दैलेख । पहाडी बस्ती। हरियाली गाउँ। जिल्लाको दुल्लु नगरपालिका–२ वडापोखरावासी सधैंजसो तरकारी खेतीको स्याहारमै व्यस्त रहन्छन्। तरकारी खेतीले यहाँका स्थानीयको बिहान बेलुकीको छाकमात्रै टरेको छैन्, आर्थिकस्तर नै फेरिएको छ। व्यावसायिक तरकारी खेतीले स्थानीयको जीवनस्तरमा सुधार ल्याएको छ।
स्थानीय ३५ वर्षीया हिरा रावतको दिनको अधिकांश समय घरछेउको पाखो बारीमा लगाएको तरकारी खेतीमै बित्छ। यसअघि उनी सोही बारीमा परम्परागत रूपमा नगदे बाली लगाउँथिन्। त्यसले परिवारको गर्जो टार्नैै धौ–धौ पथ्र्यो। तरकारी खेतीबाट हीरा सन्तुष्ट छिन्। भन्छिन् ‘बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी हाल्ने, बेर्ना छर्नेलगायतका काममै बित्छ।’
दुई वर्ष अघिसम्म हीराको परिवारले आफूलाई खानका लागि मात्र थोरै जग्गामा तरकारी लगाउथ्यो। तरकारी खेतीबाटै मनग्ये आम्दानी हुने देखेपछि २०७८ देखि व्यावसायिक रूपमै तरकारी खेती थालेको हीरा बताउँछिन्। अहिले त उनको गाउँ ‘स्मार्ट कृषि गाउँ’ ले परिचित छ।
दुल्लु क्षेत्रमा किसान कृषि पेसामा आबद्ध छन्। तीमध्ये केहीले परम्परागत नगदेबाली खेती र तरकारी खेती दुवै अँगालेका छन्। अधिकांश परम्परागत खेती छोडेर व्यावसायिक तरकारी खेतीमा लागेका हुन्। सिजनअनुसार उत्पादित तरकारीले राम्रो भाउ पाएको भन्दै उनीहरू उत्साहित छन्। ‘वडापोखरा गाउँकै ४८ वर्षीय धर्मबहादुर थापा भन्छन्, ‘परम्परागत रूपमा नगदे बाली छोडेर तरकारी खेती लगाउँदा राम्रो उत्पादन भइरहेको छ।’ उनले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो। स्थानीय वडापोखरा कृषक समूहका अध्यक्षसमेत रहेका थापा भन्छन्, ‘वडापोखरा गाउँका ४८ घरपरिवार कृषक समूहमा आबद्ध छन्, सबै तरकारी खेतीमै छन्। सिजनअनुसार २–४ लाख रुपैयाँ कमाइ हुन्छ।’ समूहमा आबद्ध भएकाले जलवायुमैत्री तरकारी खेतीबारे ज्ञानसीप पाएको उनको भनाइ छ।
यहाँका स्थानीयले वर्षौं अघिदेखि लगाउँदै आएको नगदेबाली उत्पादन विस्तारै ह्रास आउन थाल्यो। किसानहरूले विषादीको प्रयोग बढाए। विषादीको प्रयोगले उत्पादन बढ्नुपर्नेमा झन् घट्दै गयो। माटोको उर्बरा शक्ति बढाउने उपाय खोज्दै जाँदा विषादीको प्रयोग छोडेर घरमै बनाउन सकिने कम्पोस्ट मल, झोल मललगायत प्रविधि प्रयोग गरेको थापा बताउँछन्। स्थानीयस्तरमै बनाउन सकिने मल प्रयोगमा ल्याएपछि तरकारी उत्पादनमा वृद्धि भएको उनको अनुभव छ।
तरकारीमा विषादी प्रयोग छैन
किसानले तरकारी खेती बजारमा पाइने कीटनाशक विषादी प्रयोग गर्न छोडेका छन्। उनीहरूले जलवायु अनुकूलनमैत्री कृषि प्रविधि अपनाउँदै खेती गरिरहेका हुन्। उनीहरूले घरमै बनाउन सकिने जैविक मल प्रयोग गर्ने गरेका छन्। रासायनिक मल र कीटनाशक विषादी प्रयोग गर्दा रोग किरा बढी देखिने, तरकारी कुहिने, छिट्टै सड्ने समस्या बढी भएको किसान सुनाउँछन्। अहिले खेतीको उत्पादन बढेको छ। आम्दानी पनि राम्रो भएको स्थानीय नानकला थापा बताउँछिन्।
संघसंस्थाको साथ पाएर तरकारी उत्पादनमा वृद्धिसँगै आर्थिक स्थिती सुधार तथा आत्मनिर्भर बन्न सहयोग पुगेको थापा बताउँछिन्। ‘तरकारी बेचेर परिवारको खर्च चलाउन र छोराछोरीलाई पढाउन सक्ने भएका छौं,’ थापा भन्छिन्, ‘घरखर्च कटाएर बचेको रकम समूहमा बचत गर्ने गरेका छौं।’
प्रतिक्रिया