कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
२ सय ४ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, तथा प्रशासनिक अनुशासन, युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन, लैंगिक समानता र सामाजिक समावेशीकरण र सडक मानवमुक्त गाउँपालिका बनाइने नीति अघि सारिएको छ ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष गिरीले आर्थिक सम्वृद्धि, सुशासन र विकासको मार्गमा बर्दगोरिया गाउँपालिका निरन्तर रुपमा अघि बढिरहेको बताउँदै सम्वृद्ध र सुखि गाउँपालिका निर्माण गर्ने दृढ संकल्पसहित सेवा प्रवाहलाई विकेन्द्रित तुल्याउँदै पुँजीगत खर्च बढाउने लक्ष्य लिइएको बताए ।
त्यस्तै ‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान’ भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी तथा निजी क्षेत्रका शैक्षिक संस्थाबाट प्रदान गरिने शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिने सोच उल्लेख गरिएको उनले बताए ।
विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य, सरसफाई, खानेपानी विस्तार गर्दै विषयगत शिक्षक व्यवस्थापन, पुस्तकालय, विज्ञान, कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइएको छ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई श्रम ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नीति कार्यान्वयन गरिने उनले जानकारी दिए ।
युवाहरुलाई उद्यमशीलतामा जोड दिँदै ‘विदेश होइन विजनेस’ भन्ने भावनाको जागृत गराई स्वरोजगार र जीविकोपार्जनमुलक सीप प्रदानका लागि सहजीकरण गर्ने नीतिमा जोड दिइएको छ । त्यस्तै, ‘एक वडा एक व्यामशाला’ को नीति लिई युवाहरुलाई प्रशिक्षणको व्यवस्था मिलाईने, विपन्न, गरीब र सुकुम्बासी परिवारका युवाहरुलाई व्यावसायिक तालिम प्रदान गरिने उल्लेख छ ।
गाउँपालिका उपाध्यक्ष गिरीले कृषि उत्पादनको आयात प्रतिस्थापनको नीति लिई पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादनको व्यावसायिकरण, फलफुल, तरकारी तथा अन्नबालीको पकेट क्षेत्र पहिचान गरी सिंचाई, विद्युतिकरण, शितभण्डार, गोदामघरको पूर्वाधार निर्माणमा विषेश जोड दिइने जानकारी दिए ।
आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाबाट प्रवाह हुने सेवा तथा विकास निर्माणमा हुनसक्ने भ्रष्टाचार, अपारदर्शीता, तथा ढिलासुस्ती शुन्य सहनशीलताको नीति अख्तियार गरी ‘हाम्रो गाउँपालिका’ नामक मोबाइल एप्स निर्माण गरि वडापत्र, सूचनालाई नागरिक समक्ष पुर्याइने लक्ष्य लिइएको उनले बताए ।
उद्योग तथा पर्यटनमार्फत् आर्थिक सम्वृद्धि हासिल गर्न गाउँपालिकाको पर्यटन गुरुयोजना तर्जुमा गरी पर्यटकीय गन्तव्यस्थल जोड्न पर्यटकीय सडक सञ्जाल कार्यान्वयन प्रारम्भ गरिनेछ । बर्दगोरियामा पर्यटकलाई आकर्षण गर्न पर्यटकीय क्षेत्रको परिचयसहित डिजिटल डिस्प्ले, बिलबोर्ड, डकुमेन्ट्री र ब्रोसर वितरण गरिने, विभिन्न जातजातिको परम्परागत पर्व, संस्कार र धार्मिक पहिचान अवगत गराउन होमस्टे सञ्चालन गरिनेछ ।
त्यस्तै, कर सेवा, शुल्क, राजस्व तथा आन्तरिक स्रोत परिचालनलाई व्यवस्थित गर्न करदातामैत्री र सूचना प्रविधिमैत्री नीति अवलम्बन गर्दै करदाता सम्मान कार्यक्रम, उत्पीडित, दलित, विपन्न तथा गरीब र अपांगता प्रमाणित गरिने सिफारिस निशुलक गरिने, मुक्तकमैया, मुक्त हलिया, सुकुम्बासी सहीद तथा वेपत्ता र द्धन्द्धपीडित परिवारलाई व्यावसाय दर्ता निशुुल्क गरिने, तत्कालीन शान्ति समितिले प्रमाणित गरेका १० वर्षे जनयुद्धकालका सहीद, वेपत्ता पारिएका परिवारलाई एकीकृत सम्पत्ति कर मिनाहा गर्ने व्यवस्था मिलाइएको छ ।
वातावरण, जलवायु परिवर्तन उत्थानशील योजना तर्जुमा, विपद जोखिम न्यूनिकरण, प्रतिकार्य र पुनर्स्थापना कार्यलाई व्यवस्थित बनाइने, ढुंगा, बालुवा, गिट्टी जस्ता नदिजन्य पदार्थ र अन्य प्राकेतिक स्रोतको अनाधिकृत एवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिने बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
खानेपानी तथा सरसफाई समस्याको तत्कालीन, अल्पकालीन र दीर्घकालीन समाधानका लागि सम्भाव्य स्रोतको खोजी गरिने, जलाधार संरक्षण कार्यक्रम सञ्चालन गरि भूमिगत पानीका मुलहरु, जलाधार र सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्दै खानेपानी आपूर्तिको प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ । प्लाष्टिकजन्य फोहोर नियन्त्रण तथा न्यूनिकरण गर्न प्लाष्टिक झोलाहरुको प्रयोगलाई निरुत्साहित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।








प्रतिक्रिया