१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धर्मनिरपेक्षता : बहुसङ्ख्यक नेपालीको मनोविज्ञानमा चोट !



नेपालको संविधान २०७२ को धारा ४(१) मा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक राज्य हो’ भनिएको छ ।

साथै, स्पष्टीकरणमा ‘यस धाराको प्रयोजनको लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ’ भनिएको छ ।

कुनै पनि पश्चिमा मुलुकहरू र मुस्लिम मुलुकहरूमा अन्य धर्मावलम्बीहरूका रितिथिति, धार्मिक, सांस्कृतिक चाडपर्वलाई राष्ट्रिय महत्व दिइँदैन ।

धर्मसापेक्ष र निरपेक्षताको कुरा गर्दा धर्मको बारेमा चर्चापरिचर्चा गर्नु सान्दर्भिक हुनेछ । संस्कृत भाषाको ‘धृञ् धारणे’ धातुबाट निष्पन्न भएको शब्द हो धर्म, जसको अर्थ धारण गर्नु भन्ने हुन्छ ।

यसलाई कर्तव्य, दायित्व, स्वभाव र गुणको अर्थमा पनि लिने गरिएको छ । धर्म religion को पर्यावाची शब्द होइन । religion (रिलिजन)को पर्यायवाची शब्द ‘मत, सम्प्रदाय र मजहब’ हो । जस्तै : यहुदी, इसाई, इस्लाम, ताओ, सिन्तो, जरथुस्र, बुद्ध, जैन, शिख आदि ।

धर्म र religion को बिचमा गोरु बेचेको साइनो पनि छैन, तथापि चलनचल्तीमा र हाम्रो संविधाननले समेत धर्मलाई religion को पर्यायवाची शब्द मानेकोले यहाँ त्यसैभित्र रहेर चर्चा गर्ने प्रयास गरिएको छ ।

सर्वप्रथम धर्मसापेक्ष र निरपेक्ष भनेको के हो ? ती दुबैको चरित्र र स्वभाव कस्तो हुन्छ ? यसका सम्बन्धमा चर्चा गर्नु सान्दर्भिक होला ।

सापेक्षको अर्थ स्वतन्त्र रूपले रहेको नभएर अर्कासित सम्बद्ध रहेको भन्ने हुन्छ । त्यसैगरी धर्मसापेक्ष राज्य भन्नाले त्यस्तो राज्यलाई जनाउँदछ, जहाँ कुनै धर्मको सूत्रअनुसार देशको शासन व्यवस्था चल्दछ ।

पञ्चायत कालमा समेत मुसलमानहरूलाई हज (तीर्थ) गर्नका लागि साउदी अरबको मक्का जाने व्यवस्था सरकाले नै गरिदिन्थ्यो ।

त्यस्तो राज्यले अमुक धर्मलाई काखीच्याँपेर अरु धर्महरूमाथि भेदभाव गर्दछ र अरुको अस्तित्व स्वीकार्दैन । पाकिस्तान, इरान, इराक, अफगानिस्तान लगायतका बाङ्लादेशलाई छाडेर अधिकांश मुस्लिम बाहुल मुलुकहरू इस्लाम धर्मसापेक्ष छन् ।

कट्टर इस्लामिक राज्यहरू (साउदी अरब, इराक, इरानजस्ता मुलुकहरू) मा इस्लाम इतरका अन्य धर्महरूका गितिविधिहरू गर्न सख्त मनाही छ । कतिपय मुलुकहरूमा वैदिक सनातन धर्मावलम्बीले आफ्नो आस्थाको रातो टीका पनि लगाउन पाउँदैनन् ।

यी मुलुकहरूमध्ये अधिकांशले अन्य धर्मको अस्तित्व नस्वीकार्ने मात्र होइन, इस्लाम इतर धर्म माने दण्डित हुनुपर्ने अवस्था छ ।

त्यहाँ कुरआनमा जस्तो व्यवस्था गरिएको छ, त्यसैको आधारमा देशको शासनव्यवस्था चल्ने गर्दछ ।

त्यसैगरी धर्मनिरपेक्ष राज्य भनेको कुनै राज्यले कुनै एउटा मात्र धर्मलाई खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्यलाई धर्मनिरपेक्ष राज्य भनिन्छ ।

यस्ता राज्यहरूमा युरोपका (जहाँ धर्मनिरपेक्ष भनिए पनि इसाई धर्मलाई प्राथमिकता दिने गर्दछन्) मुलुकहरू, भारत, नेपाल आदि मुलुकहरू रहेका छन् ।

हाम्रो देश नेपाल परापूर्वकालदेखि नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त र भौगोलिक विविधता भएको मुलुक हो । २०६३ साल ज्येष्ठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गर्‍यो ।

त्यस अघिसम्म नेपाल संवैधानिक राजतन्त्रात्मक हिन्दू अधिराज्यको रूपमा रहेको थियो । संविधानमा हिन्दूधर्म सापेक्ष राज्य भनिए पनि यसको चरित्र र स्वभाव भने नितान्त धर्मनिरपेक्ष नै थियो भन्दा अत्युक्ति हुँदैन ।

किनभने प्राचीन कालदेखि नै यहाँ रहेका इस्लाम र इसाई धर्मावलम्बीहरूले आफ्नो धर्म, धार्मिक संस्कार, संस्कृति, मेला–पर्व, चाल–चलन, रिति–थिति र परम्पराहरूलाई निर्वाध रूपमा मान्दै आएको यथार्थ सर्वविदितै छ ।

उनीहरूलाई राज्यले कहिल्यै पनि हस्तक्षेप गर्ने र बाधा–अड्चन पुर्‍याउने काम गरेन । पञ्चायत कालमा समेत मुसलमानहरूलाई हज (तीर्थ) गर्नका लागि साउदी अरबको मक्का जाने व्यवस्था सरकाले नै गरिदिन्थ्यो ।

आजभन्दा ५०० वर्ष पूर्व नेपालको राजधानीको मुटुमा रहेको घण्टाघरसँगसँगै कस्मिरी मस्जिदको स्थापना भएको र इस्लामधर्मावलम्बीहरूले निर्वाध रूपमा धार्मिक गतिविधि गरिरहेका थिए र अद्यापि गरिरहेको यथार्थ सबैका सामु छर्लङ्ग छ ।

रुपन्देहीको बुटवलमा रहेको जामे मस्जिद बनेको पनि झन्डै अस्सीवर्ष भयो भन्नुहुन्छ यहाँका पाकापुराना इस्लाम धर्मावलम्बीहरू ।

सनातनीहरूले बुद्धलाई विष्णुको अवतार मानेर पूजा गर्दछन् ।

बुटवलको मणिमुकुन्दसेन पार्क(फूलबारी)मा ५०० वर्ष पहिलेको इस्लामिक साधु मदार बाबाको समाधिस्थल अद्यापि सुरक्षित अवस्थामा रहेको छ । त्यसैगरी इसाईका चर्चहरू पनि पहिलेदेखि नै रहेका छन् ।

यहाँ राष्ट्रिय एकताका प्रतीक बडामहाराज पृथ्वीनारायण शाहले दुईजना पादरीहरूलाई देशनिकाला गरेको घटनालाई बढाइ चढाइ गरेर उनलाई धार्मिक असहिष्णु भएको क्रुर शासकको रूपमा चित्रण गरिएको छ ।

यसरी वदनाम गर्नेमध्ये कतिपयले इतिहासको अध्ययन नै गरेका छैनन्, केवल सुनेका भरमा स्यालहुइयाँ गरेका छन् भने कतिपयले वैदिक सनातन धर्मको विरुद्धमा नियतवश षड्यन्त्र गरिरहेका छन् । ती पादरीहरूलाई देशनिकाला गर्नुको उद्देश्य धार्मिक थिएन ।

उनीहरूले हाम्रो देशको विरुद्धमा जासुसी गरेको प्रमाण पाएपछि मात्र देशनिकाला गरिएको थियोे । पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’मा भनिएको छ, ‘यिनीहरू साधुसन्त होलान् भनेको त जासुसी गन्र्या पो रहेछन् ।’

यो त केवल प्रतिनिधि उदाहरण मात्र हो ।

मुलुकलाई धर्मनिरपेक्ष राज्य घोषणा गर्नु बहुसङ्ख्यक जनताको भावना र मनोविज्ञानमा चोट पुर्‍याउनु मात्र भएको छ ।

मुलुकभरि हेर्दैजाने हो भने पाँच–सातसय वर्ष पुराना मस्जिद र चर्चहरू अनगिन्ती भेटिन्छन् । जैन, बुद्ध र शिख धर्मलाई हिन्दू भनिने सनातन धर्मावलम्बीहरूले आफ्नै परिवारभित्रको सदस्यका रूपमा लिने गरेका छन् ।

हरेक सनातनीको घरमा भगवान बुद्धको फोटो वा मूर्ति हुनु सामान्य मानिन्छ । त्यसैगरी महावीर र गुरु नानकको पनि देखिन्छ ।

सनातनीहरूले बुद्धलाई विष्णुको अवतार मानेर पूजा गर्दछन् ।

त्यसैगरी मोहर्रमको दिन तराईका नेपालीहरूले तहजिया बाबाको व्रत बस्ने र तहजिया बनाएर गाजा बाजाको साथमा ‘तहजिया बाबा हुसे’ को नारा लगाउँदै त्यस तहजियालाई नजिकको कुनै जलाशयमा लगेर विसर्जन गर्दछन् ।

यो हाम्रो देशको धार्मिक सहिष्णुताको अनुपम उदाहरण हो । तसर्थ, यो देशलाई धर्मनिरपेक्ष घोषित गर्नुको कुनै तुक छैन ।

प्रजातन्त्र भनौँ वा लोकतन्त्रमा अल्पमतको सम्मान र बहुमतको शासन हुन्छ । बहुमतको निर्णयलाई सबैले स्वीकार्नु पर्दछ । यो लोकतान्त्रिक पद्धति हो ।

धर्मका सम्बन्धमा पनि यही नियम लागु भएको देखिएको छ । कुनै पनि पश्चिमा (क्रिस्चियनहरूको बाहुल्यता भएका मुलुकहरू) मुलुकहरू र मुस्लिम मुलुकहरूमा अन्य धर्मावलम्बीहरूका रितिथिति, धार्मिक, सांस्कृतिक चाडपर्वलाई राष्ट्रिय महत्व दिइँदैन ।

ती मुलुकहरूमा क्रिसमस डे र मोहर्रम, ईद आदि उनीहरूकै परम्परालाई मात्र मान्यता दिइन्छ ।

यसको अर्थ यहाँ पनि त्यस्तै गर्नुपर्दछ भन्ने कदापि होइन, कुरो के मात्र हो भने हाम्रो देश प्राचीनकालदेखि नै धर्मनिरपेक्ष स्वभावको भएकाले र एउटै धर्ममा आस्था राख्ने अस्सी प्रतिशतभन्दा बढी जनता भएको हुनाले यस मुलुकलाई धर्मनिरपेक्ष राज्य घोषणा गर्नु बहुसङ्ख्यक जनताको भावना र मनोविज्ञानमा चोट पुर्‍याउनु मात्र भएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *