अछाम । तुर्माखाँद बजार छेवैमा ९/१० वटा खर र बाँसले छाएका झुपडी । त्यही बस्तिमा थियो सुन्दरीको चिया पसल र वैद्यनाथ आधारभूत विद्यालय । जुन बस्तिमा एक्कासी दन्दनी आगो लाग्यो । आगलागीपछि स्थानीयहरु चिच्याउन, कराउँन थाले भने गर्भवती, अपाङ्गता भएकाहरु र बालबालिकाको भागदौड मच्चियो ।
बस्तिमा फैलिएको आगो झन धेरै धन्किन थाल्यो । यतिकैमा गोरख बक्स गण मंगलसेन व्यारेकबाट नेपाली सेनाको टोली आयो र केहीबेरमै आगो निभाएर घाइतेलाई उद्दारगरी अस्पताल पठायो ।
यो सत्य घटना भने होइन, विपदका बेला गरिने उद्दार, राहत र उपचारको नमुना अभ्यास हो । कालिकेश्वरी माविको प्राङगणमा गरिएको कृत्रिम अभ्यासका क्रममा आगलागी सँगै भुकम्प, बाढिपहिरो र खोलामा फसेकाहरुलाई डोरीको माध्यमबाट उद्दार गरियो । पीडित र घाइतेहरुको विवरण संकलनपछि तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसी, प्रहरी निरीक्षक हर्षबहादुर चन्द सहितको टोली राहत लिएर आइपुग्यो ।
विपदबाट जोगिने उपाय सिकाउन अछाममा अभियानकै रुपमा प्रशिक्षण र कृत्रिम घटना अभ्यास गराइरहेको गोरख बक्स गणले तुर्माखाँद गाउँपालिकामा पनि ‘डेमो’ प्रदर्शन गरेर स्थानीयलाई सतर्क गराउन यो अभ्यास गरेको हो ।
केहि समयअघि तुर्माखाँद– ५ को नाडाकाँडाचौरमा पहिरोमा पुरिएर दुई परिवाका नौ जनाको मृत्यु भएको थियो । यस्ता घटनाबाट जोगिन सेनाको यो प्रशिक्षण र कृत्रिम घटना अभ्यासले सबैलाई सचेत बनाएको भन्दै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले हावाहुरी, आगलागी, बाढिपहिरो र भुकम्पका बेला सुरक्षित रहन मद्दत पुग्ने बताए । ‘यो निकै प्रभावकारी काम हो,’उनले भने,‘प्रकोपको सिजन नजिकिदै गर्दा गरिएको यो अभ्यासले सबैलाई सर्तक बनाएको छ ।’ यस्ता गतिविधिमा गाउँपालिका समेत अग्रसर हुने उनले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष बिमला कुमारी शाहीले चेतनामुलक यो अभ्यासले विशेषगरी महिला र बालबालिकालाई बढी फाइदा पुग्ने विस्वास व्यक्त गरिन् । ‘यस्ता घटनामा महिला र बालबालिका बढी पीडित हुन्छन्,’उनले भनिन्,‘उनीहरुका लागि यो अभ्यास फलदाई हुनेछ ।’
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना मार्गदर्शनका लागि जिल्लाका दशवटै स्थानीय तहमा पुग्ने लक्ष्यका साथ अहिलेसम्म तुर्माखाँद सँगै जिल्लाको ढकारी, चौरपाटी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिकामा प्रशिक्षण तथा कृत्रिम अभ्यास गरिएको गोरख बक्स गणका गणपती प्रमुख सेनानी संगम अधिकारीले बताए । ‘सचेतनाका लागि यसप्रकारका क्रियाकलाप सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘आगलागी, हावाहुरी र वर्षायाम नजिकिँदै छ, त्योबेला विपदको सामना गर्न स्थानीयलाई सहयोग पुगोस् भनेर यो अभियान गरिरहेका छौं ।’ भइपरी आउने विपदमा सेनाले सञ्चालन गर्ने क्रियाकलापबारे जानकारी गराउन पनि नमुना अभ्यास प्रदर्शन गरिएको उनले बताए ।
सेनाको प्रशिक्षण पश्चात बोल्दै गाउँपालिकाका निर्वतमान अध्यक्ष पुष्पराज शर्माले यस्ता कामलाग्दा कुराहरु गाउँटोलमै पुग्नेगरी व्यापक बनाउन सुझाब दिए । जसले सर्वसाधारण समेतलाई विपदबाट जोखिने ज्ञान मिल्ने उनले बताए ।
प्रशिक्षण तथा नमुना अभ्यास अन्तर्रगत सेनानी अमृत खड्काको कमाण्डमा ४० जना नेपाली सेनाको दक्ष समुह खटिएको छ । जहाँ जमदार सुवर्ण खड्काको संयोजनमा हुद्दा भेषराज बोहरा, सुशान्त खिलिङ, अमल्दार प्रेम देवकोटा, सुरेन्द्र शाही, टेकबहादुर खड्का, नेत्रबहादुर मास्की, प्युठ सुमित शाही, नेत्र पराजुली, सुजन बरामु, सञ्जु खत्री, सरस्वती चन्द र सिपाहीहरु साधना बिष्ट, गीता राना, नन्दा वली र सूर्यबहादुर जोगी लगायत स्थानीय विद्यार्थीहरुले समेत भुमिका निर्वाह गरेका थिए ।
कृत्रिम घटनाका दृष्यहरु :






प्रतिक्रिया
qi9hy9
qcb1z3