१६ बैशाख २०८१, आइतबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राज्यको नजर नपुगेको ‘टाँके भ्याली’



हुम्ला । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष २०२० को शुभारम्भ गर्‍याे । औपचारिक शुभारम्भको पूर्वसन्ध्यामा माहोल भने निकै तात्तियो । भ्रमण वर्षमै घुम्ने योजना बनाउँदै गरेका पर्यटकहरूको नयाँ र आकर्षक गन्तव्य खोजिएको थियो  । तर,  कोभिडका कारण भ्रमण वर्ष २०२० राेकियाे । कोभिडले भ्रमण वर्ष २०२० नराेकेकाे भए कर्णालीकाे ‘टाँके भ्याली’ले पर्यटक पाउनेमा आशावादी थिए यहाँका स्थानीय ।

नयाँ ठाउँ घुमेर ‘लाइफ टाइम इक्सपेरियन्स’ लिन चाहनेहरूका लागि नयाँ गन्तव्य हाे कर्णाली । कर्णाली अञ्चलका पाँच जिल्लासँगै सुर्खेत, दैलेख, जाजरकोट र रुकुम पश्चिम मिलेर बनेको कर्णाली प्रदेशमा घुम्नका लागि अथाह प्राकृतिक एवं धार्मिक सम्पदा र ऐतिहासिक धरोहर छन् ।

कर्णालीमा नेपालकै ठूलो रारा तालदेखि नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती डोल्पाको द्यो, प्राकृतिक ज्वालाहरूको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपाल, अग्लो झरना पचाल झरना, खस भाषाको उत्पत्ति सिँजा, डोल्पाको शे–फोक्सुन्डो ताल, सुर्खेतको बुलबुले ताल र काँक्रेबिहारलगायतका गन्तव्यहरू छन् । तर, कर्णाली प्रदेशको हुम्ला जिल्लाका लुकेर रहेका नयाँ पर्यटकीय गन्तव्य सरकारको योजना समेटिएनन् ।

कर्णाली भन्नेबित्तिकै अधिकांश नेपालीको मनमा रोग, भोक र विपन्नताको तस्बिर आउँछ । यहाँ आउने मानिसहरू यहाँको गरिबीबारे बुझ्‍न आउने गरेका छन् । तर, धेरैलाई कर्णाली पर्यटकका लागि आकर्षक केन्द्र बन्न सक्छ भन्ने थाहै नहोला । 

ओझेलमा टाँके भ्याली
पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार अभावमा ओझेलमा परेको चंखेली गाउँपालिका– ५ स्थित टाँके भ्याली हो । यहाँ पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धालगायतका बहुमूल्य जडीबुटी प्रशस्त मात्रामा पाइन्छ।

यसैगरी झारल, घोरल, मृग, नावरलगायत जंगली जनवार पाइने हुम्लाको टाँके भ्यालीमा राज्यको नजर नपुग्दा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन । ताल तलैया, छाँगा छहरा, झरना, प्रशस्त भेटिने नयाँ गन्तव्य अझैसम्म ओझेलमै छ । 

बिहानीको सूर्यको किरणले गगनचुम्बी सेता हिमाललाई अंकमाल गरिरहेका छन् । फेदीमा गलैँचा बिछ्याएझैँ घाँसेमैदानमा भेडा र पशुवस्तु चरिरहेका छन् । भ्यालीको बीचमा कलकल हिमनदी बगिरहेको छ । भ्यालीमा पशुवस्तु पनि आनन्दसँग आराम गरिरहेका छन् । घाँसेखर्कमा मन लोभ्याउने रंगीचंगी लेकाली फूलहरू फुलिरहेका देखिन्छन् । गोठालाहरू आफ्नै ध्यानमा रमाएका देखिन्छन् ।

टाँके भ्यालीनजिकै ठिंग उभिएको छ ५,३५८ मिटरको काङ्ला भञ्ज्याङ । काङ्ला भञ्ज्याङको फेदमा पर्छ टाँके भ्याली । यो भ्याली यति सुन्दर देखिन्छ कि मानौँ विभिन्न ग्रन्थहरूमा वर्णन गरिएको स्वर्ग यही ठाउँ हो । नेपाली उखान ‘नजिकको तीर्थ हेला’ भनेझैँ स्थानीय सरकारले पनि यस ठाउँलाई खासै ध्यान दिएको देखिँदैन ।

चंखेली गाउँपालिका– ५ नेप्कामा अवस्थित टाँके भ्याली पैदल एक दिन हिँडेर पुग्न सकिन्छ । यहाँ खान बस्नका लागि स्तरीय होटेल छैनन् । भेडा र पशुवस्तु गोठमा बस्नुपर्छ । तैपनि दुई–चार दिन बितेको पत्तै नहुँदो रहेछ ।  छिनछिनमा फेरिइरहन्छ यहाँको मौसम । एकैछिनमा घाम लाग्छ भने एकैछिनमा बादल लागेर अँध्यारो हुन्छ ।

रमणीयस्थल हुँदाहुँदै पनि टाँके भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैन । यो ठाउँलाई पदमार्गको रूपमा विकास मात्रै गर्न सकेका चंखेली गाउँपालिका– ५ का स्थानीयहरूको आम्दानीको स्राेत बन्ने सम्भावना छ । हुम्लाको लिमी लाप्चापछि हुम्ला चिनाउने अर्काे पर्यटकीय गन्तव्य टाँके भ्याली नहुनेमा दुईमत छैन ।

के-के हेर्न सकिन्छ टाँके भ्यालीमा ?
स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गको सम्भावना बोकेको टाँके भ्यालीमा विभिन्न प्रजातिका चराचुरुंगी, जंगली जनावर, ताल, तलैया, झरना, छाँगा, छहरा र अहिलेसम्म प्रचार हुन नसकेको ‘भ्यु दुलो’ पनि यही भ्यालीभित्र पर्छ ।

हुम्लाकै ठूलो झरना कक्षेपु झरना टाँके भ्याली जाने बाटोमै पर्छ । अनौठो फुने छहरा पनि देख्न सकिन्छ । बाह्रै महिना हिमालबाट हिउँ पग्लेर बगिरहने कलकल खोलानाला पनि हेर्न र देख्न सकिन्छ ।

टाँके भ्याली घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले ६,०८८ मिटर उचाइमा रहेको गोरख हिमाल पनि यही टाँके भ्यालीभित्र पर्छ । टाँके भ्यालीदेखि उत्तरी चीनको दोङपा प्रान्त पनि नजिकै छ । टाँके भ्यालीबाट एक दिनमै चीन पुग्न सकिन्छ ।

कसरी पुग्ने टाँके भ्याली ?

नेपालगन्जदेखि हुम्लाको टाँके भ्याली कसरी पुग्ने भन्ने कुतूहल हुन सक्छ । यो भ्याली नेपालगन्ज सुर्खेतबाट गाडीको यात्राबाट चंखेली गाउँपालिका पुगिन्छ । चंखेली गाउँपालिका केन्द्र पिप्लाङदेखि नेप्का गाउँ एक दिनमा पुगिन्छ । नेप्का गाउँबाट दुईदेखि तीन दिनको पदयात्रामा सहजै पुगिन्छ यो भ्याली । हिमालतर्फ पर्ने भएकाले लुगा कपडा न्यानो बोक्न आवश्यक छ ।

गाउँभन्दा माथि जंगलको बाटो भएकाले खाजा, नास्ता र खाना आफैँ बोक्नुपर्ने हुन्छ । १० देखि  २० दिनको प्याकेज लिएर आउनुपर्ने हुन्छ । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरोकारवाला निकायको ध्यान पुग्ने हो भने टाँके भ्याली हुम्लाको लिमी उपत्यकापछि दोस्रो रोजाइमा पर्ने सम्भावना छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  १२ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *