७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी, माधव र प्रचण्डलाई खुलापत्र



आदारणीय कामरेडहरु श्री केपी ओली, प्रचण्ड र माधव नेपाल ज्यू
क्रान्तिकारी लाल अभिवादन
!

आश गर्दछु लाल अभिवादन स्विकार्नु हुनेछ ।

सर्बप्रथम प्रतिनिधी सभामा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा आगामी दिन सफलता र सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

आज भन्दा पाँच वर्ष पहिला कामरेड ओलीलाइ एउटा पत्र पठाएर आफ्ना अपेक्षाहरु प्रस्तुत गरेको थिए तर त्यतिवेलाको शक्ति सन्तुलनको परिणामले होला वा मेरो पत्र नै तपाई समक्ष नपुगेर हो मेरा अपेक्षाहरु उपर सुनुवाइ भएन । आज फेरी तपाइहरु तीनै जना आश गर्ने ठाउँमा पुग्नु भएको छ र अति झिनो आशंका साथ यो पत्र लेख्दैछु ।

तपाइहरुसँग साइनो गास्दै माग्न आउने लक्ष्य, उद्धेश्य र चाहना पनि छैन ।

सरसर्ती हेर्दा अहिले व्याप्त निराशा, बैमनस्य, द्धेषको अवस्थामा यो पत्रको औचित्य नहुन पनि सक्दछ तर द्धन्द्धात्मक तरिकाले विश्लेषण गर्ने, भौतिकवादी भएर सोच्ने र माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न सक्नेहरुको लागि यो पत्र औचित्यपुर्ण हुन्छ ।

हाम्रो धर्म शास्त्र भनौ वा समाजविज्ञान भनौ दुबैको साँझा मान्यता के हो भने समाजमा तीन प्रकारका सोच भएका मानिसहरु हुन्छन । पहिलो निम्न स्तरका सोच भएका मानिसहरु जो सधै यथास्थितीमा रमाउदछन र परिवर्तन देखी डराउदछन ।

सानो परिवर्तन हुदा पनि आफुले खाइपाई आएको कुरा गुम्छ की भन्ने डरले आफुलाई सत्य सावित गर्न र यथास्थिती नै ठीक छ भन्ने कुरा प्रमाणित गर्न तर्क कुर्तक प्रस्तुत गरी हर संभव आफु ठीक छु भन्ने प्रमाणित गर्न प्रयास गर्दछन ।

दोश्रो मध्यमस्तरका सोच भएका मानिसहरु जो केही अध्ययन, उत्प्रेरणा, अल्प ज्ञानका कारण रुपान्तरणको कुरा त गर्दछन तर आफनो स्वार्थमा सानो टकराव आउने वित्तिकै पुरानै अवस्थामा फर्किन चाहन्छन ।

तेश्रो उच्च स्तरका सोच भएका मानिसहरु जो पवित्र उद्धेश्य राख्दछन र जस्तो सुकै विघ्न वाधा आइपरेपनि काम फत्ते गरेर मात्रै विश्राम लिन्छन । आफनो लक्ष्य र उद्धेश्य प्राप्तीको लागि आफनो स्वार्थको वलिदान दिन परेपनि पछि पर्दैनन ।
यस्तो सोच भएका व्यक्तिहरुको बाहुल्य भएको समाज नै एउटा उत्कृष्ट समाज बन्न सक्दछ । यस्तै सोच भएका व्यक्तिहरु राजनीति, सामाजिक, व्यवसायिक वा भनौ सबै तहको नेतृत्वमा स्थापित भएमा मात्रै यो समाज वदलिन्छ र समाजमा विधुतीय गतिमा विकास हुन्छ ।

मानवशास्त्री तथा समाजशास्त्रीहरु के कुरामा विश्वास गर्दछन भने एउटै व्यक्ति आफनो जीवनकालमा कहिले निम्न स्तरको सोचवाट ग्रसित हुन्छ, कहिले मध्यस्तर त कहिले उच्चस्तरको सोचवाट ।

दुनियाका अगाडी नयाँ इतिहास रच्नुहोस् । नेपाली समाजको आमुल रुपान्तरणको नेतृत्व गर्नुहोस ।

जब व्यक्ति उच्च स्तरको सोचवाट संकल्पित हुन्छ त्यतिवेला उसले आफनो र सिंगो समाजमा नै आमुल रुपान्तरण ल्याउन सक्दछ । कमरेडहरु दुनियाँले जे भने पनि मेरो विचारमा तपाइहरुले उत्कृष्ट नेतृत्व प्रदान गरेकै कारण नेपाली समाज यहाँ सम्म आउन सकेको हो ।

त्यो तथ्य प्रति सिंगो देशले तपाइहरुमाथी गौरव गरेको थियो र तपाइहरुलाई पटक पटक साथ दिएको थियो । तर विडम्वना भनौ जव सिंगो देश तपाइहरुको साथमा थियो तपाइहरु नै निकृष्ट वहाना बनाउदै निम्नस्तरको सोचमा डुब्नु भयो र देशको हित, नागरीक चाहना, भाग्य भविष्य सबैलाइ निर्लज्ज भएर लात हान्नु भयो ।

सदियौ देखी सर्वाहरा, भोका, नांगा, हेपिएका र पिल्सिएकाहरुले देखेका सपनाहरुलाइ चकनाचुर पार्नु भयो । जोरी पारी, बैरी शत्रु सबैलाइ हसाउनु भयो र वडो दुखका साथ भन्नु पर्दछ आफनो निर्लज्ज कायरता प्रस्तुत गर्दै असक्षमता र अयोग्यताको उच्च नमुना प्रस्तुत गर्नु भयो ।

दार्चुला देखी सोलुखुम्वु र कञ्चनपुरदेखी झापा सम्मका नागरीकले गाँस काटेर, सिउदो उजाडेर, कोख उजाडेर बनाएको पार्टीलाइ तपाइको चमत्कारीक व्यक्तित्वले बनेको भन्ने कुतर्क प्रस्तुत गर्दै आफनो स्वार्थको डम्फु बजाउनु भयो ।

जीवनमा तपाइहरु तीनै जनाले प्राप्त गर्न बाकी केही छैन् जस्तो लाग्छ ।

हामी निरीह समर्थक र शुभचिन्तकको चाहना र विश्वास माथी तुषारापात गर्नु भयो, देश र कम्युनिस्ठ पार्टी प्रति तपाइहरुले अक्षम्य अपराध गर्नु भएको छ । वास्तवमा तपाईहरुलाई फेरी पनि नेता मान्न पर्ने कुनै वाहना र कारण छैन तर संगठनको चुकुल यसरी लगाउनु भएको छ की केही वर्ष तपाइहरुलाई नै विश्वास नगरी अर्को उपाय पनि छैन ।

त्यसकारण यसपटक चाहना भन्दा पनि बाध्यताले फेरी तपाइहरु प्रति नै आश गर्न परेको छ ।

फुटवलको विश्प कपको मौसमा खेल हेर्दै गर्दा थपिएको समयमा पनि गोल गरेर खेलाडीहरुले आफनो शाख जोगाएको देख्दा नपत्याइ नपत्पाइ तपाइहरुवाट आश गर्दा तपाइहरु भित्र भएको तर तपाइहरुले निमट्यान्न पारेको र तपाइहरुले वाहिर आउन नदिएको तपाइहरुको क्रान्तिकारी र ओस्वी व्यक्तित्व प्रस्फोटन पो भइहाल्छ की भन्ने झिनो आस पनि कता कता बाँकी छ कामरेडहरु ।

यदि कथम् कथाचित त्यस्तो भइदियो भने दुनियाँका प्रतिक्रियावादीहरु फेरी बबर्राउन थाल्नेछन भने सर्वाहराहरुका सुदिन आउने मार्गहरु बन्नेछन । कामरेडहरु जीवनको उत्तरार्धमा के तपाइहरु यतिको महान र क्रान्तिकारी काम गर्न चाहनु होला ? जवानीमा रोप्नु भएको त्यो महान उद्धेश्यलाई मौलाउन दिन सक्ने हिम्मत अझै बाँकी छ होला र ?

मलाइ विश्वास छ तपाइहरुले चाहनु भयो भने नेपालमा सानदार तरिकाले कम्युनिस्ट सरकार बन्छ तर प्रश्न तपाइहरुले चाहानु हुन्छ की हुन्न भन्ने हो । सक्नु हुन्छ की हुन्न भन्ने प्रश्न नै होईन । २५० वर्षको राजतन्त्र फाल्न सक्नेहरु, एटम बमवाालासँग जुधेर संविधान जारी गर्ने सक्नेहरु, नाकावन्दिसँग जुध्न सक्ने, चुच्चे नक्शा पास गर्न सक्नेहरुसँग सामथ्र्यको कुनै प्रश्न छैन ।

हो, तपाइहरुको सामथ्र्यसँग कुनै प्रश्न छैन तर तपाइहरुको चाहना प्रति गम्भिर आशंका छ । नयाँ ईतिहास रच्न चाहनु हुन्छ कि फगत छिर्के हानेर प्रतिक्रियावादीहरुसँग मिलेर एकले अर्काको उछितो काड्दै केही थान लाभको पदमा कब्जा गरेर नै चित्त बुझाउनु हुन्छ ?

कामरेड इतिहासमा पटक पटक मौका आउदैन तर तपाइहरुसामु अहिले तेश्रो पटक मौका आएको छ । अज्ञानता, अभिमान र घमण्डका कारण सबै बामपन्थिहरुको सपना साकार हुने अवसर २०६३ मा गुम्यो, २०७४ मा गुम्यो ।

विश्वास गरेका नेताहरु सफल भईदिए हुन्थ्यो भन्ने चाहना मात्रै हो ।

याद गर्नुहोस् बुद्धि पुर्याउन सक्नु भयो, आफनो लक्ष्य र उद्धेश्यलाइ आत्म सात गर्न सक्नु भयो, आफनो जेल जीवन, भुमिगत जीवन र जनयुद्धको औचित्य पुष्ठि गर्न चाहानु हुन्छ भने सबै प्रकारका अतिवाद, कुण्ठा, द्धैष, रिस, रागबाट मुक्त भएर देश, नागरीक, शहीद र अग्रजहरुलाई सम्झेर हात मिलाउने हिम्मत गर्न सक्नु भयो भने यो सुवर्ण अवसरको सदुपयोग हुनेछ ।

स्मरणरहोस् यो कुरा भाद्रमा नै भएको भए अहिले फरक परिणाम आउथ्यो तर तपाइहरुको अहम्ता, अज्ञानता र अदुरदर्शीताको कारण हुन सकेन यदि अहिले एक ठाउँमा उभिन सक्नु भयो भने पनि देश र नागरीकहरुको जीत हुनेछ पुष्पलाल, मदनभण्डारी, मनमोहन लगायतका अग्रज र शहीदहरुको सम्मान हुनेछ, राष्ट्र निर्माणको आधार बन्नेछ ।

मेरो बुझाइमा कम्युनिष्टहरु नरम र कडा दुबै हुन्छन । विस्तारवादी तथा प्रतिक्रियावादीहरुसँग कडा हुन्छन भने देश र नागरीक प्रति अति नै नरम पनि हुन सक्दछन ।

निश्चित रुपमा तपाइहरुको सम्वन्धमा केही दरार आएको छ, चित्त फाटेको छ, मन भाचिएको छ तर कामरेड त्यसको जिम्मेवार हामीहरु होइनौ तपाइहरु नै हो । तपाइहरुका साना साना चित्त दुखाइले तपाइका शुभचिन्तक, देश र पार्टीले मुल्य चुकाउनु परेको छ ।

जवानीमा तपाइहरु स्वयम्ले गरेको त्याग र बलिदानको अपमान भएकोछ । तपाइहरु फुट्दा तपाइहरु माथी अति सस्ता र लज्जास्पद टिप्पणीहरु गरिएका छन र यदि यसलाइ सच्याउनु भएन भने तपाइहरुमाथी लगाइएका सबै आरोपहरु सत्य भएर ईतिहासमा कैद हुनेछन र तपाइका उत्तराधिकारी र तपाइहरुका सन्ततीहरुलाइ समेत ती आरोपहरुले डसी रहनेछन ।

जीवनमा तपाइहरु तीनै जनाले प्राप्त गर्न बाकी केही छैन् जस्तो लाग्छ । यो देशमा जन्मेको र सधै अब्बल भइरहेको मानिसले पनि तपाइहरुले प्राप्त गरेको मान, सम्मान,ओज, ईज्जत, प्रतिष्ठा प्राप्त गर्न सक्दैनन त्यसकारण यो अवस्थामा तपाइहरुले एक अर्का प्रति दर्शाउने मान सम्मान र त्यागले तपाइहरुलाई विगतका भन्दा अझ धेरै माथीको उचाईमा पुर्याउदछ ।

अहिले अत्यन्तै कमजोर सोचाईको धरातल भएका र तपाइको व्यक्तित्व प्रयोग गरेर आफनो दुनो सोझ्याउने तपाइका छदमभेषी आपन्तहरुसँग टाढा रहेर झुपडीमा वस्ने, खाडीमा दुख गरेर परिवारको सुख र देशको समृद्धि संझिनेहरुलाई संझेर भावी पुस्ताको भाग्य र भविष्य संझेर जवानीमा खाएका कसम र गरेको त्याग तथा कुर्वानी सम्झेर एक पटक हाम्रो लागि हात मिलाउनु होस् कमरेडहरु ।

देशलाइ विचार र सिद्धान्तविहिन हुनबाट बचाउनुहोस र कम्युनिष्टहरु चमत्कारीक हुन्छन भन्ने कुरा प्रमाणित गर्नुहोस । दुनियाका अगाडी नयाँ इतिहास रच्नुहोस् । नेपाली समाजको आमुल रुपान्तरणको नेतृत्व गर्नुहोस ।

याद गर्नुहोस गठवन्धनको च्याँखे थापेर त लोकेन्द्र वहादुर चन्द र सूर्यवहादुर थापा पटक पटक प्रधान मन्त्री हुनु भएको थियो तर किन मनमोहनले गठवन्धन बनाउनु भन्दा सरकार छोड्न तयार हुनु भाको थियो ।

त्यसको सही उत्तर स्वयम माधव कामरेड र केपी कामरेडलाइ थाहा छ होला त्यसकारण तपाइहरुलाई मेरो प्रश्न अब मनमोहनको बाटोमा हिड्ने हो की लोकेन्द्र वहादुर र सूर्य वहादुर थापाको ? रोजाइ तपाइहरुको नै हो ।

हामीलाइ त बच्चै देखी आदर्श मानेको, जवानीमा निरन्तर पछ्याई रहेको देशको रुपान्तरणमा नेतृत्व गर्न सक्षम हुनुहुन्छ भनेर विश्वास गरेका नेताहरु सफल भईदिए हुन्थ्यो भन्ने चाहना मात्रै हो ।

तपाइहरु सफल भएर व्यक्तिगत रुपमा हामीलाई केही हुने पनि होइन र तपाइहरुसँग साइनो गास्दै माग्न आउने लक्ष्य, उद्धेश्य र चाहना पनि छैन ।

आश गर्दछु तपाइहरु तीनै जनाले शान्त भएर एक पटक सोचेर यो ऐतिहासीक जिम्मेवारीलाई सफलता पुर्वक निर्वाह गर्नु हुनेछ । तपाइहरु तीनै जनालाई आत्मीय सम्वन्धको लागि शुभकामना !

-डा. रामचन्द्र लामिछाने (आर.सि लामिछाने)

प्रमुख कार्यकारी, ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *