५ श्रावण २०८३, मंगलबार | Jul 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका जनप्रतिनिधिद्धारा सेफहाउस व्यवस्थापन गर्ने प्रतिवद्धता



मंगलसेन । अछाम सदरमुकाम मंगलसेनमा सञ्चालित सुरक्षित आवासगृह सञ्चालन र व्यवस्थापनका लागी जिल्लाका स्थानीय तहहरुले सामुहीक प्रतिबद्धता जनाएका छन् । मंगलबार मंगलसेनमा आयोजित जिल्ला स्तर सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय समितिको बैठकमा उपस्थित पालिका प्रमुखहरुले आगामी दिनमा सुरक्षित आवास गृह (सेफ हाउस) बाट प्रवाहित सेवालाई थप प्रभावकारी बनाउन एकजुट हुनुपर्ने भन्दै प्रतिवद्धता जनाएका हुन् ।

यद्यपी कार्यक्रममा अछामका अधिकांश स्थानीय तहका जनप्रनिधिहरु उपस्थित थिएनन् ।

कार्यक्रममा मंगलसेन नगरपालिकाले सञ्चालन गर्दै आएको सेफ हाउसलाई व्यवस्थित र निरन्तर रुपमा सञ्चालन गर्न जिल्लाका १० वटै स्थानीय तहबाट आर्थिक सहयोग गर्ने यसअघी नै प्रतिबद्धता भएपनि हालसम्म प्रतिबद्धता अनुसार सहयोग हुन नसकेको गुनासो गरिएको छ ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले सुरक्षित आवासगृह सञ्चालन कार्यविधि २०८३ को मस्यौदा प्रस्तुत गरे । उक्त मस्यौदामाथी छलफल गर्दै सहभागी सरोकारवालाले आवश्यक सुझाव र सल्लाह दिएका छन् । यही कार्यविधिमा टेकेर जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो पालिका अनुकुल कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्ने भन्दै यसबाट सुरक्षित आवास गृह सञ्चालन र व्यवस्थापनमा सहज हुने प्रतिक्रिया दिएका छन् ।
साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँर र कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले कार्यविधि अभावका कारण यसअघि प्रतिबद्धता अनुरुपको सहयोग गर्न बाधा उत्पन्न भएको प्रतिक्रिया दिएपछि मंगलसेन नगरप्रमुख पदम बहादुर बोहराले अब कार्यविधि तयार भईसकेकाले आगामी दिनमा प्रभावकारी सहयोग र समन्वय हुने विश्वास व्यक्त गरे ।

सेफ हाउस सञ्चालन र व्यवस्थापनमा मंगलसेन नगरपालिकालाई मात्रै धेरै भार परेको भन्दै कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष बिर्ख बहादुर बोगटी र वडा नम्बर ४ का वडाध्यक्ष नामसिंहं धामीले अन्य पालिकाले स्वामित्व लिएपनि अपनत्व नदेखाएको गुनासो गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती बम शाहीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका विषयमा भईरहेको यस्तो महत्वपूर्ण र संवेदनशिल छलफलमा पनि स्थानीय तहका प्रमुखहरुको निराशाजनक उपस्थितीप्रती दुख लागेको बताइन् । लैंिगक हिंसा प्रभावितका लागि गरिने काममा समेत राजनितिकरण हुने गरेको भन्दै उनले यसबाट मुक्त भई उनीहरुको पक्षमा गम्भिर भएर काम गर्नुपर्ने बताइन् ।

यस्तै अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले पनि जिल्ला स्तरको सेफ हाउसको व्यवस्थित सञ्चालनका लागि जनाइएको सामुहिक प्रतिबद्धता इमान्दारिता पूर्वक निभाउनुपर्ने बताए ।


यसअघि विभिन्न गैरसरकारी संस्थाको सहयोगमा सेफ हाउस सञ्चालनमा सहज भएपनि अब उनीहरुको कार्यावधि सकिएर सहयोग बन्द भएकाले सबै काम स्थानीय तहको जिम्मेवारीमा आएको भन्दै थप गम्भिर हुनुपर्ने सहभागिको भनाई छ । प्रत्येक स्थानीय तहमा रहेका लैंगिक हिंसा निवारण कोषको सक्रिय परिचालन गर्नुका साथै हिंसा प्रभावितहरुलाई जिल्ला स्तरीय सुरक्षितआवास गृहसम्म पुग्न समन्वयकारी भुमिका खेल्न पनि उनीहरुको आग्रह छ ।

कार्यक्रममा आर्थिक वर्ष २०८२ ८३ मा स्वास्थ्य, पोषण, महिला तथा बालबालिका लगायत सामाजिक क्षेत्रमा भएका कामको प्रगती विवरण मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगाना र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत तथा साँफेबगर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले प्रस्तुत गरेका थिए ।

मंगलसेन नगरपालिकाको आयोजना र समविकास नेपालको समन्वय तथा सहजिकरणमा भएको कार्यक्रममा कमलबजार र साँफेबगर नगरपालिका नगर प्रमुख सहित बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँद पञ्चदेव विनायक नगरपालिकाका उपप्रमुख हर्क बहादुर रावल, मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता रावल सोडारी, अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल, प्रमुख अनुसन्धान अधिकृत अशोक पौडेल, विभिन्न निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *