कैलाली । नेपाली सेनाले राष्ट्रिय सुरक्षा संम्वेदनशीलता लगायतका विषयमा सुदूरपश्चिमका पत्रकारहरुलाई प्रशिक्षण दिएको छ । रेडियो, पत्रिका र अनलाइनमा आवद्ध यहाँका नौ जिल्लाका १९ जना पत्रकारलाई प्रशिक्षण दिइएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी कैलालीमा पाँच दिनसम्म दिएको प्रशिक्षणको समापनमा बोल्दै पृतनापति प्रकाश देउजाले राष्ट्रको सुरक्षाका लागि सेना र पत्रकार बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । उनले राष्ट्रिय सुरक्षा संवेदनशीलतामा सेना जस्तै पत्रकार पनि संवेदनशील हुनुपर्ने बताए ।
सेनाले करिब १५ वर्ष अघिदेखि पत्रकारहरुका लागि रक्षा सम्वाददाता अभिमूखिकरण सुरु गरेको थियो । अहिलेसम्म देशभरका पाँचसय बढी पत्रकारलाई यो प्रशिक्षण दिइएको सेनाले जनाएको छ ।
जहाँ नेपाली सेनाको ईतिहास, राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स, शान्ति स्थापनामा नेपाली सेनाको भूमिका, सैनिक कल्याणकारी कोष, भौतिक पूर्वाधार निर्माणमा सेनाको भूमिका, विपद् व्यवस्थापन, सिमा सुरक्षा, अन्तराष्ट्रिय अनुभव र पत्रकार आचारसंहिता लगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
त्यस क्रममा सहायक रथी किरण केसी, नेपाली सेनाका महासेनानी हरि विश्वकर्मा, ईश्वर बुढाथोकी, अनन्त बहादुर सिंह, राजन बुढाथोकी लगायत नेपाली सेनाका अन्य अधिकृतहरुले पाँच दिनसम्म प्रशिक्षण दिएका थिए ।
उनीहरुले नेपालको एकीकरणदेखि इतिहासका विभिन्न कालखण्डमा मुलुकको सुरक्षामा सेनाको भूमिका लगायतका विषय प्रस्तुत गरेका थिए । बाह्य शक्तिलाई परास्त गरेर मुलुकको स्वतन्त्रता बचाउन सेनाले गरेको त्याग र बलीदानी तथा विभिन्न राजनीतिक व्यवस्थाको परिवर्तनमा सेना सदा अटल र स्थिर रही राष्ट्रको सुरक्षा र सेवामा समर्पित रहदाको ईतिहासका बिस्तृत विवरणहरु पनि पत्रकारहरुलाई जानकारी गराइएको थियो ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षार्थ सेनाको योगदान एंव राष्ट्रिय स्वाधीनताको संरक्षण गरी समावेशी सेनाको पहिचानका लागि भइरहेका प्रयास र यसले हुने फाइदाबारे पनि प्रशिक्षण दिइएको छ ।
प्रशिक्षणकै क्रममा स्थलगत अध्ययनका लागि कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेको पत्रकारहरुको टोलीलाई रुद्रध्वज गणमा प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका बारे जानकारी गराइएको थियो ।
नेपाली सेनाले सैनिक रेडियो कार्यक्रम मार्फत योगदान गर्ने सुदूरपश्चिमका आठ वटा रेडियोलाई उत्कृष्ट रेडियोका रुपमा सम्मान पनि गरेको छ । प्रशिक्षणमा अछाम, डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला, कैलाली र कञ्चनपुरका पत्रकारहरु सहभागि रहेका थिए ।
प्रतिक्रिया