६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हराउँदै परम्परागत गुन्द्री र चकटी



ताप्लेजुङ । पछिल्लो समय गाउँघरमा परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ। प्रविधिको विकाससँगै धानको परालबाट बनाइने गुन्द्री बुन्ने प्रचलनसमेत हराउँदै गएको हो। गाउँघरमा फाट्टफुट्ट मात्र गुन्द्री बुन्ने गरेको देखिन्छ।

पाकेको धान काटेर झाँटेपछि धान र पराललाई अलग बनाई गुन्द्री बुन्नका लागि अलि लामो र सग्लो पराल छुट्याएर बाँकी पराललाई दाइँ हाल्ने प्रचलन थियो। ताप्लेजुङको मैवाखोला गाउँपालिका– १ ढुंगेसाँघुकी चन्द्रकला तामाङ पाहुना आउँदा नयाँ गुन्द्री ओच्छाएर स्वागत गर्ने गरेको सम्झन्छिन्।

‘पराललाई सुकाइसकेपछि हिउँदको समयमा तानबाट गुन्द्री बुनिन्थ्यो। हातले बुनेका गुन्द्री पहिला प्रशस्तै हुन्थे। हरेकले आ–आफ्ना घरमा गुन्द्री बुन्थे,’ उनले भनिन्, ‘आजकाल त त्यो चलन झन्डै झन्डै हराइसक्यो। सबैका घरमा प्लास्टिकका रेडिमेड म्याट नै प्रयोग हुन्छन्।’

परालबाट बनाइएको गुन्द्री बलियो र न्यानो त हुन्छ नै यो सहजै कुहिने भएकाले वातावरणलाई समेत हानिकारक हुँदैन। गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्नपात सुकाउन र आफन्तलाई उपहारसमेत दिइन्थ्यो।

विवाह गर्दा मण्डपमा बेहुला बेहुलीलाई राख्न पनि परालको नयाँ गुन्द्री नै राख्ने चलन रहेको स्थानीय ९० वर्षीया कृष्णमाया आचार्यले सुनाइन्। ‘मेरी नातिनीको विवाह केही दिनमा आउँदै छ। तर, परालको गुन्द्री नै पाइँदैन,’ उनले भनिन्।

गुन्द्री मात्र नभएर मकैको पात र खोस्टाबाट बनाइने चकटीसमेत गाउँघरबाट लोप हुने अवस्थामा छन्। वर्षायाममा पाक्न लागेको मकैको बोटबाट सुकेका पात टिपेर चकटी बनाइन्थ्यो। ‘पोक्सर (खोस्टा)बाट पनि चकटी बनाउने चलन थियो,’ कृष्णमायाले भनिन्, आजकाल त सबै बजारबाट किनेर ल्याइएका प्लास्टिकका वस्तुको नै प्रयोग भइरहेको छ।’

पुराना पुस्तासँग भएका सीपमा पछिल्लो पुस्ताले चासो नदिँदा यस्तो अवस्था आएको उनको बुझाइ छ। गाउँबाट सहरतिर बसाइँ सर्नु, प्रविधिको विकाससँगै मान्छेहरू अल्छी भएकाले पनि परम्परागत गुन्द्री र चकटी हराएकाे उनले बताइन्।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *