मंगलसेन । नेपाली सेनाले मंगलसेन–३ तिखाडा स्थित शिव निवास विद्यालयमा विपद् सम्बन्धी कृत्रिम घटना देखाउने भएको छ । त्यसका लागि शिव निवासमा नमुना बस्ति बनाइएको छ ।
गोरख बक्स गण मंगलसेन ब्यारेक र मंगलसेन नगरपालिकाको आयोजना तथा रेडियो सोसाइटी एफएमको समन्वयमा भोली मंगलबार दिउँसो साढे १२ बजेबाट देखाइने कृत्रिम घटनाका लागि बाँस र खरको प्रयोग गरेर घरहरु बनाइएको छ भने विद्यालय नजिकै रहेको खोचमा सल्लाका रुखहरुमा डोरीबाट घाइतेको उद्धार गरेर पनि देखाइने छ ।
त्यसबारे जानकारी दिन आज मंगलसेनमा सरोकारवालाहरुलाई प्रशिक्षण दिइएको छ । नगर प्रमुख पदमबहादुर बोहराले उद्घाटन गरेको प्रशिक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी र गोरख बक्स गणका गणपती प्रमुख सेनानी संगम अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख बोहराले आगलागी, भुकम्प, बाढिपहिरो र भिरपहरामा फसेकाहरुको उद्धार गर्ने उपाय बारे पूर्वाभ्यास गरिने भएकाले यो कार्यक्रमलाई सबैले अवलोकन गर्न जरुरी देखिएको बताउनुभयो ।

यस्तो चेतनामुलक कार्यक्रममा सरोकारवाला र सर्वसाधारण सबैलाई सहभागी हुन उहाँले आग्रह गर्नुभयो । मंगलसेनका वडा नम्बर ३, ४ र ५ का विभिन्न समुह बिच देउडा प्रतियोगीता समेत गरिने हुँदा कार्यक्रममा सहभागी हुन नगर प्रमुख बोहराले सबैलाई अनुरोध गर्नुभयो ।

देउडा खेलमा सहभागीहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप नगद पुरस्कार समेत दिने छ । गोरख बक्स गणका सेनानी अमृत खड्काले प्रशिक्षण सहभागीहरुलाई भुकम्प, आगलागी, चट्याङ, बाढिपहिरो र हाइलाइन रेस्क्यु बारे प्रशिक्षण दिनु भएको थियो ।
उहाँले प्रशिक्षणका क्रममा देखाएका विपदबारेका सबै घटनाक्रम शिव निवास विद्यालयमा हुने कार्यक्रममा प्रत्यक्ष रुपमा देखाइने जानकारी दिनुभयो ।

सहभागीहरुलाई प्राथमिक उपचार बारे पनि जानकारी गराइएको थियो । जसमा गोरख बक्स गणको मेडिकल समुहका अमल्दार सुरेन्द्र शाही, प्युठ सरस्वती चन्द, राम कुमार चौधरी र विभिन्द्र नारायण श्रेष्ठले अभ्यास गरेर देखाएका थिए ।
कार्यक्रममा अछाम बहुमुखि क्याम्पसका प्रमुख डाक्टर ध्रुव कुमार शाही, मंगलसेन नगरपालिका वडा नम्बर– ३ का वडाध्यक्ष विर्ख बहादुर बोगटी, वडा नम्बर– ४ का वडाध्यक्ष नामसिंह धामी र वडा नम्बर– ५ का वडाध्यक्ष झंकर प्रसाद भाट, वडा नम्बर– ३ का निवर्तमान वडाध्यक्ष पदमसिंह भाट र मंगलसेन नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख नरेश कठायत लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन रेडियो सोसाइटी एफएमका प्रमुख कार्यकारी निर्देशक एंव नेपाली सेनाका रक्षा सम्वाददाता ध्रुव बीसीले गर्नु भएको थियो ।

प्रतिक्रिया