बर्दिया । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घरनजिकैको मुक्तिपुर सामुदायिक वन किनारमा बाख्रा चराउन गएको समयमा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका– ७ की ४० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।
घरनजिकै रहेको सामुदायिक वनको छेउमा रहेको चउरमा बाख्रा चराउन गएको समयमा पाटेबाघले आक्रमण गरेपछि थापाको मृत्यु भएको ठाकुरबाबा नगरपालिका– ७ का वडाध्यक्ष कलम विष्टले जानकारी दिएका छन् ।
बाघले आक्रमण गरेलगत्तै बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयसहितको टोलीले खोजी गर्दा बाघले आक्रमण गरेको ठाउँदेखि झन्डै सात मिटरभित्र शव फेला परेको थियो । मृतक थापालाई बाघले टाउको र घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्तीसहितको प्राविधिक टोली खटिसकेको छ । यस आर्थिक वर्षको अवधिमा अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पाटेबाघको आक्रमण परी दुईजनाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांक छ ।
प्रतिक्रिया