२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनाव गराउन प्रधानमन्त्री कार्कीले खोजिन् एमालेको साथ 



काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनको निर्वाचन सफल रूपमा सम्पन्न गराउन एमालेको साथ खोजेकी छिन् । बिहीबार एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिएर अगाडि बढ्न अनुरोध गरिन् । तर, एमाले नेताहरूले संसद् विघटनविरुद्ध परेको मुद्दा साथै निर्वाचन गर्न निष्पक्षता र निर्भयताको वातावरण नबनेको जवाफ दिएका छन् । 

सञ्चारमन्त्री जगदीश खरेलले एमालेले चुनाव प्रयोजनका लागि दल दर्ता गरेकोमा सकारात्मक लिँदै प्रधानमन्त्रीले भाग लिन आग्रह गरेको बताए । खरेलका अनुसार प्रधानमन्त्री कार्कीले चुनाव निष्पक्ष स्वतन्त्र र धाँधलीरहित ढंगबाट अगाडि बढाउने, सम्पूर्ण दलले भाग लिन सक्ने, जनताले भोट हाल्न सक्ने गरी कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी थिइन् । ‘हामी वातावरण बनाउँछौँ । तपाईंहरू चुनावमा अगाडि बढ्नुस् । चुनावको विकल्प छैन । चुनाव लोकतन्त्रका लागि लडेका दलहरूकै लागि चाहिने हो,’ कार्कीको भनाइ उद्धृत गर्दै मन्त्री खरेलले भने । 

जवाफमा एमाले नेताहरूले आफ्नो पार्टी जनमतबाट टाढा नभाग्ने, चुनावमा जान रमाउने पार्टी भएको कारणले चुनावको विरोध नगर्ने र यदि सरकारले चुनाव गरेको खण्डमा भाग लिने कुरा राखेको मन्त्री खरेलले बताए । एमाले नेताहरूले निर्भय र निष्पक्षका साथ सरकारले चुनाव गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेको र चुनावका लागि एमाले बाधक बन्दैन भन्ने स्पष्ट संकेत दिएको मन्त्री खरेलको भनाइ छ । ‘छलफलबाट एमालेको तर्फबाट चुनावप्रति संशय धेरै निराकरण भएको महसुस भएको छ,’ मन्त्री खरेलले भने । 

प्रधानमन्त्रीसँग छलफल गर्न एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्ताैला बालुवाटार पुगेका थिए । ‘प्रधानमन्त्रीले आमन्त्रण गर्नुभयो । निर्वाचन अगाडि बढाउने कुरामा एमालेको संस्थागत साथ, सहयोग होस् भन्नुभयो,’ छलफलपछि एमाले नेता बर्ताैलाले भने ।

छलफलमा एमाले नेताहरूले अहिलेको सरकार गठनको सन्दर्भमा उठेका प्रश्नको संवैधानिक परीक्षणको प्रक्रिया चलिरहेको र यो पहिला टुंगिनुपर्ने धारणा राखेको बताएका छन् । त्यसपश्चात् निर्वाचनको विषयमा कसरी अगाडि बढ्ने भनेर आउने उनको भनाइ छ ।

‘हामीले निर्वाचन गर्न निष्पक्षता र निर्भयताको वातावरण चाहिन्छ, जुन अहिलेसम्मको गतिविधि छ, त्यसमा विश्वस्त हुने आधार छैन भन्यौँ,’ बर्तौलाले भने, ‘शान्तिसुरक्षा, भयरहित वातावरणको बाटो, दलहरूले भयरहित ढंगले जनताका बिचमा जान सक्ने परिस्थिति, सँगसँगै मतदातालाई पनि आफ्नो विवेकको मतदान मतदान केन्द्रसम्म आएर व्यक्त गर्न सक्ने परिस्थिति आजको दिनसम्म बनेको देखेनौँ ।’ 

बर्ताैलाले भागेका कैदीबन्दीको अवस्था, लुटेका हतियार खोज्ने विषयमा चासो राखेको बताए । प्रधानमन्त्रीले प्रयत्न गरिरहेको र दलहरूले सहयोग गर्नुपर्‍यो भन्ने जवाफ दिएको बर्ताैलाले बताए । बर्ताैलाले स्थानहदबारे पनि प्रश्न उठाएको बताए । ‘एउटा ठुलो लोकप्रिय मत भएको राजनीतिक दलको अध्यक्षलाई स्थानहद तोकिने कुरा नै निर्वाचन गराउन आवश्यक वातावरण बनाउन सरकार तयार छैन भन्ने हो, यसका बारेमा कसरी सोचिरहनुभएको छ भनेर राख्यौँ । उहाँले केही जवाफ दिनुभएन । सकारात्मक ढंगले लिएको भन्नुभयो,’ उनले भने । 

प्रकाशित मिति : १३ मंसिर २०८२, शुक्रबार  १ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *