६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बम्जनलाई अभियोग, बेपत्तादेखि बलात्कारसम्म



सिमरा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वाका सुरेश आले मगर तपस्वी भनिएका रामबहादुर बम्जनका मुख्य सहयोगी थिए। जो २०७२  वैशाख १२ को शक्तिशाली भूकम्पपछि १४ गते घर आएका थिए। उनले ‘अब घरमै बस्ने जानकारी परिवार र छिमेकीलाई गराएका’ थिए। 

तर, बम्जनको संरक्षण समितिको अगुवाइ गर्ने जसबहादुर वाइवाले अर्को महिना जेठ दोस्रो साता सुरेशलाई लिएर गए। त्यसपछि उनी न घर फर्किए न त उनको अवस्थाबारे कोही बताउँछन्। यति मात्र होइन, वाइवासमेत आले परिवारको सम्पर्कमा छैनन्।  

‘बुद्ध (रामबहादुर बम्जन)ले बोलाएको छ भन्दै खाना खाइरहेको छोरालाई लिएर गयो। सुरेश पनि हतार–हतार गर्दै हिँड्यो’, बुवा हस्तबहादुर छोरो निस्कँदाको क्षण सम्झँदै भन्छन्, ‘हामीले पनि केही दिनमा फर्किहाल्छ होला भन्ने सोच्यौं। तर, अहिलेसम्म केही अत्तोपत्तो छैन।’

हस्तबहादुरले त्यस बेला भूकम्पले घर चर्काएको क्षतिलाई सहजै लिए र बिस्तारै बिर्सिए पनि। तर, त्यसको महिना दिन बित्न नपाउँदै हिँडेको छोरो अहिलेसम्म नफर्किंदा उनको मन भूकम्पले चर्किएको घरभन्दा निकै फाँटेको छ। 

परिवारले सुरेशलाई खोज्न धेरै संघर्ष गर्‍यो। हस्तबहादुरले बम्जनको आश्रममा पटक–पटक धाए। भारतका विभिन्न स्थानमा पनि पुगे। तर, सुरेशको अवस्था पत्ता लागेन। हस्तबहादुरले बम्जनलाई भेट्न चाहे। तर, पटक–पटक धाउँदा पनि उनले बम्जनलाई भेट्न पाएनन्। बम्जन आश्रममा नभएको भन्दै हस्तबहादुरलाई फर्काइन्थ्यो।

उनका अनुसार वाइवाले ‘सुरेश थाइल्यान्ड गएको हुन सक्ने’ बताए। थाइल्यान्डबाट आएका बम्जनका अर्का एक अनुयायीसँग सुरेशनजिक थिए। जो सुरेशको घरमा आउँथे। थाइल्यान्डका अनुयायीसँग सम्बन्ध राम्रो रहेका कारण परिवारले वाइवाको कुरा पत्यायो। 

छोरो धार्मिक कामले त्यता गएको हुन सक्ने भन्दै हस्तबहादुरले केही वर्ष प्रतीक्षा गरे। तर, सुरेशले पासपोर्टका लागि आवेदन दिएको तर पासपोर्ट नलिएको कुरा खुल्न आयो। त्यो पासपोर्ट जिल्ला प्रशासन कार्यालयमै रहेको पुष्टि भएपछि हस्तबहादुरले पुनः खोजी गर्न थाले। उनले छिमेकीको सहारा लिए। 

null

आश्रममा हुँदा बम्जनलाई सुरेशले ढोक्दै गरेको तस्बिर।

सुरेश २०७३ सालमा ललितपुरको भैंसेपाटीमा आयोजित धार्मिक सभामा पनि देखिएनन्। बम्जनका मुख्य सहयोगी भएका कारण सुरेश उक्त सभामा देखिनेमा हस्तबहादुर ढुक्क थिए। तर, त्यस दिन पनि सुरेश नदेखिएपछि हस्तबहादुरको मनमा चिसो पस्यो। 

सुरेशलाई लैजाने वाइवाविरुद्ध उजुरी

हस्तबहादुरले सुरेशलाई लैजाने वाइवाविरुद्ध २०७५ पुस १३ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिए। तब प्रहरीमा हाजिर भएका वाइवाले सुरेशलाई आफूले पूर्वपश्चिम राजमार्गमा ल्याएर गाडी चढाएको र त्यसपछि आश्रममा पुगेको जानकारी पाएको बताएका थिए। ‘गुरुले सुरेशलाई पठाइदिन भनेपछि मैले घरबाट ल्याएर गाडी चढाएर आश्रममा पठाएको हो। त्यसपछि मलाई थाहा छैन’ वाइवाको भनाइ उद्धृत गर्दै हस्तबहादुर भन्छन्।

जितपुरसिमरा १६ का वाइवा आफूविरुद्ध उजुरी परेपछि त्यस दिनदेखि सम्पर्कमा छैनन्। त्यसपछि हस्तबहादुरको परिवार थप पीडामा छ। वाइवालाई समातेर केरकार गर्न पाए सुरेशको अवस्था खुल्ने थियो कि भन्ने आशा हस्तबहादुरमा अझै छ। तर, सम्पर्कमा आउन छोडेपछि हस्तबहादुर छोरा सुरेशसम्म पुग्ने बाटो खोजिरहेका छन्। 

‘मेरो छोरो लैजाने वाइवालाई समातेपछि सबै कुरा खुल्छ होला’, हस्तबहादुर भन्छन्, ‘तर वाइवा नै सम्पर्कमा छैनन्। अहिले बम्जनलाई प्रहरीले समातेको छ। अब केही कुरा खुल्ला कि भन्ने आशा छ।’ 

बम्जनलाई प्रहरीले पक्राउ गरेको खबर सुनेपछि परिवारजन चनाखो भएर बसेका छन्। अब सुरेशको खबर आउँछ कि भन्ने आशा बढेको छ। सुरेशले गुरु मान्दै आएको बम्जन समातिएको खबरले छोरा फर्कन्छ भन्ने आशा बढेको आमा नन्दकुमारी बताउँछिन्। 

‘राति छोरालाई सपनामा देखेँ। कालो कपडा लगाएर घर अगाडिको बाटो भएर जाँदै थियो’, नन्दकुमारी भन्छिन्, ‘त्यही दिन बुद्ध (रामबहादुर बम्जन)लाई प्रहरीले समातेको खबर सुने। त्यसपछि मलाई अब मेरो छोरा फर्कन्छ भन्ने लागेको छ। मेरो मनले पनि त्यही भन्छ।’ झन्डै दुई वर्षपछि आफूले सुरेशलाई सपनामा देखेको र त्यही दिन बम्जनलाई प्रहरीले समातेका कारण छोरा फर्कने आशा बढेको नन्दकुमारीको भनाइ छ। 

हस्तबहादुर छोराको अवस्था मात्रै जान्न पाए मनले शान्ती पाउने बताउँछन्। एक्लो छोरा सुरेशको अवस्था अज्ञात भएपछि हस्तबहादुर वृद्ध आमा बदमकुमारी र पत्नी नन्दकुमारीसँग बसिरहेका छन्। दुई छोरी रञ्जना र अनुको विवाह भइसकेको छ। हस्तबहादुर खेतीकिसानी गर्छन्। घरमा पशुचौपाया पालेका छन्। 

घरको काम एक्लै गर्न गाह्रो भएपछि हस्तबहादुरले बम्जनको अनुयायी भएर बसेका छोराको विवाह गरिदिने चाहना राखेका थिए। तर, छोराले विवाहमा चासो देखाएनन्। उनी विवाहको कुरा नगर्न आग्रह गर्थे। तर, बम्जन आफंैले विवाह गरेपछि सुरेश पनि विवाह गर्ने राजी थिए। पछिल्लो पटक उनी घर आएका बेला विवाहका लागि परिवारले कुरा चलाइरहेका थिए। 

शिक्षण छोडेर बम्जनको अनुयायी

null

आश्रममा सामूहिक तस्बिरमा सुरेश (कालो टिसर्ट)।

२०३९ फागुन २९ गते जन्मिएका सुरेश शालिन स्वभावका थिए। उनी घरको काम आफैं गर्थे। घर वरपर बिरुवा रोप्ने, सरसफाइ गर्ने, भुइँ ढलान गर्ने, टहरा बनाउने जस्ता काम आफैं गर्थे। कक्षा १२ सम्म अध्ययन गरेका उनी एक निजी विद्यालयमा पढाउँथे। उनी अंग्रेजी भाषा राम्रोसंग बोल्थे। २०६२ जेठ २ गते बम्जन तपस्यामा बसेको खबर फैलिएपछि सुरेश पनि हेर्नका लागि रतनपुरी पुगेका थिए। 

त्यसपछि रतनपुरी जान थालेसँगै उनको सम्पर्क बम्जन र संरक्षण समितिसँग बढ्दै गयो। गाउँकै केही युवा बम्जनको संरक्षण समितिमा बसेपछि सुरेशलाई पनि लिएर गए। रतनपुरी आउने जाने क्रम बढेपछि सुरेश शिक्षण पेसा छाडेर बम्जनको अनुयायी भएर बस्न थाले। 

बम्जन रतनपुरीबाट करिब १० महिनापछि हलखोरियामा जंगलमा पुगे। रतनपुरीको तपस्यास्थलबाट हिँडेका उनी पूर्वपश्चिम राजमार्गको पसाहा खोलाबाट उत्तरतर्फ बाघझोर जंगलमा तरवारसहित भेटिए। बम्जनलाई त्यतिबेला गठन भएको तपोवन संरक्षण समितिले हलखोरिया जंगलमा लगेर राखेको थियो। जुन संरक्षण समितिलाई पछि बोधी श्रवण धर्म संघमा रूपान्तरित गरियो। 

बम्जन हलखोरिया आएपछि सुरेश पनि त्यही बस्न थाले। सुरेशले घरका अभिभावकलाई बम्जनको आश्रममा आउन आग्रह गर्थे। बम्जनकी आमा नन्दकुमारी, हजुरआमा बदमकुमारीसहित परिवारका अन्य सदस्य बेलाबेला आश्रममा जान्थे। उनिहरू आश्रममा छोरा सुरेशलाई भेटेर फर्कने गरेका थिए। हस्तबहादुर पनि एकपटक आश्रममा पुगे। सुरेश आश्रमभन्दा घर आएर व्यवहार सम्हालोस भन्ने चाहना हस्तबहादुरको थियो। तर, सुरेशको चाहना बम्जकै आश्रममा बस्ने थियो। हस्तबहादुरले सुरेशको यो चाहनामा कहिल्यै रोक लगाएनन्।

‘एक्लो छोरो घरव्यवहार सम्हाल्छ की भन्ने लागेको थियो। तर उतै बस्न थाल्यो। मैले पनि कहिल्यै रोक लगाइनँ। उसले चाहेको गर्न दिए’ हस्तबहादुरले भन्छन् ‘उसले हामीलाई पनि त्यहाँ बोलाउँथ्यो। म धेरै गएको छैन। आमा, दिदीहरूलाई लिएर जान्थ्यो। केही दिन राखेर पठाउँथ्यो।’

छोराको आश्रममा पुगेर आएकी पत्नी नन्दकुमारीले सुरेशको अवस्था राम्रै रहेको सुनाउँदा हस्तबहादुरलाई खुशी लाग्थ्यो। आश्रममा हुँदा सुरेश १–२ महिनामा घर आउने गरेका थिए। घर आएर केही दिन बसेर आश्रममा फर्कन्थे। सुरेशको दैनिकी यसरी नै चलिरहेको थियो। 

उस्तै छ सुरेशको कोठा र सामान

null

बेपत्ता बनाइएका छोरा सुरेश र बम्जनको तस्बिर देखाउँदै सुरेशका बुवा हस्तबहादु (माथि)।

सुरेशले आफ्नो कोठाका भित्तामा बम्जनका तस्बिर टाँसेका थिए। जुन अहिले पनि उस्तै अवस्थामा छन्। टेबलमा राखेका थुप्रै धार्मिक किताब पनि उस्तै अवस्थामा छन्। तर, सुरेशको अवस्था लामो समयदेखि अज्ञात छ। 

बम्जनसँगै रहेको छोराका तस्बिर हेरेर हस्तबहादुर भावुक हुन्छन्।  

‘छोरो फर्किएला कि भनेर उसको कोठाको सामान उस्तै अवस्थामा राखेका छांै। उसले राखेर गएको सामान चलाएका पनि छैनौं’, हस्तबहादुर भन्छन्, ‘तर यतिका वर्ष भयो। बाँचेको वा मरेको भन्ने पनि थाहा छैन। मेरो छोराको अवस्था मैले कसरी थाहा पाउन सक्छु ?’

बम्जनलाई भेटेर छोराको अवस्थाबारे सोध्न मन लागेको हस्तबहादुर बताउँछन्। ‘मेरो छोरा खोइ ? कि सास देऊ कि लास देऊ भनेर बम्जनलाई सोध्न मन छ’, उनी भन्छन्, ‘वाइवाले त आश्रममै लगेर छोडेको भन्छ। अब बम्जनले यसको जवाफ दिनुपर्‍यो नि ! आठ वर्षसम्म त पर्खियौं। अब कहिलेसम्म पर्खनुपर्ने हो ? मलाई जवाफ त चाहियो।’ 

हस्तबहादुर छोरा घरमै बसोस् भन्ने चाहन्थे। उनले छोराको चाहनामा ट्रयाक्टरसमेत खरिद गरेका थिए। आफ्नो खेत जोत्न पनि सकिने र अरू खेत जोतेर केही आम्दानी पनि हुने भनेर सुरेशकै आग्रहमा ट्रयाक्टर खरिद गरेको उनी सुनाउँछन्। सुरेशले ट्रयाक्टर चलाउन सिक्दै थिए। अहिले त्यो ट्रयाक्टर चलाउन हस्तबहादुरले चालक राखेका छन्। 

सुरेश धनसम्पत्ति धेरै जोडेर राख्नुभन्दा अभावमा रहेका मानिसलाई दिनुपर्छ भन्ने पक्षमा थिए। जग्गाजमिन नभएकाहरूलाई थोरै भए पनि जग्गा दिनुपर्छ भनेर सुरेशले हस्तबहादुरलाई भन्ने गरेका थिए। ट्रयाक्टरले सानो खेत जोतेको पैसासमेत उनी लिँदैन थिए। सहयोगी स्वभावका उनको व्यवहारबाट छिमेकी र गाउँले खुसी थिए।  

स्थानीयवासीको मन जितेका सुरेश निजी विद्यालयमा अध्यापन गराउँदा–गराउँदै बम्जनको आश्रम पुगेका थिए। आश्रम पुगेको केही वर्षपछि हस्तबहादुरले गढीमाई मेलाका लागी भाकल गरेको बोकासमेत सुरेशले काट्न दिएनन्। गुरुले बलि रोक्न खोजेको भन्दै सुरेशले घरमा राखेको बोकालाई हलखोरिया आश्रम लगिदिन आग्रह गरे। त्यसपछि पूजापाठ गरेर भाकल गरेको बोकालाई हस्तबहादुरले आश्रममा छोडेर फर्किए। बोका आश्रममा छोड्न हस्तबहादुरका सबै परिवारजन गएका थिए। 

आश्रम नजाने भनेर फर्किएका सुरेशलाई किन लगियो ?

बम्जनले बारा छोडिरहँदा उनका मुख्य सहयोगी सुरेश पनि उनीसँगै गएका थिए। तर, २०७२ सालमा सुरेश आश्रम छोडेर घर फर्किएका थिए। उनले दिदीलाई अब घरमै बस्ने बताएका थिए। तर, एक महिनामै बोलाउन आएपछि सुरेश गए। त्यसपछि बेपत्ता भएको लामो समय बितिसक्दा पनि बम्जनको संरक्षण समिति र उनका अन्य सहयोगीले सुरेशको खोजी गर्न चासो देखाएनन्। आफैंले घरबाट लिएर गएका वाइवासमेत सम्पर्कविहीन भएर बसे। जिम्मेवार व्यक्तिहरू नै सम्पर्कमा आउन नचाहेको र लामो समयदेखि छोरा अज्ञात रहेका कारण झिनो आशा रहेको हस्तबहादुर बताउँछन्। 

‘वाइवाको कुरा मान्ने हो भने सुरेश आश्रमसम्म पुगेको भन्ने छ। त्यसो भए कहाँको आश्रममा पुग्यो? कसरी बेपत्ता भयो ? यो कुरा हामीलाई त जानकारी हुनुपर्‍यो’ हस्तबहादुरले भने ‘तर कसैले पनि जिम्मेवारी लिएका छैनन्। प्रहरी प्रशासनले समेत वास्ता गरेको छैन।’ बम्जनलाई प्रहरीले समातेपछि सुरेशको वास्तविक अवस्था बाहिर आउने आशा पलाएको हस्तबहादुर बताउँछन्।

बम्जनले जब बलि रोक्ने घोषणा गरे…

बम्जनले २०६६ मंसिरमा गढीमाईको बलि रोक्ने घोषणा गरे। तर, आश्रमबाट निस्किएका बम्जन त्यस दिनदेखि बेपत्ता भए। उनी तीन महिनापछि पूर्वपश्चिम राजमार्गको टांगिया बस्ती नजिकको सडकमा युवतीसहित भेटिए। त्यसबेला उनलाई प्रहरीले आश्रममा लगेर छाडेको थियो। 

बलि रोक्छु भनेर चर्चामा आएका बम्जन बारामा रहँदा विवादमा आए। उनी र उनको संरक्षणमा रहेको बोधी श्रवण धर्म संघमाथी स्लोभाकियाकी एक महिलासहित दुई जनालाई बन्धक बनाएको आरोप लाग्यो। बम्जनको तपस्यास्थलमा विदेशी महिला बन्धक बनाएको खबर बाहिरिएपछि ती महिलालाई छाडिएको थियो। प्रहरीको नियन्त्रणमा ती महिलाले आफ्नै देश फर्कने क्रममा बम्जनले आफूलाई तीन महिना बाँधेर राखेको र यौनहिंसा गरेको आरोप लगाएकी थिइन्। उनीसँगै अर्की निजगढ–८ की आनी भनिने एक महिला आश्रम स्थलमा बन्धक थिइन्। इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन प्रहरी निरीक्षक केपी शर्माको नेतृत्वमा पुगेको सुरक्षाकर्मीको टोलीले आनीलाई बन्धकमुक्त गराएको थियो।   

बम्जनमाथि २०६७ साउनमा मनहर्वाका १७ सर्वसाधारणलाई कुटपिट गरेको आरोप लाग्यो। च्याउ खोज्दै तपस्यास्थल भनिएको हलखोरिया जंगल क्षेत्र पुगेका उनीहरूलाई बम्जनले कोर्रा हानेको बयान पीडितले प्रहरीलाई दिएका थिए। यसबाहेक साविकको रतनपुरी २ गाविस हाल निजगढ ११ का एक युवकलाई हलखोरियामा तरवार प्रहार गरेको आरोप लागेको थियो। 

बम्जनले धर्मसंघ बम्जनको नाममा दोस्रोपटक जन्मदर्ता बनाएपछि पुनः विवादमा आएका थिए। रामलाल बम्जनको नाममा जन्मदर्ता गरिसकेका बम्जनको दोस्रो पटक धर्मसंघ बम्जनको नाममा जन्मदर्ता बनाएको खुलेपछि जिल्ला प्रशासन कार्यालयले रतनपुरी गाविसका तत्कालीन सचिवलाई समेत कारबाही गरेको थियो। स्थानीय प्रशासनले कारबाही गर्ने देखेपछि बम्जनका अनुयायीले धर्मसंघ बम्जनको नाममा नागरिकता र रातो पासपोर्ट पाउनुपर्ने भन्दै पूर्व–पश्चिम राजमार्गमा सडक अवरुद्ध गरे। अवरुद्ध सडक खुलाउन प्रहरीले बल प्रयोग गर्नुपर्‍यो।  

बम्जन र उनको संरक्षणमा रहेको समितिमाथि राष्ट्रिय वन क्षेत्रभित्र ठूला संरचना निर्माण गरेको आरोप थियो। बम्जन पटक–पटक विवादमा आएपछि स्थानीय प्रशासनले ती संरचना भत्काएको थियो। उनी बारामा विवादित बनेपछि सर्लाही, सिन्धुली, सिन्धुपाल्चोकलगायत विभिन्न स्थानमा पुगेका हुन्।

बम्जनको पृष्ठभूमि

सर्लाही जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश भएका बम्जनको घर बारा साविकको रतनपुरी गाविस ५ हाल निजगढ नगरपालिका ११ बुम्जोर हो। उनी पाँच दाजुभाइमध्ये साइँला हुन्। 

कक्षा ५ सम्म अध्ययन गरेका गरेका रामलाल बम्जन तपस्या गरिरहेको अवस्थामा भेटिएपछि रामबहादुर बम्जनको नामले चिन्न थालिएको थियो। लामा शिक्षा पढ्न भारत गएका बम्जन एक वर्षमै नेपाल फर्किएका थिए। त्यसपछि उनी रतनपुरीको जंगलमा भेटिएका हुन्। २०६२ सालमा पहिलो पटक रतनपुरीको जंगलमा भेटिँदा बम्जन १५ वर्षका थिए। बम्जनका श्रीमतीसहित एक छोरा र एक छोरी छन्। ३४ वर्षका बम्जनलाई प्रहरीले पुस २४ गते काठमाडौं बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ मा पक्राउन गर्न अनुमति दिएको थियो। 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *