३ आश्विन २०८१, बिहिबार | Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम सेती करिडोर : वनलेक–दोदोधारा विद्युतको मस्यौदामाथि छलफल

डोटीको शिखर नगरपालिकाको वनलेकदेखि कैलालीको बर्दगोरिया गाउँपालिकाको दोदोधारा सबस्टेसनसम्ममा प्रसारण लाइन विस्तार गर्न ३४ हजार ३ सय ४६ वटा रुख काटिने



कैलाली । राष्ट्रिय गौरवको आयोजना पश्चिम सेती करिडोर ४०० केभी (डबल सर्किट प्रसारण लाइन) अन्तर्गत वनलेक–दोदोधारा विद्युत प्रसारण लाइनको प्रारम्भिक मस्यौदामाथि छलफल गरिएको छ ।

आयोजनाको प्रस्तावक राष्ट्रिय ग्रिड कम्पनीले शुक्रबार कैलालीको बर्दगोरिया गाउँपालिका–३ का स्थानीयसँग राय तथा सुझाब संकलन गरेको हो । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) मस्यौदा प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई गर्दै कम्पनीले स्थानीयको सुझाब लिएको छ ।

सो विद्युत प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर (दायाँ–बायाँ २३–२३ मिटर) तोकिएको छ । ८५ किलोमिटर दूरीमा विस्तार गरिने प्रशारण लाइनमा कुल २ सय ७ वटा टावरहरु निर्माण हुने भएका छन् । डोटीको शिखर नगरपालिकाको वनलेक सबस्टेसनदेखि कैलालीको दोदोधारासम्ममा प्रसारण लाइन विस्तार गर्न ३४ हजार ३ सय ४६ वटा रुख काटिने आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणले देखाएको छ ।

४० वटा सामुदायिक र राष्ट्रिय वन क्षेत्रका रुखहरु काटिनेछन् । क्षति हुने निजी जग्गा जमिन तथा भौतिक संरचनाको मुआब्जा र कटान हुने रुखहरुको क्षतिपूर्तिस्वरुप वृक्षारोपण कार्यक्रमको उपाय अवलम्बन गरिने आयोजना प्रमुख राजकिरण वासुकलाले जानकारी दिए ।

यस्तै, आयोजनाबाट १ वटा खानेपानी धारा, १ वटा धार्मिक स्थल (लोट्ने देवताको मन्दिर), ४ वटा निजी घर, २ वटा गोठ र १ वटा पसल लगायतका निजी तथा सार्वजनिक संरचनाहरु प्रभावित हुने जनाइएको छ । त्यस्तै, आयोजनाले ६७.६७ हेक्टर निजी, पशुपति काफली गुठीको ०.४९ हेक्टर, दानकोट स्वास्थ्य चौकीको ०.०२ हेक्टर र राष्ट्रिय प्रशारण ग्रिड कम्पनीको ०.१२६ हेक्टर जग्गा स्थायी रुपमा प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।

५ वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको आयोजनाको कुल ६ अर्ब ७० करोड रुपैयाँ लागत खर्च हुनेछ । कार्यक्रममा राष्ट्रिय प्रशारण ग्रिड कम्पनीका वातावरणविद् सुवेश जोशी, परामर्शदाता कम्पनीका समाजशास्त्री विमल कडरिया र मातृकाप्रसाद जोशीले सहभागिको जिज्ञासाको जवाफ दिएका थिए ।

आयोजना क्षेत्रभित्रका स्थानीय जनतालाई रोजगारीका अवसर, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य र दक्षता अभिवृद्धि सम्बन्धी तालिम आयोजनाले दिने जनाएको छ । सामुदायिक सहयोग कार्यक्रम, सामुदायिक वन व्यवस्थापन र सार्वजनिक पूर्वाधार निर्माण, सीपमूलक, आयआर्जन र पर्यटकीय सम्पदाको प्रवर्द्धनमूलक कार्यक्रम गरिने आयोजना परामर्शदाता चिलिमे ईन्जिनियरिङ्ग एण्ड सर्भिसेज कम्पनीका मातृकाप्रसाद जोशीले बताए ।

आयोजनाबारे कम्पनीले बर्दगोरिया, मोहन्याल, चुरे, बडिकेदार, जोरायल गाउँपालिका विभिन्न स्थानमा नियमित सुनुवाई गर्न लागेको हो । त्यस्तै, घोडाघोडी र शिखर नगरपालिकामा सार्वजनिक सुनुवाई गरिनेछ । आयोजनाको मुख्य जलस्रोतमा पेली गाड, गडसेरी गाड, ठुलीगाड, कान्द्रा खोला लगायत अन्य ससाना खोलाहरु छन् ।

आयोजना निर्माणका क्रममा भु–वनोट अनुसारको टावर फाउन्डेसनको डिजाइन र निर्माण, दुर्घटना कम गर्ने किसिमको डिजाइन समावेश गरिने आयोजना प्रमुख बासुकलाले बताए । वातावरणविद् सुवेश जोशीका अनुसार आयोजना साल, सल्ला, बाँझ, बोटधाईरो, काफल, सिमल, फँलाट, शिरिष, गुँरास, खिर्राे, टाँकी, उत्तिस, जामुन, सादन, साज, खयर, सिसौ, रुईनो, हल्दु, बडहर, हर्राे र बर्राे प्रजातिका रुख तथा वनस्पति कटान हुनेछन् ।

यस आयोजनामा टावर फाउन्डेसनका लागि १३.५९ हेक्टर, क्षेत्राधिकारका लागि ३०९.१० हेक्टर गरी ३२२.६९ हेक्टर वनले ओगटेको छ । सार्वजनिक सुनुवाईका क्रममा रानीजरुवा सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माले आयोजनाबाट प्रभावित स्थानीय नागरिकले रोजगारीका अवसरमा प्राथमिकता पाउनुपर्ने बताए । उनले विस्थापित हुने नागरिकको सुरक्षा तथा उचित व्यवस्थापनका लागि निर्माण कम्पनीले पहल गर्नुपर्ने सुझाब दिए ।

त्यस्तै, स्थानीय शिखर विश्वकर्माले बर्दगोरिया गाउँपालिका वडा नं. ३ को बस्ती नदी कटानको जोखिममा पर्दै आएको बताउँदै कृषियोग्य जमिन वर्षेनी नष्ट भइरहकाले नदी तटबन्ध आवश्यक रहेको औंल्याएका थिए । कार्यक्रमका सहभागिले आयोजनाले प्रसारण मार्गको टावर वा सबस्टेसन निर्माण गर्दा जैविक विविधता र पर्यावरण नष्ट हुने भएकाले नकारात्मक प्रभावको न्यूनिकरणमा प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन गरी विकास निर्माण गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले आयोजना प्रभावित क्षेत्र बर्दगोरियाका जनतालाई प्राथमिकताका राखेर काम गरिने प्रतिबद्धता जनाए । त्यस्तै, वडा नं. ३ का वडाध्यक्ष मनऋषि आचार्यले सार्वजनिक सुनुवाईपछि जनताका गुनासो र सुझाबलाई मध्येनजर गरी आयोजनाको कामलाई अघि बढाउनुपर्नेमा सुझाव दिए । सार्वजनिक सुनुवाई कार्यक्रममा ६८ जना स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १० : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *