१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डढेलोको धुम्म नहट्ने, केही दिन पानी पनि नपर्ने



काठमाडौं।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुलुकका ५ सय ७२ ठाउँमा डढेलो लागेको छ। जसका कारण काठमाडौंलगायत मुलुकका विभिन्न सहर प्रदूषणले ढाकिएका छन्। हाल भइरहेको प्रदूषणको मुख्य कारण त्यही डढेलो भएको विज्ञहरू बताउँछन। 

प्राधिकरणको तथ्यांकअनुसार मंगलबार दिउँसोसम्म काठमाडौंको (एयर क्वालिटी इन्डेक्स) एक्यूआईको मात्रा १६५ सम्म रहेको छ। मंगलबार पनि काठमाडौं विश्वको प्रदूषित सहरमध्ये तेस्रो नम्बरमा देखिएको छ। काठमाडौं प्रायःजसो विश्वका मुख्य प्रदूषित सहरको १० नम्बरभित्र परिरहन्छ। हालको आँकडाअनुसार थाइल्यान्डको च्यांगमाई सहर पहिलो र सेनेगलको डाकार दोस्रो नम्बरमा छ। 

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्ट भन्छन्,– काठमाडौंमा हावाको गुणस्तर बिग्रिनुको प्रमुख कारण डढेलो हो। आइतबार साँझदेखि बढिरहेको प्रदूषणको मुख्य कारण अन्य नभई डढेलो नै भएको उनले बताए। अरू बेला सवारीसाधन, उद्योग, कलकारखाना, बालीका अवशेष तथा फोहोर जलाउँदा प्रदूषण निस्किए पनि हाल भने डढेलोले देशैभरि प्रदूषण बढाइरहेको छ। 

हालसम्म काठमाडौंको (एक्यूआई) को मात्रा २०० भन्दा कम नै रहेको बताउँदै उनले भने ‘नेपालको राष्ट्रिय मापदण्डअनुसार सबैभन्दा राम्रो प्रतिघनमिटर ४० माइक्रोग्राम हुनुपर्छ। यो वर्ष हिउँदमा पनि यति बढी प्रदूषण थिएन।’

हालको प्रदूषण हट्न कि त मजाले हावा चल्नुपर्छ, कि त पानी पर्नुपर्छ। तर केही दिन पानी पर्ने छा“टका“ट छैन। काठमाडांैमा छिरिसकेको वायु बाहिर जान मुस्किल पर्छ। यसको असर सबै उमेर समूहलाई नराम्ररी पर्ने उनी बताउँछन्। वृद्धवृद्धा, दीर्घ रोगी, बच्चाहरूलाई प्रदूषणको असर तत्काल देखिने भए पनि स्वस्थ्य मानिसमा यसको असर दीर्घकालमा देखिन्छ। वायु प्रदूषण सबै उमेरसमूहका लागि घातक रहेको उनी बताउँछन्। 

विभागले हावाको गुणस्तरको अवस्था कस्तो छ ? प्रदूषण न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने काम गरे पनि डढेलोको नियन्त्रण विभागको कार्यक्षेत्र बहिर रहेकाले सम्बन्धित निकायले हेर्नुपर्ने उनी बताउँछन्। 

विभागले प्रदूषणको तथ्यांक देशैभरिबाट संकलन गर्ने गर्छ। २७ वटा स्टेसनबाट हावाको गुणस्तर नाप्ने गरिए पनि हाल १२/१३ वटा स्टेसनहरू मात्रै सञ्चालित रहेको भट्टले जनाए। त्यस बाहेक जनचेतना फैलाउनुपर्छ। फोहोर, प्लास्टिक जलाउन हुँदैन। निर्माणकार्यमा वातावरणीय अध्ययन प्रतिवेदनअनुसारको नियमको परिपालन गरेको छ÷छैन भनेर अनुगमन गर्नुपर्ने भट्टले बताए। सवारी प्रदूषणको हकमा कहिलेकाहीँ छड्के जाँच गरिरहेको उनले बताए। 

पहिलाको तुलनामा सवारीबाट आउने प्रदूषण अलि कम भएको उनी बताउँछन्। गत वर्ष ९३४ डिजेल गाडीमा ६१६ मापदण्डभित्र र ३१८ वटा मापदण्ड बाहिर रहेकाले हाल प्रदूषणको मुख्य जड डढेलो नै रहेको बताउँछन्। 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल सन् २०२१ को जस्तै घटना दोहोरिन सक्ने भन्दै बारम्बार डढेलो नियन्त्रण तथा पूर्वतयारी गर्न सचेत गराउँदै आएका छन्। उनका अनुसार सन् २०२१ मा करिब साढे ६ हजार वटा डढेलो लागेको थियो। अहिलेको अवस्था हेर्दा पनि सन् २०२१ मा जस्तै हुन सक्ने पोखरेलले बताए। (एक्यूआई) को मात्रा ६३२ थियो। विश्व स्वास्थ्य संगठनका अनुसार शून्यदेखि ५० एक्यूआईलाई स्वस्थ्य मानिन्छ। 

काठमाडौंमा कतै–कतै पानी छिटाए पनि साताभरि प्रदूषण हट्ने गरी पानी पर्ने सम्भावना नभएको उनी बताउँछन्। प्रदूषण रहिरहने र आगलागी पनि बढिरहेको छ। तर हाल थोरै मात्रामा हावा चलिरहेकाले त्यसले सहयोग गरिरहेको पोखरेलले बताए। अहिलेको पुर्वानुमान रहिरहेमा तापक्रम पनि धेरै बढिसकेकाले डढेलोको जोखिम धेरै रहेको र नेपालभरिकै अवस्था नाजुक छ। तर पोखरालगायत पश्चिमका केही ठाउँमा भने मेघ गर्जनसहित पानी पर्ने देखिन्छ। 

मुलुकका ६४ प्रतिशत डढेलो मानिसकै कारण लागे पनि जलवायु परिवर्तनले त्यसको फैलावटमा सहयोग गरेको छ। सचेतना तथा पूर्वतयारी महत्वपूर्ण हुने उनी बताउँछन्। 
 
कतिपय ठाउँमा सामुदायिक वनमा एउटाको रिसइबी भएको ठाउँमा अर्कोले आगो लगाइदिने, रमाइलोको लागि आगो लगाइदिने पनि छन्। ‘नियम कानुन, दण्ड, सजाय कडा चाहिन्छ,’ उनी भन्छन्, ‘आगो भन्ने बित्तिकै मान्छेमा डर हुनुपर्‍यो। अन्यथा प्रदूषणको समस्या प्रत्येक वर्ष बढी रहनेछ।’ 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अलिअलि मेघगर्जनसहितको बादल देखिए पनि काठमाडौंमा पानी पर्ने थोरै मात्रै सम्भावना भएकाले प्रदूषण रहिरहने बताउँछन्। थोरै बादल भए पनि प्रदूषणले स्पष्ट देखिएको छैन। ‘काठमाडौंमा प्रदूषण आइसकेपछि हटदैन,’ उनले भने, ‘या त मजाले हावा आउनुपर्‍यो कि त मजाले पानी पर्नुपर्छ। यसको लागि धेरै वर्षा हुनुपर्छ। तर पानी पर्ने सम्भावना केही दिन देखिन्न।’

प्राधिकरणकी प्रवक्ता गोमादेवी चेम्जोङले, डढेलो नियन्त्रणका लागि छुट्टै वार्षिक बजेट नभएको जानकारी दिइन्। तर विपद् न्यूनीकरण तथा व्यवस्थापन गर्न जनचेतनामूलक कार्यक्रमअन्तर्गत बजेट छुट्ट्याउने गरिन्छ। यस कार्यक्रमअन्तर्गत बाढी, पहिरो, आगलागी सबै एकै ठाउँमा राखिएको छ। तर हाल भइरहेको स्रोतसाधन अपुग रहेको उनले जनाइन। यो बर्ष फागुन महिना अत्यधिक सुक्खा रह्यो। डढेलोले देशभर भयावह रूप लियो। तर, चैत लागेपछि प्रि—मनसुन सुरु भयो। 

मुलुकभरि पानी पर्‍यो। झरीले देशैभरि सल्किएको डढेलो निभायो। त्यतिबेला मुलुकको लगभग आधा जस्तो भाग पूरै रातो (डढेलो) लागेको र पानी परेपछिको ‘भिजुलाइजेसन’ देखिएको थियो। त्यतिबेलै विज्ञहरूले झरीले डढेलो निभाए पनि डढेलोको ‘पिक समय’ आउँदै गरेकाले सचेत रहन आग्रह गरेका थिए। डढेलोका कारण विगतमा जस्तै अत्यन्त धेरै वायु प्रदूषण बढ्ने पनि बताएका थिए।  

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ११ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *