१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिर्सने रोगले निम्त्याउने समस्या



मस्तिष्कले नयाँ कुरा सिक्छ। महत्त्वपूर्ण कुरा मात्र सम्झन्छ। केही कुरालाई ध्यान दिएर सुन्छ। विषयवस्तु बुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने काम गर्छ। विषयवस्तुको बारेमा तर्क गर्छ। ठीक, बेठीक निर्णय लिने गर्छ। मस्तिष्कले आफू कुन अवस्था र ठाउँमा छु ? आफ्नो घर/डेरामा कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राखिन्छ। अभिव्यक्ति गर्न चाहेको कुराको सही शब्द चयन गरी बोल्न सक्ने क्षमतामा मस्तिष्कको भूमिका हुन्छ।

आमरूपमा  डिमेन्सिया भनेको बुढ्यौलीमा लाग्ने रोगका रूपमा चित्रण गरिँदै आएको छ। तर, डिमेन्सिया बुढेसकाल लागेपछि हुने रोग होइन। यो त मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो। मस्तिष्कमा रोग नलागेका ९० वा सय वर्षका वृद्धवृद्धामा डिमेन्सियाका लक्षणहरू देखिँदैनन। यो कुनै नयाँ रोग पनि होइन। आयुर्वेदमा ‘स्मृति भ्रंश’ भन्ने रोग तीन हजार वर्षभन्दा पहिलेदेखि नै छ जसलाई मेडिकल साइन्सले डिमेन्सियाको नाम दिएको छ। डिमेन्सिया धेरै किसिमका हुन्छन्। तीमध्ये बढी देखिने अल्जाइमर्स डिमेन्सिया हो।

६० वर्ष नाघेका व्यक्तिमा बिर्सने बानी बढ्दै गए डिमेन्सिया हुन सक्छ। यो रोग लागेपछि सम्झने, आफन्तजनलाई चिन्ने वा नाम स्मरण गर्ने, सरसफाइ, नुहाइ धुवाइ तथा दिसा, पिसाब गर्ने दैनिक जीवनका महत्त्वपूर्ण कार्य गर्ने शक्ति क्षीण हुँदै जान्छन्। यो रोग प्रायः ६० वर्ष उमेर पछि मात्र लाग्दछ। जति उमेर बढ्दै गयो डिमेन्सिया हुने सम्भावना पनि बढ्दै जान्छ। प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब एक प्रतिशत हुने विभिन्न अध्ययनमा देखिएको छ। ९० देखि ९५ वर्षका व्यक्तिलाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।

कसरी थाहा पाउने ?
डिमेन्सिया रोग लागेपछि विभिन्न किसिमका लक्षणहरू देखिन्छन्। ती लक्षणहरू परिवारका सदस्यहरूले थाहा पाउन सक्छन्। विगतमा गर्दै आएको काम बिगार्दै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने हुन्छ। समय तथा स्थानको ज्ञान हराउने हुन्छ। महिना, बार, गतेजस्ता कुराहरूको सम्झना हुँदैन। आफू बस्दै आएको गाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने हुन्छ। रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सन पुग्छन्। छोरा, छोरी, बुहारीलाई नचिनी हजुर, तपाईं, भन्ने, हुन्छ। सबै लक्षणहरू डिमेन्सियाका बिरामीहरूमा देखिने एकै पटक देखिँदैनन्। सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ। रोग बढ्दै गएपछि थप लक्षणहरू पनि देखिँदै जान्छन्।

डिमेन्सिया धनी, गरिब, लिंग, जातजाति जो कोहीलाई हुन सक्छ। तर, हेक्का राख्नुपर्ने मुख्य कुरा के हो भने डिमेन्सिया रोग हो। यो बुढेसखालको लक्षण होइन तर गलत सोचाइ व्यापक छ। मस्तिष्कका स्नायु कोषहरू मर्दै जाने र मस्तिष्कमा भएका केही रसहरू उत्पन्न गर्ने स्नायुकोष (न्युरोन्स) पनि क्षय हुँदै गएको पाइएको छ। करिब ७० प्रतिशत बिरामीहरू अल्जाइमर्स रोगका कारण डिमेन्सिया हुने गरेको छ। अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो। डिमेन्सिया हुन सक्ने अन्य कारणहरूमा अत्यधिक मदिरा सेवन, एचआईभी/एड्स, पोषण तत्त्वको कमी र मस्तिष्कमा रक्तसञ्चार राम्रो हुन नसक्नु हुन्। डिमेन्सिया रोग लागि सकेपछि उपचार गरेर पूरै निको हुने सम्भावना निकै कम हुन्छ।

डिमेन्सियाको निदान
हर्पिज सिम्पेलक्स भाइरसको संक्रमण र अल्जाइमर्स डिमेन्सियाको केही सम्बन्ध छ भन्न लागिएको छ। यस्तो संक्रमणको राम्रो उपचार गरेर अल्जाइमर्स रोक्न सकिन्छ कि भन्ने कुराहरू पनि सार्वजनिक हुन थालेका छन्। धेरैजसो डिमेन्सियाका बिरामीहरूमा लक्षणहरू विस्तारै सुरु हुन्छन्। यस्ता लक्षणहरूलाई परिवारजनले प्रायः बेवास्ता गर्छन्। बुढेसकाल लागेर होला भनेर सामान्य रूपमा लिन्छन्। रोग जटिल भइसके पछि मात्र चिकित्सकसँग सल्लाह लिने चलन छ। रोगको निदान छिटो हुन सके राम्रो हुन्छ।

ब्रिटिस मेडिकल जर्नल (जनवरी २०१२) अनुसार एसिटाएल कोलिन नामक न्युरोट्रान्समिटरले मस्तिष्कमा न्युरोन्स (नर्भ कोष) हरू बीच नयाँ नयाँ कनेक्सन वा सम्पर्क स्थापना गर्ने काम गर्छ। जति राम्रो र बलियो यस्ता कनेक्सनहरू भए त्यति मस्तिष्क तेजिलो हुन्छ। यो न्युरोट्रान्समिटरको कमी हुँदै जाँदा, न्युरोन्सहरू सुक्दै जान्छन्। एसिटाएल कोलिन उमेर बढदै जाँदा, घट्दै जान्छ। जस्तै हाम्रो मांसपेशीहरू कुनै पनि शारीरिक व्यायाम वा परिश्रम नगरे घट्दै जान्छन्। त्यस्तै मस्तिष्कलाई सक्रिय राख्न व्यायामको आवश्यकता पर्छ। एसिटाएल कोलिन मस्तिष्कमा कम हुन नदिन के गर्न सकिन्छ त ? स्वाभाविक प्रश्न हो। यी पाँच प्रकारका तत्त्वहरूले एसिटाएल कोलिनलाई सन्तुलनमा ल्याउँछन्।
त्यस्तै पोषणको कमी वा थाइरोइड ग्रन्थीसम्बन्धी रोगका कारण डिमेन्सिया भएको रहेछ भने त्यसको उपचार गर्नुपर्ने हुन्छ। अन्य समस्याहरू जस्तै आँखामा मोती बिन्दु, सुन्ने समस्या, मधुमेह, उच्च रक्तचाप आदि भए

त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ। लडेर चोटपटक लाग्ने र विभिन्न संक्रमणहरू भएर समस्या हुन सक्ने भएकोले त्यसतर्फ सतर्क हुनु जरुरी छ। निद्रा नलाग्ने, रिसाउने, तोडफोड गर्ने आदि समस्या भएमा केही औषिधहरूको प्रयोग गर्न सकिन्छ। अनुपयुक्त व्यवहार गर्ने जस्तै कपडा खोल्ने, नांगै हुने, यौनांग खेलाउने, रिसाउने, कुटपिट गर्ने वा तोडफोड गर्ने जस्ता समस्या भए मनोरोग विशेषज्ञसँग सल्लाह लिएर औषधिहरूको प्रयोग गर्न सकिन्छ। यसलाई बोझको रूपमा लिएन भने मानसिक तनाव पनि त्यति हुँदैन।

कसरी जोगिने ?
पहिलो कुरा, स्मरण शक्तिमा कमी आउने अरू धेरै कारणहरू छन्। जस्तै केही भिटामिनको कमी, केही हर्मोनहरूको कमी र ट्र्याङकुलाइजर लगायतका केही औषधिहरूको प्रयोग। त्यस्तै धेरै मानसिक तनाव हुँदा, निद्राको समस्या, लागूऔषधिको प्रयोग वा धेरै मदिरापानका कारण पनि स्मरण शक्ति कम भएको हुन सक्छ। यी कारणहरूले गर्दा स्मरण शक्ति कम भएमा त्यसको पूर्ति अन्य तत्त्वबाट गर्न सकिन्छ। नोक्सान गर्ने पदार्थहरू छोड्दा फाइदा हुन्छ। अर्को महत्त्वपूर्ण कुरा हो धूमपान नगर्ने, मधुमेह छ भने राम्रो नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्छ। उच्च रक्तचाप छ भने राम्रो नियन्त्रण गर्नुपर्दछ। शरीरको वजन बढी छ भने घटाउनु पर्दछ। नियमित शारीरिक व्यायाम गर्नुका साथै र रगतमा कोलेस्टेरोलको मात्रा बढी छ भने नियन्त्रणमा ल्याउनु पर्दछ। यी प्रयासहरूले हृदयाघात हुनबाट बचाउँछन्। साथै डिमेन्सियाको रोकथाममा महत्त्वपूर्ण योगदान पुग्छ। सन्तुलित भोजन गर्नु र पोषण तत्त्वको कमी हुन नदिनु आवश्यक छ। टाउकोमा जोडले चोटपटक लागेमा पछि गएर डिमेन्सिया हुने सम्भावना हुन्छ। टाउकोमा चोटपटक नलागोस् भन्ने तर्फ ध्यान दिनु पर्छ।

त्यस्तै तेस्रो महत्त्वपूर्ण कुरा हो मानसिक तनावलाई सकेसम्म कम गर्ने प्रयास गर्नुपर्छ। तनाव हुँदा कर्टिसोल भन्ने हार्मोन शरीरमा बढी निस्कन्छ। जुन शरीर र मस्तिष्कलाई हानिकारक छ। तनावको राम्रो व्यवस्थापन गर्दा आफ्ना समस्याहरू मिल्ने साथी वा परिवारका सदस्यसँग भन्ने, समस्या समाधान गर्ने प्रयास गर्ने, शारीरिक व्यायाम, ध्यान, आराम, निद्रा, पौष्टिक आहार, संगीत श्रवण, गर्न सकिन्छ। यसबारे विशेषज्ञबाट परामर्श गर्नु आवश्यक हुन्छन्। भनिन्छ, मस्तिष्कलाई कि त प्रयोग गर्नुपर्छ वा गुमाउनु पर्छ। केही काम छैन भनेर चुप लागेर निराश भई बस्नु हुँदैन। नयाँ नयाँ विषयबारे पढ्ने, सिक्ने गर्नुपर्छ। स्वस्थ्य जीवन शैली अवलम्बन गर्दा डिमेन्सियालगायत धेरै रोगहरूवाट बच्न सकिन्छ। त्यसैले यसवारे युवावस्थादेखि नै ध्यान दिनु राम्रो हुनेछ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *