८ आश्विन २०८०, सोमबार | Sep 25 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय जनगणनामा त्रुटि,थपिए ७ लाख ७१ हजार ९९८



काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो देखाएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको प्रभावकारिता जाँच गर्न यस्तोे सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।

‘यो सर्वेक्षणको नतिजापछि जनसंख्या २ करोड ९९ लाख पुगेको छ भन्ने मिल्ने भयो’, निर्देशक लामिछानेले अनलाइनखबरसँग भने । तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने लामिछानेले बताए ।

यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ । जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यस हिसाबले गणना छुट भएको जनसंख्या२ दशमलव ५८ देखिएको र त्यसलाई प्राविधिक रुपमा ठूलो अंश भने नमानिने उनले बताए ।

त्रिभुवन विश्वविद्यालयले गर्‍यो जाँच सर्वेक्षण

कार्यालयले २०७८ साल भन्दा अगाडि आफैंले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएको थियो । सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षता प्राप्त निकायबाट गराउनु पर्छ । सोहीकारण २०७८ सालको पूर्णता र शुद्धता मापन गर्न कार्यालयले श्रम अध्ययन कार्यक्रम, त्रिभुवन विश्वविद्यालयलाई यसको जिम्मेवारी दिएको थियो । सोही अनुसार विश्वविद्यालयले जनगणनामा ७ लाख ७१ हजार जना व्यक्तिको जनगणनामा छुट भएको निष्कर्ष निकालेको हो ।

निर्देशक लामिछानेका अनुसार यस्तो सर्वेक्षणले जनगणनामा गणना हुनुपर्ने व्यक्ति छुटेको, दोहोरिएको वा गलत गणना भएको विवरण पत्ता लगाउने उद्देश्य राखेको हुन्छ । जनगणनाको काम २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालमा भएको थियो । नतिजा जाँच सर्वेक्षणको काम भने २०७८ सालको माघ महिनाको अन्तिम साताबाट सुरु गरी २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो । स्थलगत रुपमा भने २०७८ साल चैत १ गतेदेखि १५ गतेसम्म टोली खटिएका थिए ।

कुन विधिबाट पुगियो निष्कर्षमा ?

जनगणना जाँच सर्वेक्षण २०७८ नाम दिइएको यो सर्वेक्षणले स्थलगत गणना कार्यको विधि र प्रक्रिया मुल जनगणनाकै अपनाएको बताइएको छ । यसका लागि देशैभर भने गणक पुगेनन् । बरु नमुनाका रुपमा गणना क्षेत्र छनोट गरियो । ती क्षेत्रमा भने जनगणनामा जस्तै पूर्ण गणना गरिएको थियो ।

सर्वेक्षण प्रतिवेदन अनुसार जनगणना २०७८ का गणना क्षेत्रलाई प्राथमिक छनोट एकाई मानेर नमुना गणना क्षेत्र छानिएको थियो । सो अनुसार देशलाई ८ बृहत्तर क्षेत्रमा विभाजन गरिएको थियो । ती ८ क्षेत्रबाट शहरी र ग्रामीण भेगको समुचित प्रतिनिधित्व हुने गरी १०/१० गणना क्षेत्र नमुनाका रुपमा छानिएको थियो । यस अनुसार ८० गणना क्षेत्र छानिए । नमुना क्षेत्रमध्ये शहरी क्षेत्रबाट ५० र ग्रामीण क्षेत्रबाट ३० क्षेत्र छानिएका थिए । हिमाल, पहाड र तराई सबै क्षेत्रलाई नमुनामा समेटिएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार गणना जाँच सर्वेक्षणमा मुल जनगणनामा प्रयोग भएको प्रश्नावलीको छोटकरी रुप तयार गरी सोधिएको थियो । यसरी आएको निष्कर्षका आधारमा देशभर छुटेको जनसंख्याको नतिजा निकालिएको सर्वेक्षण नतिजा प्रतिवेदनमा उल्लेख छ ।

शहरका धेरै

सर्वेक्षणको नतिजाले शहरी इलाकामा बढी मानिस जनगणनामा छुटेको पाइएको छ । ७ लाख ७१ हजार ९९८ जनामध्ये शहरमा ५ लाख ८५ हजार ७८२ र ग्रामिण क्षेत्रमा १ लाख ८६ हजार २१६ जना व्यक्ति जनगणनामा छुटेका छन् । यसमा जनगणनाको बेला र सर्वेक्षणका बेला पनि सोही स्थानमा अक्सर बसोबास गरेका घरपरिवार र उनीहरुको सदस्यलाई मात्र समेटेको थियो ।

सर्वेक्षणअनुसार राष्ट्रिय स्तरमा ९६.२ प्रतिशत जनसंख्याको गणना जाँच सर्वेक्षण र मुल गणना दुबैमा हुबहु मिलेको छ । दुबैमा गणना भएकाको हुबहु मिलान दर सहरी क्षेत्रमा केही कमी देखिएको छ । राष्ट्रिय स्तरमा २.०९ प्रतिशत जनसंख्या जाँच सर्वेक्षणमा गणना भएको र मुल गणनामा छुटेको देखिएको छ । यो दर शहरी इलाकामा २.४४ प्रतिशत देखिएको छ ।

छुट्नेमा काठमाडौं उपत्यकाका धेरै

८ क्षेत्र अनुसारको वर्गिकरणमा भने काठमाडौं उपत्यकामा धेरै जना छुट भएको पाइएको छ । काठमाडौंमा ४.४२ प्रतिशतको गणना छुटेको हो ।

त्यसपछि लुम्बिनी प्रदेशमा २.९९ प्रतिशतको गणना छुटेको पाइएको छ ।

उमेर अनुसार हेर्दा ८० वर्ष वा सो भन्दा पाको उमेरका व्यक्तिको सबैभन्दा धेरै ४.१ प्रतिशतले छुट भएको छ । २० देखि २४ वर्षको ३.९ प्रतिशत, २५ देखि २९ वर्षको ३.८ प्रतिशत छुट भएको हो । छुटमध्ये महिलाको दर २.३ प्रतिशत र पुरुषको २.९ प्रतिशत देखिएको छ । साक्षर २.९ प्रतिशत र निरक्षर २.६ प्रतिशत छुटेको पाइएको हो । यसबाट गनगणनामा निरक्षरभन्दा साक्षर धेरै छुटको पाइएको छ । विवाहित २.१ प्रतिशत जनसंख्या छुट्दा अविवाहितको संख्या ३ प्रतिशतले छुटेको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ३४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *