मंगलसेन । अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ का बालबालिकाहरुले मदिराले बालविवाह बढेको र पढाई प्रभावित भइरहेको गुनासो गरेका छन् । घरदेखि विद्यालयसम्मै मदिराको प्रभाव रहेको भन्दै उनीहरुले यसले बालविवाह बढ्नुका साथै पढाई समेत प्रभावित भइरहेको बताएका हुन ।
बुधबार विनायक स्थित वडा नम्बर २ को कार्यालयमा आयोजित बाल कचहरीमा बोल्दै १६ वर्षीया निमा नेपालीले अधिकांश बुबाहरुले मदिरा सेवन गरेर हिंसा गर्ने गरेका कारण बालबालिकाको पढाइ प्रभावित भइरहेको बताइन् । ‘बाबाले रक्सी खाने, पिट्ने र पढ्न नदिने समस्या छ,’उनले भनिन्,‘जसले बालबालिका हिंसामा छन । त्यस्ता बुबाहरुलाई सम्झाइदिनुस् ।’ उनका अनुसार यस्तै कारणले बालबालिकाहरु सबैभन्दा बढी घरपरिवार बाटै हिंसा सहन बाध्य छन् ।
निमाकै साथी १६ वर्षीया कल्पना न्यौपानेले पनि मदिरा, छाउपडी र बालविवाहले आफुहरु हिंसा खेपीरहेको गुनासो गरिन् । उनले परिवारमा बुबाले मदिरा सेवन गरेर अशान्ति मच्चाउने, हजुरबुबा हजुरआमा उमेरकाले छाउ बार्न बाध्य बनाउने कारणले बालिकाहरु उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यतामा रहेको बताइन् ।
बाल कचहरीमा सहभागी नौरता न्यौपाने, धिर्जा ढकाल, बिन्दु न्यौपाने, उमेश न्यौपाने लगायतका बालबालिकाहरुले पनि निमा र कल्पनाले जस्तै छाउपडी, बालविवाह र मदिराका कारण आफुहरु असुरक्षित बनेको भन्दै स्थानीय सरकारका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएका छन् ।
ईलाका प्रहरी कार्यालय विनायकका वरिष्ठ हवल्दार राजेन्द्र बुढाऐरका अनुसार यहाँका अधिकांश बस्तीहरु साँझ परेपछि मदिराले मातेकाहरूको होहल्लाले अशान्त बन्छन्। उनीहरु घर पुगेर छोरी, श्रीमती र आमाहरुलाई कुटपिट गर्छन् । जसका कारण हिंसा बढेको हवल्दार बुढाऐरले बताए । तर यस्तो हुँदा पनि यसबारे लिखित उजुरी आएको तथ्यांक भने छैन ।
बाल कचहरीमा उठेका यस्ता गुनासोहरु सुनिसकेपछि पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष कृपाबहादुर धामीले बालबालिका माथि हुने हिंसाको पहिलो कारण नै मदिरा बनेको बताए । यसले घर, समुदाय र विद्यालयसम्म असर गरिरहेको उनको भनाई छ । ‘यो हाम्रो समुदायको पहिलो समस्या होु,’उनले भने,‘यसले हाम्रा छोरीचेली सुरक्षित छैनन । जसले सबैभन्दा बढी बाल हिंसा बढाएको छ ।’ यही कारणले वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने अभियानमा समेत चुनौती थपिएको वडाध्यक्ष धामीको भनाई छ । उनका अनुसार यो वडालाई आस्था नेपाल र वल्डभिजन सँगको साँझेदारीमा छिट्टै बालमैत्री वडा घोषणा गर्ने तयारी छ ।
आस्था नेपालका अनुगमन अधिकृत हर्क खड्काका अनुसार यो वडालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि सबै सुचक पुरा भइसकेका छन् ।
बाल कचहरीमा नेपाली कांग्रेसका नवराज देवकोटा, एमालेका डम्बर चलाउने, इलाका प्रशासन कार्यालयका नायब सुब्बा मनबहादुर बडुवाल र बाल सञ्जालका अध्यक्ष कल्पना न्यौपाने लगायत उपस्थित सरोकारवालाहरुले बालमैत्री वडा घोषणा गर्नु अघि सम्पुर्ण सुचक पुरा भए नभएको बारे बृहत छलफल र समन्वय गर्न सुझाब दिएका थिए ।
पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ बाल मैत्री स्थानीय शासन घोषणा हुन लागेको पहिलो वडा हो ।
प्रतिक्रिया