१५ बैशाख २०८१, शनिबार | Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युद्धभूमिबाट मातृभूमि फर्किए २५३ नेपाली



काठमाडाैं । इजरायल र हमास समूहबीच जारी संघर्षका कारण इजरायलमा अलपत्र परेका दुई सय ५३ विद्यार्थीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । शुक्रबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका विद्यार्थी आफन्तजनको साथ लागेर घर गएका छन् । फर्कनेमा शनिबार हमासको आक्रमणमा परी घाइते भएकामध्ये एकजना पनि छन् । 

अशान्त भएको एक सातापछि नेपाल सरकारले इजरायलको तेलअभिभबाट दुई सय ५३ विद्यार्थीको उद्धार गरी काठमाडौं ल्याएर आ–आफ्नो घर पठाएको हो । परराष्ट्रमन्त्री एनपी साउद इजरायलको तेलअभिभ पुगेर विद्यार्थीलाई नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश ल्याएका थिए ।

विद्यार्थी लिएर काठमाडौं विमानस्थलमा अवतरणपछि परराष्ट्रमन्त्री साउदले नेपाली विद्यार्थीको आत्मविश्वास बढाएर फर्केको बताए । उनले इजरायलमा रहेका आफन्तजनलाई नआत्तिन पनि आग्रह गरे । उनले इजरायलबाट नेपाल फर्कन चाहेका पाँच सय तीनजनामध्ये दुई सय ५३ जनालाई ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने बताए ।

इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीको नाम अनलाइनमार्फत संकलन गरेको थियो । शुक्रबारसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये पाँच सय तीनजनाले नेपाल फर्कन अनुरोध गरेका थिए । तीमध्ये दुई सय ५३ जना पहिलो चरणमा नेपाल आएका हुन् । 

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको, घाइते एकजना उपचारपछि स्वदेश फर्केको, एकजना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुईजना स्थानीय अस्पतालमा उपचाररत रहेको पनि जानकारी दिए । उनले हमास आक्रमणमा परी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको बताए । 

स्वदेश फर्किन चाहेका नेपालीलाई नियमित उडानबाट फर्काउने बन्दोबस्त मिलाउने निर्णय सरकारले गरिसकेको छ । परराष्ट्रमन्त्री साउदले नेपालीलाई अप्ठ्यारोबाट जोगाउने र स्वदेश फर्काउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै चिन्ता नगर्न आह्वान गरे । 

विद्यार्थीबाहेक स्वदेश फर्कन इच्छुकहरूको हकमा सरकारले आवश्यक पर्दा मात्रै सहजीकरण गर्ने भएको छ । ‘त्यहाँ जागिर गर्न गएका आर्थिक अभाव र जानकारी अभावमा अलपत्र पर्ने वा समस्यामा पर्ने भन्ने छैन । नियमित उडानबाट आफ्नो खर्चमा पनि आउन सक्ने अवस्थामा रहेकाहरूको हकमा धेरै चिन्ता छैन,’ मन्त्री साउदले भने । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर उडान भरेर मृतकको शव तथा त्यहाँ रहेकाहरूलाई उद्धार गर्ने निर्णय गरेको थियो । तर, दुईवटा जहाजमा आउने संख्या नपुगेका कारण नेपाल एयरलाइन्सबाट उद्धार भइसकेपछि अब थप जहाज जानु नपर्ने सरकारको मूल्यांकन छ । इजरायलमा नेपालीको संख्या करिब पाँच हजार छ । 

शव ल्याउन ढिला
इजरायलले पोस्टमार्टमको प्रक्रिया नथालेका कारण १० जना विद्यार्थीको शव ल्याउन भने केही ढिलाइ हुने भएको छ । इजरायलले नेपालीसहित कसैको पनि शव सनाखत सुरु गरेको छैन । ‘नेपाली विद्यार्थीको शव ल्याउन केही समय लाग्ने देखियो । इजरायलले पोस्टमार्टम गरेपछि शव हस्तान्तरण गर्छ । त्योभन्दा पहिला शव कुन देशका नागरिकको हो भनेर सनाखत गर्नुपर्छ । युद्धको परिस्थितिका कारण अहिले त्यस विषयमा केही पनि गरिएको छैन भन्ने जानकारी इजरायल सरकारले दिएको छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन् । 

उनले इजरायल सरकारसँग निरन्तर सम्पर्कमा रहेर नेपाली राजदूतावासले समन्वय गरिरहेको पनि बताइन् । ‘हराइरहेका विद्यार्थीको खोजी र बाँकी नेपालीको स्वदेश फिर्ता वा स्थानान्तरणका लागि पनि समन्वय गरिरहेका छौँ,’ प्रवक्ता लम्सालले भनिन् । 

परराष्ट्रका एक अधिकारीका अनुसार इजरायल सरकारको व्यवस्थापनमा १० जना विद्यार्थीको शव स्वदेश ल्याउने विषयमा छलफल भइरहेको हुँदा अब थप चार्टर विमान पनि पठाउनुपर्ने अवस्था छैन । इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । केन्द्र र प्रदेश सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेका छन् । 

के भन्छन् फर्किएका विद्यार्थी ?
इजरायलमा हमासले गरेको अप्रत्याशित हमलाको त्रासदी लिएर शुक्रबार बिहान स्वदेश फर्किँदा नेपाली विद्यार्थी खुसी थिए । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ खुसीले नेपालको जयजय नारा लगाएका थिए । ठूलो संख्यामा अभिभावक र आफन्त उनीहरूलाई लिन विमानस्थल पुगेका थिए । 

खचाखच भरिएको अवस्थामा विमानस्थलबाट निस्किँदै गर्दा भिडमा सुर्खेतका धनकृष्ण आचार्यले ठूलो संकटबाट सकुशल आएको सुनाए । ‘हमासको आक्रमणपछि दक्षिण इजरायल तहसनहस भएको छ । उत्तरी भागतिर लेबनान पर्छ, त्यहाँ पनि बिस्तारै आक्रमण हुन थालेको देखिन्छ । चारैतिरबाट इजरायलमाथि खतरा सुरु भएको छ । हमासले आक्रमण गरेको दश घन्टापछि इजरायलले घोषणा गर्‍यो । सुरुको दुई दिन फार्मको बंकरभित्र बस्यौँ,’ उनले भने, ‘त्यहाँ पनि असुरक्षित भएपछि सामुदायिक बंकरमा ल्याइयो । त्यहाँ पनि अप्ठ्यारो भएपछि अर्को ठाउँमा सामुदायिक बिल्डिङमा ल्याइयो । त्यहाँबाट उद्धार भएर स्वदेश आएका छौँ । इजरायलमा नेपालीलाई गाह्रो छ । नेपाली नागरिकलाई ल्याउनुपर्छ ।’ 

एक वर्षअघि इजरायल गएकी नेपाली विद्यार्थी रेशमा श्रेष्ठले अप्रत्याशित र अकल्पनीय घटना भएको सुनाइन् । ‘इजरायलबाट यहाँ आउँदा सपनाजस्तो लागिरहेको छ । जन्मभूमि जे भए पनि प्यारो रहेछ । ११ महिना जुन घरमा बसेको थिएँ, त्यहाँ मानिसलाई जिउँदै जलाए, घर भत्काए,’ उनले भनिन् । उनी १३ महिनादेखि इजरायलमा थिइन् । पछिल्लोपटक उनी दुई महिनाअघि मात्रै इजरायल गएकी थिइन् । ‘मलाई बाँचेर आउन लेखेको रहेछ, भगवान्ले बचाएर पठाइदिनुभयो,’ उनले भनिन्, ‘मलाई सपनाजस्तो लागिरहेको छ ।’ त्यहाँ रहेका नेपालीको उद्धार र बेपत्ताको खोजी तीव्र पार्न सरकारलाई उनको सुझाव छ । 

स्वदेश फर्केको भिडबाट अर्की विद्यार्थीले भनिन्, ‘हामी बंकरभित्र बस्यौँ । एक सेकेन्डमा कतिवटा क्षेप्यास्त्र हानेको थियो । हरेक सेकेन्डमा बम हानेको थियो । तीन दिनमा खानेपानी, खाना सकिएपछि सहाराविहीन भयौँ । १८ जना एकै ठाउँमा थियौँ । राजदूतावासलाई दबाब दिइरह्यौँ । अन्योल र अनिश्चयबीचमा स्वदेश आइपुग्यौँ ।’

आफू सकुशल आए पनि विद्यार्थीले बेपत्ता सहपाठी विपिन जोशीप्रति चिन्ता जनाएका छन् । ‘हामी सपना बुनेर आ’को, सपना टुटेर फर्कनुपरेको छ,’ उद्धार भएर शुक्रबार बिहान स्वदेश फर्किनुअघि विद्यार्थी विपिन सुवेदीले भने, ‘आज हाम्रो चीत्कार प्रिय साथी विपिन जोशीको खोजीको हो । हामी बाँच्यौँ, तर जिन्दगीभरि मरीमरी बाँच्नुपर्ने भयो ।’ 

साथी गुमाएको पीडा र आफू बाँचेको खुसी दुवै बोकेर दुई सय ५३ जना विद्यार्थी फर्केका छन् । यीमध्ये हमास समूहले गरेको आक्रमणकै बीचबाट बाँचेर तीनजना विद्यार्थी फर्केका छन् । उनीहरूले फर्कन पाएकोमा सरकारलाई धन्यवाद दिएका छन् । तर, आफ्नै बीचबाट हराएका विपिन जोशीको यादमा उनीहरू छन् । ‘हामीले प्रार्थना गरेझैँ सरकारले खोज्नुपर्‍यो, लाग्नुपर्‍यो,’ सुवेदी भन्छन्, ‘माहोल तात्तिएपछि मात्रै भन्दा, उसलाई देशको छोराजसरी खोज्नुपर्‍यो । विपिनको सुरक्षित आगमनका लागि नेपाल पर्खिरहेको छ ।’ 

हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेल अस्पतालमा छन् । उनको पनि मनमा बेपत्ता विपिन जोशीको चिन्ता छ । ‘म इजरायलको अस्पतालमा छु । मेरो उपचार भइरहेको छ । ऊ हराइरहेको छ । दुई–तीनजना थाईसँग होस्टेज बनाएर उसलाई प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु । खोजी कार्यमा अग्रसरता होस् भन्न चाहन्छु,’ कट्टेलले इजरायलस्थित अस्पतालको शड्ढयाबाट भिडियो सन्देश जारी गरेका छन् । 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  २ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *