२२ भाद्र २०८१, शनिबार | Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराईमा गर्मीको कहर



काठमाडौं । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ । भैरहवादेखि पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको छ । तापक्रम पनि पश्चिम तराईमा नै उच्च छ । बुधबार देशभरमै सबैभन्दा धेरै धनगढीमा ४३.३ डिग्री सेल्सियस (डिसे) तापक्रम मापन भएको छ, जुन धनगढीका लागि १२ वर्षयताकै उच्च तापक्रम हो । तर, पूर्वी र मध्यतराईमा तातो हावा नचले पनि गर्मी भने धेरै नै छ ।

‘पश्चिम तराईको हावामा जलवाष्प छैन, त्यही भएर तातो हावा चलिरहेको हो । पूर्वीतराईमा चलिरहेको हावामा जलवाष्प (चिसो हावा) त छ, तर तातेको ठाउँमा थोरै पानी हाल्दा जस्तो तातो महसुस हुन्छ, त्यस्तै भइरहेको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालले भने ।

मौसमविद् भेटुवालले भनेझैँ पश्चिम तराईको तुलनामा पूर्वी तराईमा अधिकतम तापक्रम कम छ । तर, तापक्रम कम देखिए पनि गर्मी अत्यधिक छ । बुधबार विराटनगरको अधिकतम तापक्रम ३६.६, धरानको ३६ र जनकपुरको ३९.८ डिसे मापन भएको छ । पश्चिम तराईको तुलनामा पूर्वी तराईमा तापक्रम बढ्न नसक्नुका दुई कारण छन् । पहिलो, बंगालको खाडीमा बनेको रेमल नामक चक्रवातका कारण पूर्वी तराईसहित कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा भएको छ, जसका कारण तापक्रम बढ्न नपाएको हो । दोस्रो, बंगालको खाडीमा मनसुनी गतिविधि सुरु भइसकेको छ । 

‘बंगालको खाडीमा भइरहेको मनसुनी गतिविधिले पूर्वी नेपालमा जलवाष्प आइरहेको छ, यस्तो अवस्थामा पानी पर्न नसके पनि चिसो हावा चल्छ, यसले तुलनात्मक रूपमा तापक्रम बढाउन दिँदैन,’ मौसमविद् भेटुवालले भने । 

नेपालमा मनसुन भित्रिन भने अझै समय लाग्छ । भारतको केरला क्षेत्रमा १ जुनसम्म मनसुन पुग्दा त्यसको कम्तीमा १० दिनमा पूर्वी नेपालमा पुग्ने आकलन गरिन्छ । 

तातो हावाको लहर : पोहोर पूर्वी र मध्य तराई, यसपालि पश्चिम तराईमा
पश्चिम तराईमा वैशाख पहिलो सातादेखि नै तातो हावा र तातो हावाको लहर चल्न थाल्यो । वैशाख तेस्रो साता वर्षाका कारण जनजीवन सहज भए पनि त्यसपछि फेरि तापक्रम उकालो लागेकामा अघिल्लो साता पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा हुनुका साथै तराईका केही ठाउँमा फाटफुट वर्षा हुँदा तापक्रम धेरै बढ्न पाएको थिएन । यद्यपि, गर्मी भने घटेको थिएन । हाल पूर्वी र मध्य तराईमा भइरहेको जस्तै अवस्था थियो ।

यो साता भने तापक्रम लगातार उकालो लागिरहेको छ । बुधबार धनगढीमा ४३.३, नेपालगन्जमा ४२.८ र भैरहवामा ३९.७ डिसे अधिकतम तापक्रम मापन भएको छ । बुधबार नेपालगन्जमा मापन भएको अधिकतम तापक्रम त्यहाँका लागि यस वर्षकै धेरै हो । मंगलबार धनगढीमा ४२, नेपालगन्जमा ४१.७ र भैरहवामा ३६.८ डिसे तापक्रम थियो । यसअघि ६ जेठमा कैलाली टीकापुरको तापक्रम ४३ डिसे मापन भएको थियो । यही वर्ष ८ वैशाखमा भैरहवामा अधिकतम तापक्रम ४३.६ डिसे मापन भएको थियो ।  

‘यसपटक पश्चिमी वायु (अरेबियन सागरबाट आउने जलवाष्पयुक्त हावा आएन) सक्रिय भएन । पश्चिममा स्थानीय वायु (त्यसै क्षेत्रको हावा तातेर बादल बनी वर्षा हुने प्रक्रिया) पनि भएन,’ मौसमविद् भेटुवालले भने, ‘त्यही भएर त्यहाँको तापक्रम बढिरहेको हो ।’

मौसम पूर्वानुमान महाशाखाले यसपटक गर्मीयाममा तातो हावासम्बन्धी छैटौँ बुलेटिन जारी गर्दै १८ जेठ (शुक्रबार)सम्म तातो हावाको लहर चल्ने चेतावनी दिएको छ । वर्षा नहुँदा पश्चिममा तराई मात्र होइन, पहाडी र उपत्यकाको तापक्रम पनि उच्च छ । बुधबार दिपायलको अधिकतम तापक्रम ३९.२, सुर्खेत वीरेन्द्रनगरको ३९.७ र घोराहीको ३९.५ डिसे मापन भएको छ । गत वर्ष भने पूर्वी र मध्य तराईमा तातो हावाको लहर धेरै चलेको थियो । 

अत्यधिक गर्मीले स्वास्थ्यमा यस्तो असर : डा. असरफ हुसेन चितवन मेडिकल कलेज

गर्मीले शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसनको समस्या देखिन्छ । शरीरमा रहेको अम्ल, नुनको मात्रालगायत तत्वहरूसमेत पसिनाको माध्यमबाट निस्कने भएकाले असहज हुन्छ । पानीको मात्रा कम हुँदा मिर्गाैला, फोक्सो, छाला, आँखालगायत अंगमा असर पुग्छ । सुगरको समस्या भएको मान्छेमा मिर्गाैला बिग्रिने डर हुन्छ । अत्यधिक तापक्रमले हिट स्ट्रोक हुने, बेहोस हुने, छाला सुक्खा हुने, चिलाउने समस्या बढ्छ । गर्मी छल्न कोल्डड्रिंक्स, सोडाजस्ता पेयपदार्थ लिने गरेको देखिन्छ । तर, त्यसले पनि नोक्सान नै गर्छ । सबैभन्दा उत्तम शुद्ध पानी नै हो, आधा–आधा घन्टामा पिइरहनुपर्छ । काँक्रालगायत पानीको मात्रा बढी भएका फलफूल र खानेकुरा सेवन गर्नुपर्छ । दिउँसो सकेसम्म घरबाहिर ननिस्कने, निस्कनै परे पूरै शरीर ढाक्ने कपडा लगाउने गर्नुपर्छ । टाउको छोपेर, चस्मा लगाएर, छाता ओढेर निस्कनुपर्छ । घरबाहिरको काम साँझ–बिहान गर्नु ठीक हुन्छ । 

दिल्लीको तापक्रम ५२.३ डिग्री
छिमेकी भारतमा तापक्रम निकै उकालो लागेको छ । भारतको मौसम विज्ञान विभागले वेबसाइटमा उल्लेख गरेअनुसार १० राज्यका ७५ सहरमा अधिकतम तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ ।

बुधबार मात्र भारतको राजधानी दिल्लीको तापक्रम ५२.२ डिसे मापन भएको छ, जुन दिल्लीका लागि अहिलेसम्मकै उच्च तापक्रम हो । त्यहाँ यसअघि सन् २००२ मा ४९.२ डिसे तापक्रम मापन भएको थियो । 

बुधबार राजस्थानमा ५१, हरियाणामा ५०.३, मध्यप्रदेश, विहार र उत्तर प्रदेशका कैयौँ सहरमा ४८ डिसे नाघेको छ । गर्मीका कारण यस वर्ष भारतमा ५५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ११ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *