३० बैशाख २०८१, आइतबार | May 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रक्तदान गरी सन्त निरंकारीले मनायो मानव एकता दिवस



कैलाली । “रगत नालीमा होइन, नाडीमा बगाऔं’ सत्गुरु बाबा हरदेवसिंह जी महाराजको भनाइलाई स्मरण गर्दै देशव्यापी रुपमा मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी मण्डल शाखा बौनियाले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी मानव एकता दिवस मनाएको हो ।

सो अवसरमा ६५ जना रक्तदाताले रक्तदान गरेको अहेव बाधुराम चौधरीले बताए । जसमध्ये ३८ पुरुष र २७ जना महिलाले रक्तदान गरेको उनले जानकारी दिए । रेडक्रस सोसाइटी टीकापुरमा शाखाबाट खटिएका ल्याब असिस्टेन्ट पवन चौधरी, अहेव बाधुराम चौधरीलगायतको स्वास्थ्यकर्मीको टोलीले रक्तदान शिविरमा स्वास्थ्य चेकजाँचमा सहजीकरण गरेका थिए ।

सन्त निरंकारी सन्त, महात्मा लगायत स्थानीय रक्तदाताले स्वस्फूर्त रुपमा रक्तदान गरेको बताइएको छ । संकलन भएको रगत रेडक्रस सोसाइटी टीकापुरमा शाखामा पठाइएको छ । सो अवसरमा बौनिया शाखा मुखी महात्मा विजयसिंह कुँवरले रक्तदान गर्नु मानव सेवाको सर्वाेत्तम कार्य भएको बताए ।

उनले सन् १९८६ देखि सन्त निरंकारी मण्डलले रक्तदान कार्यक्रमको प्रारम्भ गरेको जानकारी दिए । निरंकारी मिसनले विश्व जगतमा मानव एकता दिवसका दिन रक्तदान गरी मानव एकता, विश्वबन्धुत्व र भाइचाराको सन्देश प्रवाह गरिरहेको उनले बताए । उनले सन्त निरंकारी मिसन कुनै धर्म सम्प्रदाय नभई विशुद्ध आध्यात्मिक विचारधारा भएकाले हरेक जनजनमा आध्यात्मिक जागरण र मानव एकतामा जोड दिइरहेको बताए ।

उनले भने, “समाज, मान्छे अहिले बदलिएका छन्, तेरो मेरो भावनाको विकास भएको छ, यस्तोबेला गुरु महाराजको उपदेश र दिव्य वचनको खाँचो छ, सबैलाई एकतामा जोड्न भावनाको विकासको खाँचो छ ।” उनले मानव–मानवमा हुने बदलावको भाव त्यागेर आपसी सदाचारमा सन्त निरंकारी मिसनले जोड दिएकाले सन्तभक्तजन निरन्तर रुपमा सेवा, सत्संग र सुमिरन जोडिएर जीवनलाई सत्गुरुको विचारलाई अनुशरण गर्दै सन्देश दिइरहेको बताए ।

निरन्तर रुपमा सामाजिक कार्यमासमेत सेवा तथा योगदान दिँदै आएको उनको भनाई छ । कार्यक्रमका बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदीप), वडा नं. ३ का वडाध्यक्ष मनऋषि आचार्य, वडा नं. २ का वडाध्यक्ष गोविन्द विक, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा आयोजित सत्संग कार्यक्रममा सेवादल क्षेत्रीय सञ्चालक नरबहादुर बटालाले प्रवचन दिएका थिए । उनले मानव–मानवबीचको एकता अहिलेको प्रमुख आवश्यकता भएको चर्चा गर्दै रक्तदान गर्नु मानव जीवनको सबैभन्दा उत्तम कार्य भएको बताए । “मानव सेवा तथा धर्मको नाममा धेरै किसिमको दानमध्ये रक्तदानजस्तो पवित्र र महान दान अरु कुनै छैन” उनले भने, “मानव मानवबीचको एकता र बन्धुत्व आत्याध्यामिक जागृती वा आत्मबोध माध्यमबाट प्राप्ति हुन सक्दछ । अब मानिसमा आत्मज्ञान, आत्मबोध हुन्छ, तब भेदभाव हुँदैन, एकअर्काबीच दूरी हुँदैन, सहयोगको भावना र अपनत्वबोध हुन्छ ।”

मानव एकता दिवसको अवसरमा देशैभर रक्तदान कार्यक्रम आयोजना गरिएको सन्त निरंकारी मण्डल बौनिया शाखाका सेवादल शिक्षक सुरतबहादुर विष्टले बताए । रक्तदानपछि आयोजित सत्संग तथा प्रवचन कार्यक्रममा हजारौंको सन्तमहात्माको सहभागिता रहेको थियो । उनीहरुले विभिन्न भक्तिगीत तथा प्रवचन दिएर मानव एकता दिवस मनाएका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *