परेका वामदेव गौतमले आफूलाई निष्काशन गरेको भन्दै विज्ञप्ति निकाल्नेहरूलाई आज जवाफी कारबाही गरेका थिए। गौतम पक्षधरको सचिवालय बैठकले हिजो सचिवालय सदस्य युवराज सफलसहित, सचिवालय सदस्य कृष्णगोपाल बञ्झरा ,सचिवालय सदस्य मीननाथ देवकोटा र सचिवालय सदस्य निलकण्ठ पौडेललाई निष्काशन गरेको थियो।
तर गौतमको उक्त निर्णय आधिकारिक नभएको संयोजक सफलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लेखेका छन्। साथै गौतमको कथित किचन क्याबिनेट सचिवालयले कसैलाई कारबाही गर्ने हैसियत पनि नभएको उनले लेखेका छन्।
कारबाहीमा परिएकाहरूमाथि लागेको कारबाही संयोजकको हैसियतले खारेज गरेको पनि उनले विज्ञप्तिमार्फत जनाएका छन्। साथै नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रम नियमित रुपमा संयोजक युवराज सफलकै संयोजनमा अघि बढिरहेको लेख्दै उनले अभियानका संयोजक, सचिवालय सदस्यलाई सुरक्षा थ्रेट दिएबारे गृह मन्त्रालयमा निवेदन दर्ता गरिएको जानकारी दिएका छन्।
प्रतिक्रिया