१६ बैशाख २०८१, आइतबार | Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च शिक्षामा अत्याधिक ‘ड्रपआउट’



काठमाडाैं । उदाहरण १
चाबहिलमा रहेको जिपी कोइराला मेमोरियल कलेजमा ०७७ मा बिबिएस प्रथम वर्षमा भर्ना हुने विद्यार्थी ६ सयजना थिए । सो ब्याच अहिले चौथो वर्षमा पुगेको छ । तर, पहिलो वर्षमा भर्ना भएका अधिकांश विद्यार्थी चौथो वर्षसम्म आइपुग्दा गायब छन् । हाल बिबिएस चौथो वर्षमा भर्ना भएर पढ्दै गरेका विद्यार्थी जम्मा ७५ जना मात्रै छन् । यस्तै, यहाँ बिएतर्फ ०७७ मा प्रथम वर्षमा भर्ना हुन तीन सय विद्यार्थी आएका थिए । तर, हाल चौथो वर्ष पुग्दा उक्त संख्या घटेर एक सय ३५ मा झरेको छ । बिएडतर्फ पनि विद्यार्थीको संख्या न्यून देखिन्छ । बिएड पहिलो वर्षमा भर्ना हुँदा दुई सय विद्यार्थी आएका थिए । तर, हाल ७५ जना मात्रै चौथो वर्षमा पढ्न आएका छन् । अन्य विद्यार्थी कहाँ छन् क्याम्पस प्रशासनलाई समेत पत्तो छैन । त्यस्तै, बिसिएमा ३५ जना विद्यार्थी भर्ना भए पनि चौथो सेमेस्टरको परीक्षा दिँदासम्म १७ जना मात्रै छन् । 

उदाहरण २
चाबहिलमै रहेको पशुपति क्याम्पसमा ०७७ मा बिबिएसतर्फ सात सय विद्यार्थी भर्ना भएका थिए । तर, उक्त ब्याच हाल चौथो वर्षमा पुगेको छ । अहिले बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी संख्या दुई सयहाराहारी छ । अन्य पाँच सय विद्यार्थी पढ्दापढ्दै ‘ड्रपआउट’ भए । सोही क्याम्पसमा ०७७ मै बिए पहिलो वर्षमा तीन सय विद्यार्थी भर्ना भएका थिए, तर चौथो वर्ष पुग्दासम्म दुई सय विद्यार्थी गायब भएर हाल बिए चौथो वर्षमा अध्ययनरत विद्यार्थी संख्या सय रहेको छ । बिएड (शिक्षाशास्त्र संकाय)मा पनि प्रथम वर्षमा तीन सय विद्यार्थी भर्ना भएका थिए भने अहिले चौथो वर्षमा पढ्दै गरेका विद्यार्थी जम्मा सय छन् ।

क्याम्पस प्रमुख विनोदचन्द्र पन्तका अनुसार यस वर्ष बिबिएस प्रथम वर्षमा भर्ना हुन आउने विद्यार्थी संख्या पनि खस्कँदो छ । ‘यस क्षेत्रमा सबैभन्दा बढी विद्यार्थी हुने क्याम्पस पशुपति नै हो, तर अहिले विद्यार्थी संख्या घट्दो छ,’ उनले भने, ‘सबै तह र संकायमा गरी भर्ना भएकामध्ये ५५ प्रतिशत विद्यार्थी ‘ड्रपआउट’ हुन्छन् ।’

पशुपति क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म पठनपाठन हुन्छ । सबै तहका गरेर हाल ६ हजार हाराहारी विद्यार्थी संख्या रहेको क्याम्पस प्रमुख पन्तले जानकारी दिए । उनका अनुसार तीन वर्षअघि समग्र विद्यार्थी संख्या नौ हजारहाराहारी थियो, तर पछिल्लो दुई–तीन वर्षमा सबै तहमा विद्यार्थी संख्या खस्कँदो छ । क्याम्पसमा विद्यार्थीको खडेरी पर्ने अवस्था देखिन थालेको छ । यहाँ हरेक वर्ष विद्यार्थी संख्या क्रमशः ओरालो लाग्दै छ भने दिनहुँ कलेज छोड्न ‘रनिङ लेटर’ बनाउन आउने विद्यार्थी संख्या ५–६ जना हुन्छन् ।

उदाहरण ३
शंकरदेव क्याम्पसमा पनि ‘ड्रपआउट’ हुने विद्यार्थी संख्या बढी देखिन्छ । ०७७ मा स्नातक तह पहिलो वर्षका सबै संकायमा दुई हजार तीन सय ३० विद्यार्थी भर्ना भएकोमा हाल चौथो वर्षमा पुग्दा आठ सयहाराहारी मात्रै विद्यार्थी छन् । अन्य विद्यार्थी ‘ड्रपआउट’ भएको क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार पछिल्लो तीन–चार वर्षयता ‘ड्रपआउट’ हुने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । शंकरदेवमा हाल बिबिएस, एमबिएस, एमबिएम, एमबिए फाइनाइन्स, बिबिए, बिबिए फाइनान्स, बिओएम र बिबिएममा गरी १० हजार विद्यार्थी छन् । ‘विद्यार्थी संख्या घढ्दो छ, त्यसमध्ये प्राविधिक धारमा ‘ड्रपआउट’ अलि कम छ,’ उनले भने, ‘विशेष गरी छात्रहरू बढी ‘ड्रपआउट’ हुने गरेका छन् ।’ 

उदाहरण ४
बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा पनि विद्यार्थी ‘ड्रपआउट’ बढेको देखिन्छ । क्याम्पस प्रमुख हरिभक्त शाहीका अनुसार प्रथम वर्षमा भर्ना भएका विद्यार्थीमध्ये ५० प्रतिशत विद्यार्थी चौथो वर्षमा पुग्दा ‘ड्रपआउट’ हुन्छन् । हाल यहाँ एमपिएमा एक हजार नौ सय र बिपिएमा दुई सय ५० जना विद्यार्थी छन् । ‘विद्यार्थी ‘ड्रपआउट’ बढ्दो छ, अझ हामीले त विद्यार्थीलाई सहज होस् भनेर अनलाइन कक्षा पनि सञ्चालन गर्दै आइरहेका छौँ, शुल्क पनि सस्तो छ, तर बीचमै पढाइ छाडेर गायब हुने क्रम बढेको छ,’ उनले भने, ‘स्नातक तहमा प्रथम वर्षमा भर्ना भएका विद्यार्थी चौथो वर्षसम्म पुग्दा ५० प्रतिशत ‘ड्रपआउट’ भइसक्छन् ।’ उनका अनुसार यहाँ पनि एमपिए र बिपिएमा छात्राको संख्या नै बढी छ ।

 ‘ड्रपआउट’को कारण के हो ? 
विज्ञ र सरोकारवालाका अनुसार उच्च शिक्षामा ठूलो संख्यामा विद्यार्थी ‘ड्रपआउट’का कारण धेरै छन् । शिक्षाविद् केदारभक्त माथेमाले उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीकै कारण ‘ड्रपआउट’ धेरै भएको बताउँछन् । विद्यार्थी बिदेसिनुको मुख्य कारण रोजगारसँग जोडिएको उनको बुझाइ छ । ‘अधिकांश विद्यार्थी काम गर्दै पढ्न पाइने भएकाले विदेश जान्छन्, यहाँ त्यस्तो वातावरण छैन, काम प्रशन्त नभएकाले नेपालका विद्यार्थी बाहिरिएका हुन्,’ उनले भने, ‘विदेश जान लागेका विद्यार्थीसँग पनि सोधेको थिएँ, उनीहरूले काम गर्दै पढ्न पाइने र यहाँ ब्याचलर सक्न धेरै वर्ष लाग्ने भएकाले विदेश जान लागेको तर्क दिएका थिए ।’ उनले नेपालको शिक्षा पनि महँगो भएकाले विद्यार्थीले थेग्न नसकेको बताउँदै यस्तै अवस्था हुने हो भने बिदेसिने विद्यार्थीको संख्या बढ्दै जाने बताए । 

शिक्षा मासिकका प्रधानसम्पादक राजेन्द्र दाहालले नेपालको नेतृत्वप्रति युवाहरूको विश्वास र रोजगारीको अवसर नहुँदा विद्यार्थी बिदेसिने क्रम बढेको बताए । ‘देशमा योग्य भएको व्यक्तिको पनि कदर हुँदैन भन्ने भाव नयाँ पुस्तामा छ, उनीहरू नेतृत्व तथा राज्य प्रणालीलाई विश्वास नै गर्दैनन्, अर्को कुरा पढाइमा लगानी गरेअनुसारको प्रतिफल देख्दैनन्,’ उनले भने, ‘रोजगारी र विश्वासको वातावरण नभएपछि विद्यार्थी विदेश गइरहेका छन् ।’ 

शिक्षाविद् विद्यानाथ कोइरालाले देशको व्यवस्थाले विद्यार्थीको चाहना बुझ्न नसकेको बताए । ‘विद्यार्थीले पार्टटाइम पढाइ र पार्टटाइम जब खोजिरहेका छन्,’ उनले भने, ‘तर, हामीले उनीहरूको मनसाय बुझेनौँ, विद्यार्थीको सोच बुझ्नुपर्छ, पढाइसँगसँगै रोजगार दिन सक्नुपर्छ । ड्रपआउट हुनु विद्यार्थीको दोष होइन, सरकारको हो ।’ 

पशुपति क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द पन्तका अनुसार ‘ड्रपआउट’ हुनेमध्ये सबैभन्दा बढी विद्यार्थी स्नातक तहका छन् । नेपालमा रोजगारको अवसर नहुनु, व्यवसाय गर्न झन्झट र व्यवसायमैत्री वातावरण नहुनु, बिए, बिबिए, बिएड कार्यक्रमलाई चारवर्षे बनाउनु, पारिवारिक बाध्यता, त्रिविले समयमै नतिजा सार्वजनिक नगर्नुलगायत कारण विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् । ‘सरकारी नियम सही नभएका कारण विद्यार्थी दिक्दार छन्, उनीहरू पढ्दापढ्दै बेचैन भएर विदेश जाने वा ‘ड्रपआउट’ हुन्छन्,’ क्याम्पस प्रमुख पन्तले भने, ‘त्रिविमा स्नातक तह पढेर सर्टिफिकेट हात पर्दा ६ वर्ष लाग्छ, यस्तो अवस्था भए पनि विद्यार्थी कसरी टिकाउने ? अहिले विदेश जानका लागि रनिङ लेटर बनाउन आउनेको संख्या अत्यधिक छ ।’ 

पाँच वर्षमा बाहिरिए चार लाख ४ हजार १३९ विद्यार्थी 

नेपालबाट उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीको संख्या उच्च देखिन्छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार पाँच वर्षमा चार लाख चार हजार १३९ विद्यार्थी बाहिरिएका छन् । त्यस्तै, ०८०/८१ को पुस समान्तसम्म ५१ हजार ६३१, ०७९/८० मा एक लाख १० हजार २१७ जना, ०७८/७९ मा एक लाख १७ हजार, ०७७/७८ मा २७ हजार ९००, ०७६/७७ मा ३४ हजार ९६ र ०७५/७६ मा ६३ हजारजना छन् । २९५ विद्यार्थी उच्च शिक्षाको लागि बाहिरिएका छन् । 

ड्रपआउटको तथ्यांक राख्दैन त्रिवि 
पढ्दै गरेकामध्ये कति ‘ड्रपआउट’ भए भन्ने यकिन तथ्यांक त्रिविसँग छैन । स्नातक तह र स्नातकोत्तर तहको पहिलो वर्ष तथा सेमेस्टरमा भर्ना भएका विद्यार्थी अन्तिम वर्ष तथा अन्तिम सेमेस्टरसम्म पुग्दा ४० प्रतिशत ‘ड्रपआउट’ हुन्छन् । त्रिविका आंगिक तथा निजी क्याम्पसहरूमा पाँच लाख १७ हजार हाराहारी विद्यार्थी स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत छन् । हाल स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीको तथ्यांक मात्रै त्रिविले राख्ने गरेको छ, बीचमै पढाइ छाड्नेको तथ्यांक राखेको छैन । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *