काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले फरार रहेको ललितपुरको भैँसेपाटी प्रहरी प्रभागका तत्कालीन प्रमुख बिनुकुमारी शाहीको खोजी कार्य जारी रहेको बताएको छ ।
सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार खोजी कार्य जारी रहे पनि केही जानकारी प्राप्त हुन भने सकेको छैन ।
प्रवक्ता बोगटीले भन्नुभयो, “फरार व्यक्तिका सम्बन्धमा केही पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको, खोजतलास गरिरहेका छौँ । नयाँ कुरा केही पनि आएको छैन ।”
आपराधिक लाभको मुद्दामा शाहीविरुद्ध गत असोज ३० गते पक्राउ पुर्जी जारी भएको थियो ।
यस सम्बन्धमा अनुसन्धान गर्दै आएको ललितपुर प्रहरीले पछिल्लो समय यसको अध्ययनका लागि सीआइबीलाई सिफारिस गरेको छ ।
ललितपुर प्रहरीका एक प्रतिनिधिले भन्नुभयो, “त्यो हामीले सीआइबीमा पठाइसक्यौँ । पक्राउ परेका मान्छेहरू, मिसिल सबै हामीले सीआइबीमा अनुसन्धान गर्न लेखेर पठाएका छौँ । यसमा हाम्रो जिल्लाको मात्र नभएर जिल्लाभन्दा बाहिर पनि घटनाहरू भएको देखियो ।”
ललितपुर प्रहरीले जिल्लाभित्रको मात्र अनुसन्धान गर्न पाउने भएकोले पनि यो घटना सीआइबीले अनुसन्धान गर्दा उपयुक्त हुने देखिएको उहाँको भनाइ थियो ।
प्रतिक्रिया