२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँ–सहर पसे बाँदर



काठमाडाैं । पोखरा महानगरपालिका–१९ नम्बर वडा कार्यालयले बाँदर नियन्त्रण गर्न भन्दै हालै घर वरिपरिका रूख काट्न भन्यो। तर, उक्त कदमको आलोचनापछि ‘मेरो रूख म काट्छु’ भन्ने अभियान रोकिएको छ। वडाको सूचनामा ‘साबिक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको’ उल्लेख थियो। यो त बाँदरले दुःख दिएको एउटा प्रतिनिधि घटना मात्रै हो। यी जंगली जनावरले गाउँबस्तीदेखि सहरसम्म पसेर हैरानी दिइरहेका छन्। 

जंगलमा आहारा अभाव र मानिसको फेरिएको व्यवहारले गर्दा बाँदर सहरनजिक बस्न थालेको बताउँछन् वातावरणविद् डा.बलराम भट्ट। ‘सहर वरिपरि मन्दिरहरूमा खानेकुरा पाउन थाले। जंगलमा हिजोआज फलफूल भेटिँदैन। भएको पनि मान्छेले नै खाइदिन्छन्’, उनी भन्छन्, ‘सहरमा सहजै खानेकुरा पाउने भएकाले पनि बाँदरले सहर मन पराएको हो।’ सहरमा खाना फ्याक्ने क्रम बढेकाले पनि बाँदरलाई खानेकुरा पाउन सहज भएको भट्टको भनाइ छ। 

मानिसले पल्काएकै कारण बाँदर बस्तीमा छिर्ने गरेको बताउँछन् प्राणीशास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारी। ‘अरू जनावरलाई संरक्षण गर्दैगर्दा बाँदर आफैं संरक्षित बनेर आए’, अधिकारी भन्छन्, ‘अर्को कारण भनेको मान्छेहरूले बाँदरलाई प्रशस्तै खानेकुरा उपलब्ध गराइदिए। जसले गर्दा उनीहरूले जंगलमा भोकै मर्नुपर्ने बाध्यता टर्‍यो।’

उनका अनुसार बाँदर अत्यन्तै अनुकूलित जनावर हो। उसले समयानुकूल आफ्नो आहारमा परिवर्तन गर्दै लगेको छ। भन्छन्, ‘यसैले जंगली स्रोत नपाएको खण्डमा उसले घरभित्र पसेर अनाज तथा फलफूल चोरी गर्छ। सहरी क्षेत्रमा बाँदरले मागेरै पनि आफ्नो पेट पाल्ने गरेको छ।’

बाँदरको बानी–बेहोरा र स्वभाव पनि परिवर्तन हुँदै आएको अधिकारीको ठम्याइ छ। ‘पहिले बाँदर जंगलका कन्दमूलमै निर्भर हुन्थ्यो। मान्छेसँग टाढै रहन्थ्यो। तर, विस्तारै मान्छेका बालीमा पल्क्यो। मान्छे स्वयंले खानेकुरा दिन थालेपछि ऊ मानिससँग डराउन छोड्यो। बरु उल्टै आक्रमक रूपमा प्रस्तुत हुँदै लुटेर खान थाल्यो।’

समात्दै जंगलमा छाड्दै

धनुषाको बटेश्वर गाउँपालिका–१ नम्बर वडा कार्यालयले भारतको मथुराबाट अनुभवी टोली झिकाएर बाँदर धपाउने अभियान थालेपछि चित्रपुरका बासिन्दालाई केही राहत भएको छ। एक महिना अवधिमा करिब ५ सयवटा समातेर जंगलमा छाडिएको वडाध्यक्ष अशोककुमार महतो सुनाउँछन्।

पहिले केरा, मुमफली, चनालगायत खानेकुरा दिएर बाँदरलाई लोभ्याइन्छ। त्यसपछि पिंजरा राखेर त्यसमा फलफूल दिइन्छ। भित्र पसेपछि बन्द गरी गाडीमा राखेर जंगलको सुरक्षित स्थानमा छाडिने मथुराका भुला कुसेरीको भनाइ छ।

चुरेका जंगलमा शिकार गर्दा जनावर लोप हुनु र पानीको मुहान सुक्दै जानुले बाँदर, बँदेल, नीलगाई खेतबारी र बस्ती पसेको मिथिला वाइल्ड लाइफ ट्रस्टका प्रमुख देवनारायण मण्डल बताउँछन्। ‘प्राकृतिक रूपमा चितुवा, अंजिगर, हुडार, हाइनालगायत जीवजन्तु जो यी जनावरका बच्चालाई मारेर खान्थे। तर, ती जनावर जंगलबाट लोप भयो। त्यसले उसका बच्चा हुर्कँदै ठूलो हुँदै गयो। संख्या घटेन,’ उनी भन्छन्, ‘चुरेमा पानीको स्रोत पनि सुक्दै गयो। त्यसले ती जनावरहरू चुरे छोड्न बाध्य भएर तलतिर मधेसका गाउँघर र खेतबारीमा झरे।’

मधेस प्रदेश वन निर्देशनालयका वन संरक्षण एवं व्यवस्थापन शाखाका प्रमुख सुजितकुमार झा वन्यजन्तु बस्ती पस्नुको मुख्य कारण वन क्षेत्र घट्नु रहेको बताउँछन्। ‘चुरे र जंगलतिर पहिलेजति खाना पाइँदैन। जहाँ किसानले खेतबारीमा फलफूलको रूख लगाएका छन्, त्यहाँ उनीहरू सिफ्ट भएर आउँछन्’, उनी भन्छन्, ‘पहिले जंगलमा हर्रो, बर्रो, आँप, अम्बालगायत फल प्रशस्त पाइन्थ्यो। तर, ती बोटबिरुवा काटिँदै गए। व्यापक वन फडानी भयो। त्यसकै प्रभाव देखिन्छ यो सबै।’ 

डिभिजन वन कार्यालय धनुषाका अधिकृत अजयकुमार मिश्रका अनुसार जंगल जति घट्छ त्यति वन्यजन्तु अन्योलमा पर्छ। ‘सुरुमा बन मासेर पूर्व–पश्चिम राजमार्ग बनाइयो। जुन हात्ती, बाघ, चितुवा, भालुलगायत सबै वन्यजन्तुको करिडोर थियो। पछि वन्यजन्तुलाई डिस्टर्ब हुने गरी जहाँतहीँ बस्ती बसाइयो’, उनी भन्छन्।’

बाँदरले सधैं पीडित
हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर आसपास बाँदरले दुःख दिन थालेको दुई दशक नाघ्यो। ‘घरको छतमा केही राख्न पाउँदैन। कपडासमेत च्यातिदिन्छ’, स्थानीय प्रीतम तामाङ भन्छन्, ‘बाँदरको कारण हामी सधैं पीडित छौं।’ 

वडाध्यक्ष फुर्वा लामाका अनुसार बाँदर नियन्त्रण हुँदै गएको छ। दुई वर्षदेखि नियन्त्रणको काम गरिरहेको उनको भनाइ छ। तर, नगरपालिकाले बाँदर जंगलबाट गाउँ हुँदै सहर केन्द्रित हुन थालेको छ। हेटौंडा १४, १५, ९ नम्बर वडाका बासिन्दा पनि वर्षौैंदेखि पीडित छन्।

विभिन्न पालिकाले अन्यत्र स्थानान्तरण गर्ने, लखेट्ने र बन्दुक पड्काएर तर्साउने काम गर्दै आएका छन्। बाँदरको संख्या मात्र बढेको र उपयोग हुन नसकेकाले संख्या नियन्त्रण हुन नसकेको वातावरणविद् भट्टको भनाइ छ। ‘यसका लागि बाँदर उपयोग गर्ने देशहरूमा पठाउन सकिन्छ’, उनी भन्छन्, ‘बाँदरलाई आवश्यक खाद्यान्नभन्दा बढी संख्या भएको एकिन भए विकसित देशहरूमा कलिङ गर्ने (मार्ने) काम पनि गरेको देखिन्छ।’ 

बागमती प्रदेश सरकारले पशुपतिनाथ मन्दिरलगायत क्षेत्रमा ठूलो आवाज पड्काएर नियन्त्रणको प्रयास गरेको थियो। ‘बाँदर बढी भएको केही क्षेत्रमा हामीले स्थानीय पालिकाहरूलाई बजेट दिएर नियन्त्रणको प्रयास गर्‍यौं’, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी अनुप अधिकारी भन्छन्, ‘तर पछि ठूलो आवाजसँग पनि बानी परेर बाँदर डराउन छाड्यो।’ हाल कार्यक्षेत्रभित्र नपर्ने भएकाले थप कार्यक्रम सञ्चालन नभएको उनको भनाइ छ। 

महानगरमा हैरानी

पोखरा महानगरपालिकामा बाँदरले खेतीबाली खाने र घरमै पसेर चिर्थोनेसम्म घटना भएका छन्। ११, १३, १६, १८, १९, २०, २१, २२, २७, २८, ३१, ३२, ३३ लगायत वडामा बाली खाएर दुःख दिएको महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाको भनाइ छ। 

बाँदरको समस्या धेरै भएकाले यस विषयमा राज्यले उपयुक्त निकास दिनुपर्ने माग गर्छिन् पोखरा–१९ लामाचौरकी जानबी आचार्य। ‘अन्नबाली खानेमात्र होइन बच्चा घरमा एक्लै छाड्दा कोपर्छ कि भन्ने समेत चिन्ता लाग्छ। घरभित्रको लसुन, गाँजरसमेत टोकेर फ्याक्ने गर्छ’, उनी भन्छिन्। 

महानगरले भने प्रभावित क्षेत्रमा बाँदरले मन नपराउने खेती गर्न सुझाएको छ। बनमा भने बाँदरले मन पराउने फलफूललगायत बाली लगाउने महानगरको योजना छ। बाँदरले बाली नोक्सान गरेपछि क्षतिपूर्तिका लागि कास्कीका किसानले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। संरक्षणविद् डा. हुम गुरुङ बस्तीसम्म आउनबाट रोक्न जंगलछेउ बाँदरले मन पराउने बाली लगाउनुपर्ने बताउँछन्। 

आहारा खोज्दै सहरतिर

कर्णालीका सहरी क्षेत्र र राजमार्ग आसपास बाँदरले दुःख दिन थालेका छन्। तर, यसको कारणबारे खासै चासो दिएको देखिँदैन। यी जनावर विद्युत्, टेलिफोन र इन्टरनेटका तारमा चढ्ने, घरका छतमा पुग्ने, घरभित्रै पसेर खानेकुरा खाइदिने र सामान तोडफोड गरिदिने गरेका छन्। अर्कोतर्फ मानिससँग जिस्कने, आक्रमण नै गर्न खोज्ने, बालबालिका र वृद्धवृद्धालाई झम्टिने, बारीमा लगाएको तरकारी र फलफूल खाइदिने, उखेल्ने तथा सामानहरू नै खोस्नेलगायतका समस्याले मानिस त्रसित मात्र छैनन्, बाँदरको आतंकले हैरान भइरहेको अवस्था छ।

यसमा मुख्य तीन कारण रहेको विज्ञहरू बताउँछन्। पहिलो, पहाडी र ग्रामीण बस्तीबाट मानिस सहर छिर्नु र त्यहाँ उत्पादन नभई जग्गा बाँझो भएकाले आहाराको अभावमा बाँदर सहर पस्न थालेका हुन्। दोस्रो, जंगलमा चितुवाको संख्या बढेर शिकार गर्न थालेपछि सुरक्षित ठाउँ खोज्दै बाँदर सहर तथा मानव बस्तीमा छिर्न थालेको विज्ञको भनाइ छ। तेस्रो, जंगलमा पाइने फलफूल मासिएको र सहरका मानिसले नै खानेकुरा दिएर पल्काउन थालेकाले पनि बाँदरले सहर मन पराउन थालेका हुन्।

‘पहाडबाट सुविधा खोज्दै मानिसहरू सहर पसे। त्यहाँको जग्गा बाँझो भएर अन्नबाली उत्पादन नभएपछि बाँदरले चोरेर खान पाएनन्। जंगलमा पनि बाँदरले खाने फलफूल हराउँदै गए’, बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रमेश थापा भन्छन्, ‘आहाराको अभाव हुन थालेपछि बाँदर पनि मानिससँगै सहरतिर पस्न थाले।’ 

उनका अनुसार परम्परागतदेखि नै बाँदर घना जंगलभन्दा पनि मानव बस्ती आसपासको जंगलमा बस्दै आएको जनावर हो। ‘बाँदर सहर पस्नुका धेरै कारण छन्’ थापा भन्छन्, ‘सहरका मान्छेले नै बाँदरलाई पल्काएका छन्, बाँदरलाई केरा, बिस्कुट र अन्य फलफूल खान दिन्छन्। खान पाइने भएपछि बाँदरलाई पनि सहर नै मन पर्न थाल्यो।’

अर्कोतर्फ चितुवाको मुख्य आहारा बाँदर हो। चितुवाले जंगलमा शिकार गर्न थालेपछि बाँदरहरू सुरक्षित ठाउँ खोज्दै सहर पस्न थालेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेको भनाइ छ। भन्छन्, ‘चितुवाको संख्या वृद्धि भएको छ। चितुवाले आक्रमण गर्ने भएकाले पनि बाँदर सुरक्षित ठाउँ खोज्दै जंगलबाट सहर र मानव बस्तीमा पस्न थालेका हुन्।’

आवश्यक आहाराको व्यवस्थापन गर्न सके बाँदर जंगलमा नै फिर्ता हुने सरोकारवालाको बुझाइ छ। उनीहरूले यसका लागि जंगलमा वर, पीपल, अम्बा, चिउरीलगायत विभिन्न प्रकारका फलफूल र बिरुवा रोप्नुपर्ने बताएका छन्। 

कुकाठ र झाडी फडानी

गुल्मीको रेसुंगा नगरपालिका–१ नम्बर वडा कार्यालयले बाँदर र जंगली जनावरले सास्ती दिएको गुनासो आएपछि कुकाठ र झाडी फडानी सुरु गरेको छ। यस वर्ष आर्दश बोर्डिङदेखि २ नम्बर वडा कार्यालयको सिमानासम्म फडानी गरिएको हो। 

वडा कार्यालयले गत वर्ष ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो। त्यसबाट कुनै राम्रो प्रतिफल नआएपछि यस आर्थिक वर्ष कुकाठ, बाँस र झाडी फडानी गरी नागरिकलाई सहजता दिने उद्देश्य रहेको वडाध्यक्ष रामप्रसाद पन्थीको भनाइ छ। जसका लागि ७० हजार विनियोजन गरिएको छ। 

यससँगै छोराछोरीलाई विद्यालय आवतजावत र बारीमा तरकारी रोप्न थप सहज हुने अपेक्षा लिएको स्थानीयवासी सुन्तली कामी बताउँछिन्। ‘पहिले घनघोर झाडी र रूखका कारण पारी गाउँ देख्न, छोराछोरी स्कुल पठाउन मुस्किल पथ्र्यो,’ उनी भन्छिन्, ‘वडाले झाडी र कुकाठको फडानी गरेपछि बस्तीसंगै मेरो मनसमेत उज्यालो बनेको छ।’

झाडी र कुकाठका कारण बाँदरले हैरानी र धपाउन समेत मुस्किल परेको स्थानीय शान्ता पन्थीको भनाइ छ। जग्गासमेत बाँदरका कारण बाँझो राख्नुपर्ने अवस्था आएको स्थानीय उमाकान्त पन्थी बताउँछन्। 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ८ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *