११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालविवाहको असर

उमेर नपुग्दै आमा, गर्भमै कुपोषणको कहर



अछाम । तुर्माखाँद–४ अछामकी खीमा बुढा १७ वर्षको कलिलो उमेरमा आमा बनिन् । जिल्ला अस्पताल अछाममा ‘नर्मल डेलिभरी’ भएकी खीमाको बच्चाको तौल तीन किलो छ ।

बितेका दुई महिनामा अस्पतालको प्रसूति गृहमा खीमाजस्तै कलिलो उमेरमै बच्चा जन्माउने अन्य आमाहरु पनि छन् ।

लामो प्रसव व्यथापछि ‘टिनएज’ मै कमलबजार–७ की १९ बर्षीया लक्ष्मी शाहीले पनि बच्चा पाइन् । उनको बच्चाको तौल तीन किलो बढी छ । यही अस्पतालमा सुत्केरी भएकी लक्ष्मी कै छिमेकी १७ वर्षीया दुर्गा सुनारले पनि तीन किलो बढी कै बच्चा जन्माइन् ।

कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशु कुपोषित हुने समस्या त छदैछ । यसले पोषणको अवस्थामा सुधार ल्याउन समेत चुनौती थपेको छ ।

‘खीमा, लक्ष्मी र दुर्गाले जन्माएका बच्चाको तौल र स्वास्थ्य अवस्था राम्रो छ, तर, सबै यस्ता भाग्यमानी हुँदैनन्, प्राय किशोरी आमाबाट जन्मिने बच्चा कुपोषित नै हुन्छन्’ जिल्ला अस्पताल अछामकी सिनियर अनमी सुसीला ढुंगानाले भनिन् ।

सानै उमेरमा विवाह गर्ने, परिपक्क नहुँदै गर्भवती हुने, अत्याधिक कार्यबोझ र पोषिला खानेकुरा नपाउँदा बच्चाहरुलाई गर्भमै कुपोषणले छुने गरेको छ ।

‘पेटमा बच्चा हुँदापनि पिठ्युमा भारी बोक्नै पर्छ, ढकारी–६ की धना बिकले भनिन्,‘गर्भवती हुँदा कहिल्यै आराम पाइएन ।’ चौथो सन्तानकी आमा धनाको कान्छो छोरा जनकको उमेर दुई वर्ष नाघ्यो । उनको तौल जम्मा नौ किलो मात्रै छ । ‘यो गर्भमा हुँदा मैले राम्रो सँग खान पाइन्, धनाले भनिन,‘त्यही कारणले अहिले बच्चाको यो हालत छ ।’

यस्तै कारणले अछाममा केहि महिनायता ६४ बालबालिकाको मृत्यु भएको छ ।

धनाकै जस्तो तितो अनुभव चौरपाटी–६ की सत्यदेबी साउँदको पनि छ । ‘दुई छोरी छन् अर्को बच्चा पेटमा छ । अहिलेपनि अरुबेला जस्तै घाँसदाउरा गर्छु,’ भर्खरै २३ वर्ष पुगेकी उनले भनिन् । उमेर नपुग्दै विवाह गरेर बच्चा जन्माउदा आफु र बच्चा दुबै स्वस्थ हुन नसकेको उनले बताइन् ।

यहाँका अधिकांस गरिब, दलित र विपन्न समुदायका पुरुषहरु उमेर नपुग्दै विवाह गरेर घरको सबै काम श्रीमतिको जिम्मा लगाउँछन् । आफु कमाई गर्न भारत जान्छन् ।

पुरुषहरुले घर छोडेपछि महिलाहरु भने के सुत्केरी, के गर्भवती, के बिरामी सबै अवस्थामा काममै जोतिइरहेका हुन्छन् । अत्याधिक कार्यबोझ, सानैमा विवाह हुनु, उमेर नपुग्दै आमा बन्नु, आराम र उचित आहार नपाउनु जस्ता कारणले आमा र बच्चा दुबै कुपोषित भएर अकालमै ज्यान जाने गरेको छ ।

यस्तै कारणले अछाममा केहि महिनायता ६४ बालबालिकाको मृत्यु भएको छ । गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार ६४ बालबालिका मध्ये ५० जना बच्चा जन्मिदै मृत भेटिएका हुन् भने १४ नवजात शिशुको जन्मेको एक हप्ता नपुग्दै मृत्यु भएको हो ।

यो अवधिमा जिल्लाभर तीन हजार १६ महिला सुत्केरी भएका थिए ।

अछाममा गर्भमै बच्चा मृत्यु हुने समस्या विकराल बन्दै गएको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा जन्मिदै मृत भेटिएका बच्चाको संख्या ८६ छ ।

त्यो बाहेक १८ नवजात शिशुको जन्म पश्चात मृत्यु भएको रेकर्ड छ । २०७८/७९ मा जिल्लाभरि चार हजार ६६६ महिलाले सुरक्षित सुत्केरी सेवा लिएको जनस्वास्थ्य निरीक्षक भुमिनन्द ढुंगानाले बताए ।

त्यो भन्दाअघि आर्थिक वर्ष २०७७/७८ मा ३१ नवजात शिशुको मृत्यु भएको थियो । त्यो वर्ष आमा बन्ने महिलाको संख्या पाँच हजार ५२० देखिन्छ ।

यो तीन आर्थिक वर्षमा विभिन्न कारणले सुत्केरी हुन नसकेर ६ आमाले ज्यान गुमाएका थिए ।

स्वास्थ्य कार्यालय अछामको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म जिल्लाभरि १०५ जना कुपोषित बच्चाहरु जन्मिएका छन् । उनीहरु सबैको तौल साढे दुई किलोभन्दा कम छ । यही अवधिमा १२ जना अति कुपोषित बच्चा जन्मिएका छन् । जसको तौल डेढ किलो पनि छैन् ।

पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा गर्भमै कुपोषित हुने बच्चाहरुको अवस्थामा सुधार देखिँदैन् ।

अछाम जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा १ सय ९८ बच्चाहरु कुपोषित अवस्थामा जन्मिए । त्यो बाहेक १२ बच्चा अति कुपोषित स्थितिका थिए । त्यसअघि आर्थिक वर्ष २०७७/७८ को तथ्यांक झन् भयावह देखिन्छ । त्यो बेला जिल्लाभरि २ सय ८६ बच्चाहरु कुपोषित जन्मिए भने अन्य ३४ जना अति कुपोषित अवस्थाका थिए ।

कुपोषित भएर उपचारका लागि स्वास्थ्य संस्थामा आउने बालबालिकाको संख्या घट्न सकेको छैन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा कुपोषित अवस्थाका २४२ बालबालिकाको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रममार्फत उपचार गरिएको छ ।

उनीहरु मध्ये १६३ मध्यम कुपोषित र ७९ जना अति कुपोषित अवस्थाका थिए ।

२०७८/७९ को तथ्यांकअनुसार अछाममा एक वर्ष मुनिका बालबालिकाको संख्या पाँच हजार ५५३ छ । त्यस्तै दुई वर्ष मुनिका ११ हजार ९० र पाँच वर्षमुनिका बालबालिका २७ हजार ५१० छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार अछाममा ११ वर्ष नपुग्दै विवाह हुने गरेको छ ।

उनीहरुमध्ये आधाबढिको नियमित तौल नै लिइदैन् । दुई वर्षमुनिका ११ हजार ९० बालबालिकामध्ये यो आर्थिक वर्षमा जम्मा तीन हजार २७ जनाले मात्रै मापदण्डअनुसार २४ पटक तौल लिएका छन् ।

उनीहरुमध्ये ५१ जना अति जोखिम अवस्थाका छन् । कुपोषित उनीहरुमा कम तौल, पुड्कोपन र ख्याउटेपनसँगै मस्तिष्कमा समेत समस्या देखिएको छ । डाक्टर अतुल भारद्धवाजका अनुसार बच्चाको मस्तिष्कको विकास गर्भमै ३० प्रतिशत, जन्मेको एक वर्षभित्र थप २५ प्रतिशत, दुई वर्ष पुग्नेबेलासम्म ८० प्रतिशत र बच्चा पाँच वर्षको उमेरमा पुग्दा उसको मस्तिष्क विकास जम्ममा ९० प्रतिशत हुनुपर्छ । बाँकी १० प्रतिशत भने पाँच वर्षपछिको उमेरपछि मात्रै विकास हुने गरेको उनले बताए ।

अछाममा बालविवाह, उमेर नपुग्दै आमा बन्ने, गर्भवतीले पोषिलो खानेकुरा, उचित स्याहार र आराम नपाउने जस्ता समस्याले शिशुहरु गर्भमै कुपोषणको शिकार बनिरहेका छन् ।

पोषणका नाममा छुट्याएको बजेट घुमाउरो ढंगले अन्यत्र खर्च गर्ने गरेका कारण लगानी अभावले स्थानियको पोषणको अवस्थामा सुधार हुन नसकेको हो ।

२० वर्ष मुनिका आमाबाट जन्मिने थोरै बच्चा मात्र स्वस्थ देखिन्छन् भने अधिकांश शिशुहरु गर्भमै कुपोषित हुने गरेको तथ्यांकले देखाउछ ।

अछाममा २०७७/७८ मा जिल्लाका ७८४ जना २० वर्षमुनिका आमाले पहिलो गर्भ जाँच गराएको तथ्यांक छ । २०७८/७९ मा गर्भजाँच गराउने २० वर्षमुनिका आमाको संख्या ५५५ छ भने यो आर्थिक वर्षको फागुनसम्म ३२२ जना किशोरीले गर्भ जाँच गराएका छन् ।

यो तथ्यांकले जिल्लामा बालविवाह अपेक्षा गरे अनुसार रोकिन नसकेको देखाउँछ । जसका कारण उमेर नपुग्दै सुत्केरी हुँदा गर्भ खेर जाने, पेटमै बच्चा मर्ने, जन्मेपनि स्वस्थ नहुने र आमाको ज्यान जाने खतरा बढ्न थालेको छ ।

शारीरिक परिपक्वता नभई किशोरीले बच्चा जन्माउँदा दुबै जना कुपोषित हुने र पाठेघर खस्ने लगायतका समस्या देखिने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीले बताए । ‘कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशु कुपोषित हुने समस्या त छदैछ । यसले पोषणको अवस्थामा सुधार ल्याउन समेत चुनौती थपेको छ,’ डा. जोशीले भने ।

११ वर्ष नपुग्दै विवाह

राष्ट्रिय जनगणना २०६८ अनुसार अछाममा ११ वर्ष नपुग्दै विवाह हुने गरेको छ ।

तथ्यांकमा ११ वर्षमुनिका ५ सय ७७ जनाले विवाह गरेको देखिन्छ ।

जसमा बालिका ३ सय ६३ र बालक २ सय १४ छन् । ११ देखि १४ वर्ष उमेर समूहका ६ सय ३ जनाले बालविवाह गरेको तथ्यांकमा उल्लेख छ । उनीहरुमा बालिका ४ सय र बालक २ सय ३ जना रहेका छन ।
१५ देखि २० बर्षउमेर समूहका १ हजार ६ सय २२ जनाले बालविवाह गरेका छन ।

जसमा ८ सय २२ बालिका र ८ सय बालक रहेका छन । तथ्याङकअनुसार जम्मा २ हजार ८ सय २ जनाले बालविवाह गरेका छन । यस अवधिमा बालकभन्दा बालिकाहरुको विवाह दुई गुणा बढी देखिन्छ । बालविवाह गर्नेमा दलित, गरिब र विपन्न समुदायका बालबालिका बढी छन् ।

पोषणबारे चेतना छ तर खानेकुरा छैन्

यहाँका नागरिकमा पोषिला खानेकुरा खानुपर्छ भन्ने चेतनाको स्तर बढेको छ । तर उनीहरु त्यस्ता पोषिला खानेकुराको पहुँमा छैनन् ।

जसका कारण सिंगो परिवार नै कुपोषणको जोखिममा भएपनि गर्भवती, सुत्केरी र नवजात शिशु बढी मारमा छन् । अछाममा स्थानीय तह सँगको समन्वयमा सुआहारा कार्यक्रम मार्फत पोषण सुधारकालागि गाउँस्तरमा अभियान थालेपछि नागरिकहरुले पोषिला खानेकुरा खानुपर्छ भन्ने थाहाँ पाएका छन् ।

‘यहाँका स्थानीयमा पोषणबारे राम्रो चेतना छ । तर पोषिला खानेकुरामा उनीहरुको पहुँच छैन,’ सुआहारा कार्यक्रमका जिल्ला संयोजक सेतबहादुर भुलले भने ।

नागरिक अगुवा छत्रबहादुर बिष्टले स्थानिय तहले पोषणका नाममा छुट्याएको बजेट घुमाउरो ढंगले अन्यत्र खर्च गर्ने गरेका कारण लगानी अभावले स्थानियको पोषणको अवस्थामा सुधार हुन नसकेको बताए । उनले स्थानिय तहलाई गर्भवती, सुत्केरी र बालबालिकाको पोषण, स्वास्थ्य, सुरक्षा, र स्याहारको सुनिश्चितता गरी उनीहरुको बाँच्न पाउने अधिकार संरक्षण गर्ने तर्फ अग्रसर हुन सुझाए ।

अछामसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पोषिला खानेकुराको अभावले बिशेषगरी गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्य अवस्थामा खासै सुधार देखिदैन ।

जसले गर्दा यहाँका बच्चाहरु जन्मिदै कम तौल, ख्याउटे, पुड्को र रक्तअल्पता जस्ता समस्याबाट ग्रसित छन् ।

अहिलेपनि सुदूरपश्चिममा सबैभन्दाबढी रक्तअल्पता भएका बालबालिका ४५ दशमलव ४० प्रतिशत छन् । नेपाल जनसांख्कि सर्वेक्षण २०२२ अनुसार शहरी क्षेत्रमा ४७ दशमलव ९० र ग्रामिण क्षेत्रमा ४१ दशमलव ४० प्रतिशत बालबालिकामा रक्तअल्पता देखिन्छ ।

पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य अवस्था सर्वेक्षण अनुसार यो प्रदेशमा कम तौल भएका बालबालिका भने १३ दशमलव ९० प्रतिशत छन् । ग्रामिण क्षेत्रमा १७ दलमलव ६० र शहरी क्षेत्रमा ११ दशमलव ६० प्रतिशत बालबालिका कम तौलका छन् ।

यहाँ ख्याउटेपन भएका बालबालिका ५ दशमलव १० प्रतिशत छन् । ग्रामिण क्षेत्रका ६ दशमलव १० र शहरी क्षेत्रका ४ दशमलव ५० प्रतिशतमा ख्याउटेपन देखिएको हो । सन् २०१९ को जनसांख्कि सर्वेक्षण अनुसार भने यो तथ्यांक सुधारोन्मुख हो ।

त्यो बेला सुदूरपश्चिममा ३३ दशमलव ३० प्रतिशत कम तौलका बालबालिका थिए भने ख्याउटेपन भएकाहरु १४ दशमलव १० प्रतिशत थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : १२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *