अछाम । गोरख बक्स गण मंगलसेन ब्यारेक अछामले जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास सुरु गरेको छ । जस अन्तर्गत बिहिबार प्रशिक्षण सम्पन्न भएको छ ।
अन्तिम दिन शुक्रबार कृत्रिम घटना अभ्यास गरिने छ । बिहिबार बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा गणका सेनानी अमृत खड्का र जमदार सुवर्ण खड्काले प्रशिक्षण दिनु भएको थियो । जहाँ आगलागी, भुकम्प र बाढिपहिरोका बेला बच्ने उपाय, उद्दार, उपचार र राहतका विषयमा सहभागिहरुलाई जानकारी गराइएको छ ।
सहभागि करिब ५० जना बढी सरोकारवालाहरुले शुक्रबार जयगढको सरस्वती माविमा हुने कृत्रिम घटना अभ्यासमा सचेतना बिस्तार गरिने हुँदा त्यसमा सर्वसाधारण समेतको उपस्थिति हुनुपर्नेमा जोड दिएका छन् ।

प्रशिक्षण कार्यक्रमको अन्तमा बोल्दै गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले नेपाली सेनाले गर्ने यो चेतनामुलक कार्यक्रममा सहभागि हुन सरोकारवाला र सर्वसाधारण सबैलाई आव्हन गर्नुभयो । उहाँले यो कार्यक्रमबाट विपदका बेला खोज, उद्दार तथा उपचार कसरी गर्ने भन्ने बारे जानकारी दिइने भएकाले सबैले अवलोनक गर्न जरुरी रहेको बताउनुभयो ।
त्यसका लागि बान्नीगढी जयगढ गाउँपालिकाका सबै वडा तथा टोलबाट सरोकारवाला, सर्वसाधारण, विद्यार्थी, सामुदायीक बनका पदाधिकारी लगायतको उपस्थिति गराइने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले विपद् बारे सचेतना बिस्तार गरिने निकै महत्वपुर्ण कार्यक्रम गर्न लागिएको भन्दै नेपाली सेनाको प्रशंसा गर्नुभयो । उहाँले यो प्रशिक्षण तथा कृत्रिम घटना अभ्यासले गाउँपालिकालाई समेत टेवा पुग्ने बताउनुभयो ।
रेडियो सोसाइटी एफएमका प्रमुख कार्यकारी निर्देशक तथा नेपाली सेनाका रक्षा सम्बाददाता ध्रुव बीसीको समन्वयमा भएको प्रशिक्षणमा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर रावल लगायत कर्मचारी, समाजसेवी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

बान्नीगढी जयगढ गाउँपालिका र गोरख बक्स गणको संयुक्त आयोजनामा सुरु भएको यो कार्यक्रम अन्तर्रगत शुक्रबार गरिने कृत्रिम घटना अभ्यासका लागि सरस्वती मावि जयगढमा तयारी भइरहेको छ ।
कृत्रिम घटना अभ्यासका लागि खर, बास र झारपात प्रयोग गरेर नमुना बस्ति बिस्तार गरिएको छ भने बिद्यालय नजिकै रहेको खोचमा हाइलाइन रेस्क्युका लागि समेत तयारी गरिएको छ । कृत्रिम घटना अभ्यास शुक्रबार दिउँसो १ बजेबाट हुनेछ ।

प्रतिक्रिया