उहिले घरको सुरक्षाका लागि कुकुर पालिन्थ्यो । तर, अहिले शहरमा सुरक्षाभन्दा पनि सोखका लागि कुकुर पालिन थालिएको छ । काठमाडौँ, पानीपोखरीस्थित महानगर एनिमल रिर्सच सेन्टरका सञ्चालक सुरेश कार्की कुकर अहिले एक्लोपनको साथी भएको बताउँछन् । ‘कुकुरपालन अहिले सुरक्षाभन्दा पनि सोखको विषय भइसक्यो,’ उनी भन्छन्, ‘कुकुर मान्छेको एक्लोपनको अभिन्न साथीजस्तै भइसकेको छ ।’ बानेश्वर हाइटमा विगत २० वर्षदेखि माउन्ट एभरेस्ट केनल क्लब चलाइरहेका सुरेश शाहले संयुक्त परिवार टुक्रिएर एकल बन्दै गएका कारण पनि कुकुरको माग बढ्दै गएको बताए । ‘परिवार संयुक्तबाट एकल हुँदैछ । काममा व्यस्तता बढ्दैछ,’ उनले भने, ‘फुर्सद भएका बेला घरमा बोल्ने मान्छे कोही हुँदैन । जति तनावमा भए पनि कुकुरसँग पाँच÷सात मिनेट खेल्दा मुड फ्रेस हुन्छ ।’ कुकुर जतिबेला पनि मालिकको स्वागत गर्न तयार हुने भएकाले मानिसको एक्लोपनको साथी बनेको उनी बताउँछन् ।
‘केयरिङ’ आवश्यक
सोख हुँदैमा मात्र राम्रो प्रजातिको कुकुर पाल्न सम्भव हुँदैन । त्यसका लागि कुकुरलाई ‘केयरिङ’को आवश्यकता हुन्छ । जति कुकुरलाई केयर गरियो, त्यति नै कुकुरले मालिकप्रति केयर देखाउने भएकाले कुकुर पाल्न चाहनेले यसमा पनि ध्यान दिनुपर्ने काठमाडौँ, माइतीघरस्थित रोयल केनल क्लबका निर्देशक केशरसिंह केसी बताउँछन् । उनका अनुसार मालिकले जस्तो सिकायो कुकुरले पनि त्यस्तै सिक्ने हुँदा कुकुरलाई प्रशस्त माया, ममता दिनुपर्ने हुन्छ । ‘कुकुर मायाको भोका हुन्छन्,’ केसीले भने, ‘कुकुरलाई लामो समय घरमा एक्लै राख्नु हुँदैन । धेरै बेर बाँध्नु पनि हुँदैन ।’ मालिकले भने अनुसारको व्यवहार सिकाउन कुकुरलाई तालिमको आवश्यकता पर्छ । ‘सकेसम्म घरमै तालिम दिनुपर्छ । तालिम दिन नभ्याउनेले ट्रेनिङ सेन्टरमा पठाउनुपर्छ,’ उनले भने । केनल क्लबहरूले नै कुकुरलाई तालिम दिने गरेका छन् । केसीका अनुसार १५ देखि २० हजार रुपैयाँमा क्लबहरूले कुकुरलाई तालिम दिन्छन् । त्यस्तै, कुकुर पाल्नेले त्यसको खोपमा पनि ध्यान दिनुपर्छ । माउन्ट एभरेस्टका सञ्चालक शाहका अनुसार कुकुरलाई जन्मेको छदेखि आठ हप्तामा पहिलो चरणको खोपअन्तर्गत डीएचपीपीआईएल (डिसटेम्पर, हेपाटाइटिस, पाराइन्फ्लुएन्जा, पार्भो, लेप्टोस्पाइरोसी) खोप दिनुपर्छ । त्यस्तै, १० देखि १२ हप्ताको बीचमा फेरि त्यही खोप लगाउनुपर्छ र त्यसलाई प्रत्येक वर्ष दोहो¥याउनुपर्छ । जन्मेको नौदेखि १० हप्तामा कोरोना भाइरसविरुद्ध खोप लगाउनुपर्छ । दोस्रो चरणमा १२ देखि ४३ औँ हप्तामा पुनः त्यही खोप लगाउनुपर्छ र यसलाई प्रत्येक वर्ष लगाउनुपर्छ । उनका अनुसार कुकुरलाई जन्मेको १२ औँ हप्तामा रेबिजविरुद्धको खोप दिनुपर्छ र त्यसलाई पनि प्रत्येक वर्ष दोहो¥याउनुपर्छ । त्यस्तै, कुकुरलाई जुका, परजीवीमुक्त पार्न जन्मेको पहिलोदेखि छैटौँ महिनाको बीचमा प्रत्येक चार हप्ताको अन्तरमा ‘डिवर्मर’ दिनुपर्छ । भेटेरिनरी चिकित्सकको सल्लाह लिएर छ महिनापछि भने प्रत्येक तीनदेखि चार हप्ताको अन्तरालमा ‘डिवर्मर’ दिनुपर्छ । पहिलो खोप लगाउनुभन्दा अघि कुकुरलाई सडकमा लैजानु हुँदैन र जन्मेको तीन महिना नभई नुहाइदिनु पनि हुँदैन ।
प्रतिक्रिया