१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेतालाई सत्ता, सहिदलाई पीडैपीडा



माघ ५ मा मधेस प्रदेश सरकारले ‘बलिदानी दिवस’ मनाइरहँदा सहिद परिवारमा भने सरकार र मधेसी दलप्रतिको आक्रोश चुलिँदो छ। मधेसमा २०६२/६३ र २०७२/७३ मा दुई ठूला आन्दोलन भए। तर, आन्दोलनमा ज्यानको बलिदानी दिएका सहिदहरूको सपना अझै पूरा हुन सकेको छैन। सहिद परिवारले न उचित सम्मान पाउन सकेका छन्, न जनताले संघीयता र समावेशिताको आभास गर्न पाएका छन्।   

मधेस आन्दोलनको जगमा ओहोदामा पुगेका नेताहरूले हिजोका दिनलाई भुलेको सहिद परिवारको आरोप छ। प्रत्यक्ष वा अप्रत्यक्ष आन्दोलनमा होमिएकाहरूलाई उपेक्षा गरिएको राजनीतिक विश्लेषक अनन्त अनुराग बताउँछन्। ‘सत्ताको उन्मादमा सहिदलाई बिर्सनु उनीहरूप्रति अन्याय गर्नु हो’, उनले भने। ‘नेताले सत्ता पाए, हामीले चोट’मधेसमा पटक–पटक भएका आन्दोलनमा दर्जनौं मधेसी जनताले ज्यानको बाजी लगाए। सयौं आन्दोलनकारी घाइते तथा अशक्त भए। धेरैले राजनीतिक मुद्दा खेप्नुपर्‍यो। मधेसका सयौं नागरिक आन्दोलनकै कारण अहिले पनि जेलमै छन्। यति ठूलो मूल्य चुकाएर मधेसले प्रदेश सरकार निर्माण गर्‍यो। तर, सहिद परिवारको अवस्था जहीँको तहीँ छ। 

‘सहिद परिवारले कसरी गुजारा चलाएका छन्। बुवा आमाको अवस्था कस्तो छ ? कसैलाई मतलब छैन’, दोस्रो मधेस आन्दोलनका सहिद नितु यादवका आमा राजकुमारीदेवी यादवले भनिन्, ‘मधेस आन्दोलन तथा सहिदको बलिदानीको जगमा बनेको प्रदेश सरकारले सहिदको आमा बुवालाई केही गरेको छैन। सरकारले सहिद परिवारलाई रोजगारीपत्र र घाइतेलाई आर्थिक सहायता दिए पनि मेरो परिवारले प्रदेश सरकारबाट सम्मानस्वरूप एक वर्षमा एउटा माला, टीका र एउटा गम्छाबाहेक केही पाएको छैन।’ 

धनुषा लक्ष्मीनिया गाउँपालिका–१ अरेरबा टोलका रामनरेश यादवले आन्दोलनमा १४ वर्षीय छोरा दीलिपलाई गुमाए। दीलिपको २०७२ भदौ २५ गते ‘चलु जनकपुर भरु जनकपुर’ आह्वानका क्रममा प्रहरीको गोली लागी निधन भएको थियोे। त्यतिबेला सरकारले प्रत्येक सहिद परिवारलाई १०÷१० लाख राहत उपलब्ध गराउने घोषणा गरेको थियो। घोषण अनुसारको राहत दियो पनि। तर, छोरो नै गुमाइसकेपछि पैसाको के अर्थ’, उनले आक्रोश पोखे।

प्रदेश सरकारले सहिद परिवारको अवस्था बुभ्mने प्रयास गरेको छैन। भाषण गर्दा ठूल्ठूला आश्वासन दिने र सहिदलाई भोट बैंक बनाएर सत्तामा पुग्न सिँढी बनाउने गरेको छ। रामनरेशले नियुक्ति पत्र देखाउँदै भने, ‘यी हेर्नुस् मसँग नियुक्तिपत्र छ। तर, काम छैन। पैसा पाएको छैन।’ 

जनतालाई ठूला सपना देखाएर सत्ताका लागि राजनीति गर्ने नेताहरूको पछि कोही नलाग्न उनले सुझाव दिए। ‘गरिब जनताले आन्दोलन गरेर सहादत दिएर सत्तामा पुर्‍याए पनि गरिब तथा सहिद परिवारको भावनासँग उनीहरूले खेलबाड गरेका छन्’, उनले भने। अधिकारको लडाइमा आफ्नो दाइको सहादतले मुटुमाथि पत्थर राखेर बाँचेका राजु चौधरीको पीडा पनि उस्तै छ।  

‘होटलमा जुठो भाँडा माझेर बच्चा पालिरहेकी छु’  

null

 वीरगन्ज–८ स्थित झुप्रोको होटलमा काम गर्दै सहिद सोहन साह कलवारकी पत्नी विनितादेवी ।

वीरगन्ज–८ स्थित सानो कटेरोमा सञ्चालित होटलमा भाँडा माज्दै गरेकी विनिता देवीले भनिन्, ‘जुठो भाँडा माझेर बच्चा पालिरहेको छु। योभन्दा दुःख अरू के सुनाऔं।’

सहिद पत्नी विनिताका पति सोहन साह कलवारको मधेस आन्दोलनका क्रममा २०७२ भदौ १५ गते प्रहरीको गोली लागेर ज्यान गएको थियो। वीरगन्ज महानगरपालिका–१६ नगवामा त्यस दिन भइरहेको प्रदर्शनमा सहभागी भएका बेला उनी सहिद भएका थिए। 

सरकारले सोहनलाई सहिद घोषणा गर्‍यो। परिवारलाई क्षतिपूर्तिबापत १० लाख रुपैयाँ पनि दियो। तर, सहिद पत्नी विनिता मधेस अधिकारका लागि पतिले दिएको बलिदानीको मधेसी दलले कदर गर्न नसकेको बताउँछिन्। ‘दलहरूले तामझामका साथ बलिदानी दिवस मनाउँछन्। तर, सहिदका परिवार र बालबच्चा कसरी बाँचिरहेका छन् ? के खाइरहेका छन् ? कुनै नेतालाई मतलब छैन’, मधेसी दलप्रति आक्रोश पोख्दै उनले भनिन्।

सरकारले दिएको १० लाख रुपैयाँले ७ धुर घडेरी किने पनि पैसा नहुँदा सानो झुप्रो पनि बनाउन नसकेको दुखेसो उनले पोखिन्।  

विनिता भन्छिन्, ‘एक त वडा सदस्य बनाएर मलाई जागिरबाट बञ्चित पारे। त्यसपछि अर्को चुनावमा वडा ध्यक्षमा लड्छुभन्दा जसपाका नेताहरूले मलाई टिकट नै दिएनन्। जो धनीमानी थियो, उसैलाई टिकट दिए। सहिद परिवारको कुनै कदर नै गरेनन्।’ पार्टीले टिकट नदिएपछि आफू विवेकशील साझा पार्टीको चुनाव चिन्ह लिएर वडा ध्यक्षमा चुनाव लडेको भए पनि पराजित भएको उनले बताइन्। ‘यहाँ सहिद परिवारको कसैलाई मतलब छैन। नेताहरूलाई सत्ता र कुर्सी मात्रै चाहिएको छ’, उनले भनिन्। मधेस आन्दोलनका सहिद र सहिद परिवारलाई नेताहरूले मोहरा मात्रै बनाएको उनले आरोप लगाइन्। 

खादामै सीमित बलिदानी दिवस  

मधेस आन्दोलनका क्रममा महोत्तरीका ७ जनाले सहादत प्राप्त गरेका थिए। प्रहरीले चलाएको गोली लागि जलेश्वर नगरपालिका–७ बजराहीमा एकै घरका हजुरबुबा र नातिले ज्यान गुमाए। प्रहरीको गोली प्रहारबाट एकैदिन ६० वर्षीय हजुरबुबा गणेश चौधरी र उनका १४ वर्षीय नाति रोहन चौधरीको घटनास्थलमै ज्यान गयो। सहिद गणेश चौधरीका छोरा विजय चौधरीले मधेस सरकारको बलिदानी दिवस र सहिद दिवस नारामै सीमित रहेको बताउँछन्। बर्सेनि जलेश्वरको सहिद वाटिकामा आयोजित कार्यक्रममा सहिद परिवारलाई गम्छा र खादा ओढाउनुबाहेक केही पनि उपलब्धि नरहेको उनले बताए। 

मधेसी दलले दिएको वाचा र प्रतिबद्धता अहिले झुठो सावित भएको विजयले बताए। ‘मेरो घरका दुई जनाले आन्दोलनमा सहादत प्राप्त गरेका छन्। तर, उपलब्धि केही भएन’, उनले भने। सहिद परिवारको यथार्थ अवस्था बुझ्न मधेस सरकार चुकेको उनले आरोप लगाए। लामो समयदेखि बिरामी भएर घरमै रहेका उनी भन्छन्, ‘उनीहरूबाट भरणपोषण त परै जाओस्, सहिद परिवारको वास्तविक अवस्थाको खोजबिनसमेत गर्ने फुर्सद छैन। फोन गर्दासमेत नेताहरू सम्पर्कमा आउन चाहँदैनन्।’ 

मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका वीरेन्द्र विच्छाका बुवा देवचन्द्र विच्छाले पारिवारिक भरणपोषणका लागि धौ–धौ परेको बताए। ‘तत्कालीन समयमा राहत र सहयोग पाए पनि स्थायी रूपमा केही उपलब्धि प्राउन सकेनौं। परिवार धान्नका लागि निकै गाह्रो भएको छ’, उनले भने। वीरेन्द्रको एक छोरा एक छोरी छन्। उनको सन्तानको भरणपोषण र शिक्षादीक्षाको निम्ति स्थायी रुपमै बन्दोबस्त गर्नुपर्ने उनले माग राखे।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : ४० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *