१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्याउ खेतीमा राउटे समुदाय



दैलेख।  लोपोन्मुख जाति राउटे। कुनै समय यो समुदायको जीविकोपार्जनको मुख्य स्रोत थियो, सिकार गर्नु, काठका सामान निर्माण गरी खाद्यान्नसँग साट्नु। वनजंगलमा गिठा, भ्याकुर, तरुल, च्याउलगायतका कन्दमूलको भरमा उनीहरू जीविकोपार्जन गर्थे। समय बदलियो। राउटेको जीवन र जीविकोपार्जन गर्ने शैली पनि बदलिँदै गएको छ। पछिल्लो समय उनीहरू खेतीपातीमा पनि जोडिन पुगेका छन्। 

खेतीपाती गर्नुलाई महाशत्रु ठान्ने यो समुदाय पछिल्लो समय तरकारी तथा च्याउ खेतीमा रुचि देखाइरहेका छन्। आफू बसोबास गरेको ठाउँमा केही समयअघि तोरीलगायतका सागपात उत्पादन गरेका उनीहरू पछिल्लो समय च्याउ उत्पादनमा जोडिएका छन्। समुदायका २०  युवायुवतीले च्याउ उत्पादनसम्बन्धी दुईदिने तालिम पाएपछि खेतीमा होमिएका हुन्। विभिन्न गैसस र गुराँस गाउँपालिकाको समन्वयमा तालिम पाएका हुन्। 

जंगलमा पाइने च्याउ अत्यधिक रुचाउने यो समुदायले तालिमपछि बस्तीमै च्याउ फलाएका छन्। समुदायका युवा प्रकाश शाहीले पहिलो पटक तालिम पाएपछि च्याउ फलाएको बताउँछन्।

‘हामी पढेलेखेका छैनौं, अहिलेसम्म खेतीपातीको काम पनि गरेका थिएनौं, पहिलो पटक तालिम पायौं अनि च्याउ फलायौं,’ प्रकाश भन्छन्। सुरुमा परालमा च्याउ फल्छ भनेर आफूहरूलाई विश्वासै नलागेको उनको भनाइ छ। ‘परालमा एक महिनापछि च्याउ फलेको देखेर दंग पर्‍यौं, च्याउ पनि राम्रो फल्यो, हामीले पहिलो पटक खेती गरेर फलाएको च्याउ खुसी हुँदै खाइरहेका छौं,’ उनले भने।

अर्का युवा दीपक शाहीले आफैंले फलाएको च्याउ खान पाउँदा बस्तीका सबै खुसी भएको बताए। ‘पहिला–पहिला वनजंगलमा खोजीखोजी खाने गथ्र्यौ, वनजंगलमा नपाए किनेर खानुपथ्र्यो, परालमा त च्याउ के फल्छ होला र भन्ने लागेको थियो,’ उनले भने, ‘आफैंले फलाएको च्याउ खाएपछि खेती गर्नेतिर जाँगर पलाएको छ।’ 

राउटे समुदायलाई खेतीपातीमा जोड्न र पोषणको आवश्यकता देखिएपछि सम्झाइबुझाइ च्याउ खेतीबारे सीप सिकाइएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए। ‘सुरुमा परालमा च्याउ उम्रिन्छ भन्दा हाँसे, एक महिनापछि च्याउ फल्दा दंग परे,’ खत्रीले भने। यो समुदायले च्याउ र कुभिन्डो अत्यधिक रुचाउने गर्छन्।

भैरवी गाउँपालिका–५ कागेतडामा बसोबास गर्दा राउटे समुदायले च्याउ खेती सुरु गरेका थिए। अहिले उनीहरू बस्ती सरेर वडा नम्बर– ४ गडाजिउँला पुगेका छन्। ‘जलवायु परिवर्तनको असरले मौसमअनुसार वनजंगलमा पर्याप्त मात्रामा च्याउ पाइन छोड्यो, राउटे समुदायले आफैं उत्पादन गरेर प्रयोग गर्न थालेका छन्,’ खत्रीले भने। यसले राउटे समुदायलाई खेतीपातीमा जोड्न सहज हुने उनको भनाइ छ।

सडक विकासले वन उजाड बन्दै गएको छ। पानीका मुहान सुक्न थालेका छन्। त्यसको प्रत्यक्ष प्रभाव राउटे समुदायमा परेको छ। जंगलका छेउछाउ, पहाडको खोंच तथा टाकुरा र नदी किनारमा बसाइँ सरिरहने यो समुदायले पछिल्ला केही वर्षयता कन्दमूलहरू गिठा, भ्याकुर, च्याउलगायतका जंगली जडीबुटी पर्याप्त मात्रामा पाउन छाडेका छन्। उनीहरू जहाँजहाँ बसाइँ सर्छन्, त्यहाँत्यहाँ खानेपानीको जोहो गर्नै सकस छ। यो समुदायलाई नजिकबाट नियाल्नेहरू जलवायु परिवर्तनको प्रत्यक्ष मारमा उनीहरू परेको टिप्पणी गर्छन्। 

राउटे समुदायले नेपाललाई विश्वमा चिनाएका छन्। नेपालको सांस्कृतिक विविधता झल्काउन पनि यो जातिको भूमिका महत्त्वपूर्ण छ। विशेषगरी कर्णालीका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलमा बसोबास गर्ने यो समुदाय नेपालको सम्पदा र कर्णालीको गहनाको रूपमा चिनिन्छन्। आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन्।  दक्षिण एसियाकै एकमात्र फिरन्ते जाति राउटे खेतीपातीमा पनि जोडिन थालेका छन्। 

विकासका नाममा जथाभावी सडक खन्नेलगातका कारणले वन मासिँदै छ। त्यसको असर सोझै राउटे समुदायमा बढी परेको छ। उनीहरूले वनजंगलमा गिठा, भ्याकुर, तरुल, च्याउलगायतका कन्दमूल पर्याप्त मात्रामा पाउँदैनन्। उनीहरूको जीविकोपार्जनको मुख्य स्रोत गुम्दैछ। अहिले नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा राउटे समुदायले जीवन धानिरहेको मुखिया सूर्यनारायण शाहीले सुनाए।

राउटे समुदाय आफूहरू बसिरहेको बस्ती छोडेर अन्यत्रै बसाइँ सर्दा बस्ती बसेको ठाउँमा अन्नपात उम्रिन्छ कि भनेर आगो लगाएर हिँड्थे। अन्नपात उम्रिँदैनथ्यो पनि। पछिल्लो समय बस्तीमै च्याउसँगै सागपात फलाउन थालेपछि राउटे समुदाय सामाजिकीकरण हुँदै गएको जानकार खगेन्द्रबहादुर शाही बताउँछन्। पछिल्लो केही वर्षयता राउटे समुदायमा सीपसँगै व्यवहार परिवर्तन भएको उनको बुझाइ छ। 

२०६५ सालमा पहिलो पटक तत्कालीन राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्दा मुखिया सूर्यनारायण शाहीको टोलीले स्थायी बसोबास, लेखपढ र खेतीपातीका कुरा अस्वीकार गरेका थिए। लोपोन्मुख जाति राउटे समुदायमा हाल ४१ घरपरिवारमा १ सय ३८ जनसंख्या छ। 

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ३ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *