२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिर्गौला प्रत्यारोपणबारे २४ भ्रम



मिर्गौलामा लाग्ने विभिन्न रोगमध्ये मिर्गौला बिग्रिने प्रमुख समस्या हो। दुवै मिर्गौला पूर्ण रुपमा बिग्रेमा बिरामीसँग जीवनभर डायलासिस गरेर बस्ने या मिर्गौला प्रत्यारोपण गर्ने विकल्प मात्र बाँकी रहन्छ।

सबै उपायलाई हेर्दा मिर्गौला प्रत्यारोपण उत्कृष्ठ देखिन्छ। तर, मिर्गौला प्रत्यारोपण विरामीको सबै समस्याको हल भने हैन। मिर्गौला प्रत्यारोपणपछि पनि बिरामीले नियमित औषधि खानुपर्छ, अनि नियमित चिकित्सकलाई भेट्नुपर्छ।

मिर्गौला प्रत्यारोपणको प्रक्रियामा धेरै जटिलता छन्। त्यसमध्ये पनि विरामीलाई मिल्ने मिर्गौला छान्ने काम जटिल मानिन्छ। यस प्रक्रियामा मिर्गौला दिन ईच्छुक व्यक्तिले धेरै कानूनी तथा स्वस्थ्य सम्बन्धी जाँच गर्नुपर्छ।

समस्या भएको मिर्गौलाले काम नगर्ने हुँदा बिरामीको शरीर कमजोर हुन्छ। अन्य स्वास्थ्य समस्या पनि थपिन्छन्। यस अवस्थामा प्रत्यारोपण गर्दा केही जोखिम मोलेर शल्यक्रिया गरिन्छ।

समाजमा देखिएका केही भ्रम र यथार्थ:

भ्रमः मिर्गौला बिग्रिएका बिरामीलाई प्रत्यारोपण अन्तिम उपाए हो।

तथ्यः हैन। प्रत्यारोपण पहिलो उपाय हो। मिर्गौला बिग्रेपछि बिरामीले डायलासिस या प्रत्यारोपण गर्नुपर्छ। डायलासिस भन्दा मिर्गौला प्रत्यारोपण सबै हिसाबले सहज हुन्छ।

भ्रमः धेरै समयसम्म डायलासिस गराउँदा मिर्गौला प्रत्यारोपण गर्न सकिन्न।

तथ्यः गलत। कुनै पनि वेला प्रत्यारोपणमा गर्न सकिन्छ।

भ्रमः मसँग प्रत्यारोपण पहिला चाहिने खर्च, शल्यक्रिया गर्दा लाग्ने खर्च अनि पछि चाहिने खर्च छैन।

तथ्यः सरकारले बिरामीको लागि पाँच लाख रुपैंया दिएको हुन्छ। यो रकम शल्यक्रियामा खर्च हुन्छ। शल्यक्रियापछि पनि बिरामीले औसत १० देखि २० हजार बराबरको औषधि खानुपर्छ। यो सबै कुरा विचार गरेर मात्र प्रत्यारोपणमा जानुपर्छ।

भ्रमः मिर्गौला प्रत्यारोपण डायलासिसभन्दा निकै खर्चिलो छ।

तथ्यः गलत। प्रत्यारोपण भनेको एक पल्टको खर्च हो। डायलासिस जीवन भर गर्नुपर्ने हुँदा यसको खर्च धैरै हुन्छ। डायलासिस गराई रहँदा बिरामी पूर्णरुपमा कहिले स्वस्थ्य हुन सक्दैन।

भ्रमः आफूले चाहेमा जो सुकैलाई मिर्गौला दान गर्न सकिन्छ।

तथ्यः हैन। नेपाल सरकारले तोकेको पारिवारिक नाताभित्र मात्र मिर्गौला दान गर्न सकिन्छ।

भ्रमः मलाई धैरै स्वास्थ्य समस्या छन्, के म मिर्गौला दान गर्न सक्छु?

तथ्यः यस्ता धेरै कम रोग छन्, जसका कारणले मिर्गौला दिन नमिल्ने हुन्छ। मिर्गौला दिनुभन्दा पहिला दाताको मानसिक तथा स्वास्थ्य सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ। अनि दातालाई पछि केहि समस्या हुन्न भने मात्र मिर्गौला दिन योग्य ठहराइन्छ।

भ्रमः मिर्गौला दानपछि दाताले सामान्य जीवनयापन गर्न सक्दैनन्।

तथ्यः गलत। दातासँग रहेको स्वास्थ्य मिर्गौलाले शरीरलाई चाहिने सम्पूर्ण काम गर्न सक्छ। अरु सामान्य मानिसभन्दा केहि फरक हुन्न। आम मानिस जत्तिकै बाँच्न सक्छ। उसमा कुनै शारीरिक दुर्वलता आउँदैन। सन् १९५४ मा पहिलो प्रत्यारोपण भए यता संसारभरि धेरै मिर्गौला प्रत्यारोपण भइसकेका छन्। ती दाताको बाँकीको जीवनलाई हेर्दा यो कुराले पुष्टि हुन्छ।

भ्रमः मिर्गौला दान गरेको केही समयपछि दातालाई मिर्गौलामा समस्या आउँछ।

तथ्यः गलत। एक सामान्य मान्छे जस्तै हुन्छ, तर अरुभन्दा अलि होसियार रहनुपर्छ र चिकित्सकलाई भेटिरहनुपर्छ।

भ्रमः मिर्गौला प्रत्यारोपण असफल हुने सम्भावना धेरै छ।

तथ्य: गलत। ९५ प्रतिशतभन्दा बढी प्रत्यारोपण सफल हुने गर्छन्।

भ्रमः प्रत्यारोपणपछि म कमजोर हुन्छु, परिवारको हेरचाह गर्न सक्दिन।

तथ्यः गलत। प्रत्यारोपणपछि मानिस पूर्ण रुपमा स्वस्थ्य हुन्छ। पहिले जस्तै पारिवारिक, सामाजिक अनि व्यवसाहिक जिम्मेवारी बहन गर्न सक्छ। यो गर्नु पनि पर्छ। प्रत्यारोपण मुख्य उद्देश्यले विरामीलाई पूर्ण रुपमा समाजको जिम्मेवार सदस्य बनाउन हो।

भ्रमः मिर्गौला प्रत्यारोपण पछाडि बच्चा जन्माउन सकिन्न।

तथ्यः गलत। प्रत्यारोपण पछाडि मिर्गौला दिने तथा लिने दुवैले बच्चा जन्माउन सक्छन्। मिर्गौला लिने मान्छेले चाहे बच्चा जन्माउने योजना अगाडि चिकित्सकसँग परामर्श गर्नुपर्छ।

भ्रमः मिर्गौला दानपछि आफ्नो काममा फर्किन धेरै समय लाग्छ।

तथ्यः गलत। अहिलेको नयाँ तरिका दुरबिनबाट ल्याप्रोस्कोपी प्रविधिबाट मिर्गौला निकाल्ने बिधिमा बिरामी जम्मा २-३ दिन मात्र अस्पतालमा बस्नुपर्छ। अनि २-३ हप्तामा काममा फर्कन सकिन्छ।

भ्रमः  के रक्त समूह मिल्नेसँग मात्र प्रत्यारोपण हुन्छ?

तथ्यः सकेसम्म रक्त समूह मिल्नेसँग प्रत्यारोपण गरेको राम्रो हो। तर, रक्त समूह नमिल्ने छ भने दाताबीच समन्वय ‘पियर एक्सचेञ्ज प्रोग्राम’मार्फत कानूनी प्रक्रिया पुर्‍याई दाता साट्न मिल्छ।

भ्रमः मिर्गौला दि‌ँदा पैसा पाईन्छ?

तथ्यः गलत। पैसाको लागि मिर्गौला दिनु वा प्रलोभनमा पारि दिन लगाउने गैह्र कानूनी काम हो।

भ्रमः दुई मिर्गौलामध्ये कुनै एक मिर्गौला बिग्रिएमा प्रत्यारोपण गर्नुपर्छ।

तथ्यः गलत। दुईमध्य कुनै एक मिर्गौला बिग्रेमा अथवा निकाल्दैमा मिर्गौला प्रत्यारोपण गर्नु पर्दैन।

भ्रमः मिर्गौला बिग्रिन शुरू हुने बितिक्कै प्रत्यारोपण गर्नुपर्छ।

तथ्यः गलत। मिर्गौला बिग्रिन शुरू भएदेखि बिग्रिने वेलालाई पाँच भागमा विभाजित गरिन्छ। पाँचै भाग पुगेपछि मात्र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

भ्रमः फिस्टुलाकाे उपचार गर्दा मिर्गौलाको बिरामी ठीक हुन्छ।

तथ्यः गलत। ‘फिस्टुला’ भने डायलासिस गर्नका लागि हातमा गरिने शल्यक्रिया हो। यसबाट मिर्गौलालाई कुनै सहयोग हुन्न।

भ्रमः मघुमेह, उच्च रक्तचाप, मुटुको समस्या, क्यान्सर, एचआईभी÷हेपाटाइटिस भएका बिरामीले मिर्गौला प्रत्यारोपण गर्नुहुन्न।

तथ्यः यि सबै रोग लागेका मानिस प्रत्यारोपण सम्भव छ। तर, अरू बिरामीभन्दा यस्ता रोग लागेका बिरामीमा प्रत्यारोपण जटिल हुन्छ।

भ्रमः चिकित्सकले अन्तिम अवस्थामा रहेका बिरामीबाट मिर्गौला निकाली प्रत्यारोपण गर्छन्।

तथ्यः गलत। ‘ब्रेन डेथ’को बिरामीबाट निकालिएको मिर्गौला बिकसित देशहरूमा राम्रो नतिजा देखिएको छ। नेपालमा यो तरिकाबाट हुने प्रत्यारोपण निकै कम छ। यस्तो गर्नु परेमा विरामीका आफन्तको सहमति अनि त्यसमा हुने एकदमै जटिल कानून प्रक्रिया पुर्‍याएर मात्र मिर्गौला झिक्ने काम हुन्छ।

भ्रमः विदेशमा गएर मिर्गौला प्रत्यारोपण गर्दा राम्रो हुन्छ।

तथ्यः गलत। नेपालमा मिर्गौला प्रत्यारोपण शुरू भएको १४ वर्ष नाघिसकेको छ। नेपालमा मिर्गौला प्रत्यारोपणमा चाहिने दक्ष तथा अनुभवि जनशक्ति उपलब्ध छ। त्यसैले मिर्गौला प्रत्यारोपण गर्न बिदेश जानुपर्ने आवश्यकता छैन।

भ्रमः विदेशमा मिर्गौला किनेर प्रत्यारोपण गर्न सकिन्छ।

तथ्यः गैरकानूनी रुपमा यस्ता काम भएका छन्। पैसाको प्रलोभनमा पारेर यस्तो काम गर्नु गैरकानूनी अनि अनैतिक पनि हो।

भ्रमः एक पटक प्रत्यारोपण गरेको मिर्गौला बिग्रिएमा फेरि प्रत्यारोपण गर्न सकिन्न।

तथ्यः गलत। आवश्यक परेको खण्डमा एक बिरामीमा ३-४ पटकसम्म मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। तर, हाम्रो उद्देश्य भनेको पहिलो मिर्गौलालाई लामो समयसम्म चलाउने हो।

भ्रमः अन्य जनावरको मिर्गौला तथा मेसिनबाट बनाइको मिर्गौला पनि प्रत्यारोपण गर्न सकिन्छ।

तथ्यः गलत। यस्ता भ्रमहरू सामाजिक सञ्जालमा देख्न र सुन्न पाईन्छ। अहिलेसम्म यी तरिका अनुसन्धानकै क्रममा छन्।

भ्रमः एक पटक पूर्ण रुपमा बिग्रिएको मिर्गौला औषधिको माध्यमबाट फेरि निको बनाउन सकिन्छ।

तथ्यः गलत। यो आजको मितिसम्म सम्भव छैन।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ३ : ४७ बजे

  • ...
    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *