२० बैशाख २०८१, बिहिबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्खा सुरु भएसँगै बढ्यो डेंगुको जोखिम



काठमाडाैं । वर्षा सुरु भएसँगै डेंगुको जोखिम बढेको छ । अबको चार महिना डेंगु संक्रमण जोखिम उच्च हुने सम्बद्ध अधिकारीहरूको अनुमान छ । डेंगु संक्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म धेरै हुन्छ । 

देशका अधिकांश जिल्लामा अहिले नै डेंगुको संक्रमण देखिइसकेकाले चार महिनामा संक्रमण जोखिम उच्च हुने देखिएको हो । यो वर्ष जनवरीयता मात्रै ६६ वटा जिल्लामा एक हजार एक सय ९२ मा संक्रमण देखिइसकेको छ । डेंगुबाट एकजनाको मृत्यु भएको छ ।

गत वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिएको थियो । यो वर्ष पनि जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हालसम्मकै धेरै संक्रमण फैलिएको सन् २०२२ मा मात्रै संक्रमणबाट ८८ जनाको मृत्यु भएको थियो । 

लामखुट्टे फैलिने मौसमको सुरुवातसँगै संक्रमण फैलिन सक्ने भन्दै सगज रहन आग्रह गरिएको छ । डेंगु फैलाउने एडिज जातको लामखुट्टे हो । यसले एकपटकमा आठ सयदेखि हजारवटासम्म फुल पार्न सक्छ । संक्रमित लामखुट्टेले पारेको फुलबाट जन्मिने लामखुट्टेमा पनि डेंगु संक्रमण हुने भएकाले सजग रहन आवश्यक रहेको इडिसिडीका निर्देशक डा. रुद्र मरासिनीले बताए । ‘जमेको पानीमा डेंगु संक्रमित लामखुट्टेका फुल रहेको हुन सक्ने भएकाले यस्ता ठाउँ सुक्खा राख्न आवश्यक छ,’ उनले भने । 

काठमाडौं उपत्यकामा बढी जोखिम
डेंगु संक्रमणको जोखिम काठमाडौं उपत्यकामा बढी देखिएको चिकित्सकले बताएका छन् । गत वर्षसमेत कुल संक्रमणको ५६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको थियो । उपत्यकामा पछिल्लो ६ महिनामा ९३ जनामा संक्रमण देखिएको छ । महाशाखाका अनुसार काठमाडौंमा ४६, ललितपुरमा १२ र भक्तपुरमा ३५ जना डेंगुका बिरामी भेटिएका छन् ।

गत वर्ष काठमाडौंमा १४ हजार ३८८ जना, भक्तपुरमा ६ हजार १५४ जना र ललितपुरमा नौ हजार ६२१ जनामा संक्रमण देखिएको थियो । उपत्यकामा गमला, टायर, फोहोरको थुप्रो आदि ठाउँमा पानी जमेर बस्नु, पानीका ट्यांकीहरू खुला रहनु, खाल्डाखुल्डीमा पानी जम्नु र निर्माणाधीन संरचनामा पानी जम्नुले तुलनात्मक रूपमा संक्रमणको जोखिम बढी भएको डा. मरासिनीले बताए ।

त्यसैबीच, जोखिम कम गर्न उपत्यकामा ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।

-नयाँ पत्रिका

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : २८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *