मंगलसेन । महिला सशक्तीकरण तथा लैंगीक हिंसा सम्बन्धि एक दिने क्षमता विकास अन्तरक्रिया कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिवण्डालीमा सम्पन्न भएको छ । महिला मानव अधिकार रक्षक संजाल अछामको आयोजनामा मंगलसेन नगरपालिकाको आर्थिक सहयोग तथा समन्वयमा मंगलबार स्थानीय महिलाहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
संजालका जिल्ला अध्यक्ष राधिका भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर उपप्रमुख संगीता रावल सोडारी रहनुभएको थियो भने विशिष्ट अतिथी वडा नम्बर ७ का वडाध्यक्ष राज बहादुर शाही रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख सोडारीले लैंगीक हिंसा र महिला सशक्तीकरणको विषयमा ग्रामीण क्षेत्रका महिलाहरुसंग जति छलफल र अन्तरक्रीया गर्न सक्यो त्यतीनै यश सम्बन्धि घटनाहरु कम गर्न सकिने बताउनुभयो । यस्ता विषयलाई नगरपालिकाले हरेक बर्ष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम संचालन गर्दै आएकोले त्यसको फलस्वरूप अहिले महिलाहरु यस विषयमा खुलेर आफ्नो बिचार र समस्या राख्न सक्ने भएका उल्लेख गर्नुभयो ।
महिलाहरुको सचेतना अभिवृद्धि तथा क्षमता विकास गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरंतरता दिदै जाने उहाँको भनाई छ । यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष शाहीले वडामा महिला हिंसा र क्षमता विकासका धेरै कार्यक्रम गरिएको भन्दै स्थानीयस्तरमा थप कार्यक्रम गरिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा मंगलसेन नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख मन्जु महतले लैंगीक हिंसा, महिला सशक्तीकरण तथा यसका कारण र समस्या समाधानका उपायबारे सहभागीहरुलाई जानकारी दिनुभएको थियो । समाजमा अहिले पनि हिंसाका कारण सबैभन्दा बढी महिलाहरु नै प्रभावित भैइरहेका भन्दै समयसङै अहिले हिंसा र बिभेदका स्वरुपहरु पनि बदलिएका बताउनुभयो ।
घरभित्रबाट नै लैंगिक विभेदको सुरुवात हुने गरेको भन्दै उहाँले अछाममा यस सम्बन्धका घटनाहरुको समयमै समाधान गर्न चुनौती रहदैआएको बताउनुभयो । संजालका सदस्य लक्ष्मी बोगटीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्य उदयराम जैशी र गोमा कामी, पुर्व वडाध्यक्ष सिद्धराज ढुङ्गाना, वडा सचीव ताराप्रसाद भण्डारी, महिला मानव अधिकार रक्षक संजाल अछामका पदाधिकारी, वडा नम्बर ७ का स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
यसैबीच कार्यक्रम मार्फत वडामा वडास्तरीय महिला मानव अधिकार रक्षक संजाल पनि आजै गठन गरिएको छ । वडास्तरमा हुने लैंगिक विभेद र हिंसाका घटनाहरुलाई स्थानीयस्तर बाटै सम्बोधनका लागि पहल गर्न ७ सदस्यीय संजाल गठन गरिएको छ ।
जसको अध्यक्षमा इशरा कामी, उपाध्यक्षमा भद्रकला शाही, सचीवमा ललिता जनाला र कोषाध्यक्षमा रेवन्ती थ्यायत चयन भएका छन् । यस्तै सदस्यहरुमा दिपिमा धमला, किडि नेपाली र जमना जैशी रहेका छन् । यसअघि मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पनि यस्तै वडास्तरिय संजाल गठन गरि सकिएको छ ।











प्रतिक्रिया