अछाम । पञ्चदेवल बिनायक नगरपालिकामा जीविकोपार्जन तथा पोषण र बाल संरक्षणका लागि एक करोड बढी रकम खर्च गरिने भएको छ । गैरसरकारी संस्था वाक नेपाल र आस्था नेपालले एक वर्षमा सो रकम खर्च गर्न लागेका हुन् ।
जसमा वाक नेपालले एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना मार्फत ७४ लाख ७२ हजार २९१ रुपैयाँ र आस्था नेपालले बाल संरक्षण र बाल स्पोन्सरसीप परियोजना मार्फत ४० लाख ९३ हजार ३० रुपैयाँ बजेट खर्च गर्नेगरी सन् २०२४ को अक्टोबर देखि सन् २०२५ को अन्त्य सम्ममा सञ्चालन गरिने कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
बुधबार वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरको अध्यक्षतामा पञ्चदेवल बिनायक नगरपालिकामा सम्पन्न परियोजना परिचयात्मक बैठकमा वाक र आस्थाले आफ्ना कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । जसमा वाक नेपालले पोषण मैत्री शासन, इनआउच अभियान, विद्यालय दिवा खाजा कार्यक्रम, बायो इन्जिनियरिङ्, विपद् व्यवस्थापन बारे नीति निर्माणमा सहयोग, सरकारी नीतिहरुमा पैरवी र स्थानिय सरकारसँग स्रोत साझेदारी गर्ने जस्ता क्रियाकलापलाई मुख्य प्राथमिक्तामा राखेको छ ।
वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोसीका अनुसार सन् २०२४ मा विद्यालय दिवा खाजाका लागि सहकारी र उत्पादक समूह बिच सम्झौता, बालबालिकाहरुले बचत गर्ने परम्पराको थालनी, बालपोषण र बाल समृद्धिमा पुगेको सहयोग तथा कृषिमा सीप र प्रविधिको प्रयोगमा राम्रो प्रभाव परेको मुल्यांकनका आधारमा नयाँ कार्यक्रम तय गरिएको हो ।
तर स्थानिय उत्पादनको उचित बजारीकरणको अभाव, समुदायको उच्च अपेक्षा, कार्यक्रमप्रति समुदायमा अपनत्वको कमी र बजारको माग अनुसार उत्पादन गर्न नसक्नु जस्ता मुख्य चुनौतीहरु भने कायमै रहेको जोसीले बताउनुभयो । त्यस्तै आस्था नेपालले पनि २०२४ मा नगरपालिकाका ६ वटा वडामा सञ्चालन गरिएका कार्यक्रमको प्रभाव मुल्यांकन गर्दै नयाँ कार्यक्रम तय गरेको बाल स्पोन्सरसीप परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले बताउनुभयो ।
उहाँका अनुसार आस्था नेपालले यसअघि सञ्चालित क्रियाकलाप अन्र्तगत १५० बालबालिकामा जीवन उपयोगी सीपको बिकास भएको, नगरको २ नम्बर वडालाई बालमैत्री स्थानिय शासन घोषणाको तयारी, बालमैत्री स्थानिय शासन प्रोफाइल निर्माणका लागि तथ्यांक संकलन, ४९३ जोखिममा रहेका बालबालिकाको पहिचान, २११ जनालाई आवश्यकता अनुसार सहयोग र ५०२ बालबालिकालाई मनोविमर्श सेवा दिइएको, १७ बिपन्न परिवारलाई चर्पी निर्माणका सामग्री वितरण र १५० अभिभावकमा सकारात्मक अभिभावकत्व कक्षाबाट आएको परिवर्तनलाई मुख्य उपलब्धी मानेको छ । त्यसैको आधारमा नयाँ कार्यक्रम तय गरेको ठकुल्लाले बताउनुभयो ।
वाक र आस्था नेपालले यी दुबै परियोजना अन्र्तगत सञ्चालन गर्ने कार्यक्रममा वल्र्डभिजन इन्टरनेशनलको साँझेदारी छ । बैठकको अन्त्यमा बोल्दै वाक नेपालका अध्यक्ष मीनबहादुर कुँवरले संस्थाले सञ्चालन गर्ने क्रियाकलाप स्थानिय सरकारको योजना अनुसार गर्न सके थप प्रभावकारी हुने बताउनुभयो ।
उहाँले स्थानिय सरकारले दिएको योजना अनुसार आफुहरु परिचालन हुन पाए राम्रो उपलब्धी हासिल गर्न सकिने बताउनुभयो । आफुहरु सरकारको सहयोगी भएकाले संस्थाहरुलाई त्यही अनुसार आवश्यकताका आधारमा परिचालन गर्न पनि अध्यक्ष कुँवरले आग्रह गर्नुभयो । बैठकमा पञ्चदेवल बिनायक नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया